• २०८१ बैशाख ५ बुधबार

दाङमा चर्कियो आन्दोलन, निर्णय सच्याउन देउवालाई खुमबहादुरको दबाब 

kharibot

काठमाडौँ । प्रदेश नं. ५ को अस्थायी मुकाम बुटवल बनाएको विरोधमा दाङमा अनिश्चितकालिन बन्द जारी रहेको छ ।

जिल्लामा बिहिबार पनि बिहानैदेखि यातायात, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन् । पूर्वपश्चिम राजमार्गमा समेत सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।

आन्दोलनमा सर्वसाधारण बाहेक  कुनैपनि राजनीतिक दलका नेताहरू सडकमा देखिएका छैनन् । यसअघि पनि नेपाली कांग्रेस र नेविसंघका युवाहरूले दाङमा राजधानी माग गर्दै बन्द आह्वान गरेका थिए।

दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र २ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङलाई प्रदेश राजधानी नतोकेकोमा विरोध जनाएका छन् । 

महराले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले निर्णय तुरुन्त सच्याउनुपर्ने माग गरेका छन् र आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन् । नेता पोखरेलले सरकारको निर्णयलाई विवेकहिन भनेर प्रतिक्रिया दिएका छन् । 

यसैबीच दाङ राजधानी सरोकार समितिले भने विभिन्न निर्णय गर्दै आन्दोलन थप चर्काउने निर्णय गरेको छ। बुधबार राति बसेको समितिको बैठकले माघ ३ गतेलाई कालो दिन घोषणा गर्दै घर-घरमा कालो झण्डा  गाड्न आह्वान गरेको छ। अस्पताल बाहेक सबै सरकारी कार्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । 

यसका साथै, आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरि जिल्लाका सबै जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नं प्रदेशको राष्ट्रिय सभा चुनाव हुन नदिने, कुनैपनि प्रकारको कर नतिर्ने, राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने लगायतका कडा आन्दोलनको स्वरुप तय गरेको दाङ राजधानी सरोकार समितिले जनाएको छ । 

निर्णय सच्याउन खुमबहादुर खड्काको दबाब 

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले प्रदेश पाँचको राजधानी वुटवल तोक्ने निर्णय तत्काल सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।  स्वास्थ्य उपचारको लागि हाल नयाँदिल्लीमा रहेका खड्काले बुधबार नै प्रधानमन्त्री देउवालाई टेलिफोन गरी निर्णय सच्याउन भनेका हुन् ।

आजदेखि हुने काँग्रेस केन्द्रिय समितिमा भाग लिन खड्का आजै काठमाडौँ आउने भएका छन् । गृहजिल्ला दाङ रहेका कांग्रेस नेता खुमबहादुर र दीपक गिरीले केन्द्रीय समिति बैठकमा पनि देउवाको ध्यानाकर्षण गराउने बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै