• २०८१ बैशाख ७ शुक्रबार

डेंगु रोगका कारण चितवनमा एक जनाको मृत्यु

kharibot

चितवन । डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् । 

उनलाई मकवानपुर अस्पतालबाट उपचारका लागि पुस २० गते चितवन पठाइएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा उनको पुस २५ गते मृत्यु भएको उनले बताए । चालु आवमा एक हजार १०५ जनाको डेंगु परीक्षण गरिएकोमा ५७ जनामा संक्रमण भेटिएको थियो । यस्तै स्क्रब टाइफस ३७१ जनामा संक्रमण भेटिएको केसीले जानकारी दिए ।

एक हजार ६७० जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएको उनले बताए । योसँगै चालु आवमा विभिन्न रोगको संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेका छन् । स्क्रब टाइफसबाट साउनमा एक जना भदौमा एक जना र कात्तिकमा एक जनाको मृत्यु भएको थियो । चिकनगुनियाका कारण भदौमा एक जना र कात्तिकमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

स्क्रब टाइफस र डेंगुको लक्षण अत्यधिक ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण उस्तै हुने भएकाले लक्षण देखिने बित्तिकै चिकित्सकको सल्लाह लिन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै