काँग्रेस केन्द्रिय समिति बैठक सुरु, राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ । प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको छ । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरु उपस्थित रहेका छन् । 

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयमा छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो । उक्त निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वको आलोचना हुनाका साथै केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । गत मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुकको ठूलो दल काँग्रेस पहिलो स्थानबाट दोस्रो स्थानमा पुगेको छ । 

बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनको सैद्धान्तिक विषय, निर्वाचनमा अन्य दलसँगको सहकार्य, निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षणलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताए । 

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हालै जारी अध्यादेशअनुसार राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुँदैछ । उक्त निर्वाचन प्रणालीका बारेमा उम्मेदवार तथा मतदातालाई आवश्यक प्रशिक्षण गर्नुपर्ने आवश्यकता भएकाले काँग्रेसले निर्वाचनको तयारीका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि र प्राविधिक टोली खटाउनेबारेमा समेत निर्णय गर्ने उनले जानकारी दिए । 

सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ । सोहीअनुसार निर्वाचन आयोगले निर्वाचनको आवश्यक तयारी गरिरहेको छ । राष्ट्रियसभा निर्वाचनको तयारीका लागि सरकारले बुधबारमात्रै मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशका प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको अस्थायी केन्द्रसमेत तय गरेको छ । सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकेपछि बुधबार नै आयोगले पनि प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ । 

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको व्यस्त समय तालिकाका कारण आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयका बारेमा प्रारम्भिक समीक्षामात्र हुने र विस्तृत समीक्षाका लागि निर्वाचन प्रक्रिया शुरु भइसकेपछि तत्काल अर्काे बैठक बस्न सक्ने नेता खाँणले बताए । 

प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीमा संगठन सुदृढीकरणका साथै केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, केन्द्रीय विभाग गठन गर्नुपर्ने, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृसंस्थालाई पूर्णता एवं प्रभावकारी परिचालन गर्न माग उठिरहेको सन्दर्भमा यो बैठक शुरु भएको छ । 

सम्बन्धित समाचार

काँग्रेस नेता चन्द्र भण्डारीले विपन्न माझी र बोटे समुदायसँग दशै मनाए

गुल्मी। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीका विपन्न माझी र बोटे समुदायसँग दशै मनाएका छन् । विगत तीन वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी

कांग्रेसले दसैंको शुभकामना दिँदै भन्यो : दलगत स्वार्थभन्दा माथि उठौ 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दसैंको शुभकामना दिँदै आर्थिक विकासको लागि दलगत स्वार्थ र सीमा भन्दामाथि उठेर अगाडि बढ्न आह्वान गरेको छ।   सभापति शेरबहादुर देउवाद्वारा जारी  विज्ञप्तिमा आर्थिक विकासप्रति जनताको

अलबिदा बास्तोला !

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जलि दिँदै सभापति शेरवाहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललगायत । तस्वीर : प्रदीपराज

दिवंगत नेता बाँस्तोलाको शोकमा कांग्रेसले सबै जिल्ला कार्यालय एक दिन बन्द गर्ने 

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दिवंगत नेता चक्र बाँस्तोलाको निधनमा शोकस्वरुप सबै जिल्ला कार्यालय भोलि एक दिनका लागि बन्द गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको


z