विद्यार्थीहरुलाई विज्ञानमा के सिकाउने ?

kharibot

विद्यार्थीलाई विज्ञान पढाउने कि, सिकाउने कि, गराउने ? पढाउनु- बालकको लागि जवरजस्त, सिकाउनु- उत्प्रेरणा र उत्सुकता पछिको कार्य र गर्नु- स्वभाव र रुचिको कार्य ।
ज्ञान ज्ञानको व्यवस्थित अध्ययन हो, जुन विचार, अवलोकन  र प्रयोगमा आधारीत क्रमिक र व्यवस्थित खोज हो । खासगरी बिज्ञानमा अवलोकन, वर्गीकरण, मापन, अनुमान, भविष्यवाणी, प्रयोगात्मक परिक्षण र प्रयोग जस्ता प्रक्रियाहरु अवलम्बन गरिन्छ ।

यहाँ शिक्षकहरूले विद्यार्थीलाई विज्ञान सम्बन्धी जानकारी,तथ्य,  र सिद्धान्तको ठूलो भारी बोक्न र बोकाउनतिर लाग्नुभन्दा  विज्ञान कसरी ‘गर्ने’ भनेर विज्ञान प्रक्रियागत सीप (science process skill) सिकाउनु बढी महत्त्वपूर्ण हुन्छ ।  नेपालको आधारभूत तहको बिज्ञान पाठ्यक्रमले खोज (Exploration) र व्याख्या (Explanation) लाई बिज्ञानको सक्षमता मानेको छ । यसले बाटो देखाएको छ । बिज्ञानको प्रक्रियागत सीपको बाटो । त्यो हो- अवलोकन गर्नु, वर्गीकरण गर्नु, मापन गर्नु, अनुमान गर्नु, भविष्यवाणी गर्नु र सञ्चार गर्नु । एकीकृत सीप हासिलको अर्को बाटो पनि छ त्यो हो- विज्ञानका पदहरुको परिभाषा गर्नु, मोडेल निर्माण गर्नु , खोज गर्नु र व्याख्या गर्नु । यी दुई सीप नसिकी विज्ञान सिक्न सकिन्न ।

निगमनात्मक तरिकाले बिषयबस्तु सोझै पढाउनु बालकलाई सिकाइबाट बञ्चित गराउनु हो । मुख्य कुरा त के भने- जवसम्म विद्यार्थीहरुलाई आफ्नो सिद्धान्त आफैं बनाउन आउदैन, के महत्त्वपूर्ण हो र के महत्त्वपूर्ण होइन भन्ने जान्न, बुझ्न् र छुट्याउन सक्दैनन या त्यो बाटो लिदैनन् बिल्कुलै  विज्ञान सिक्दैनन् । 

विज्ञानमा बालकलाई प्राकृतिक नियम, प्रक्रिया, ढाँचा,भैरहेको ज्ञानको प्रमाणीकरण, नयाँ ज्ञानको खोज र संसयको पुष्टि गर्न सिकाउनुपर्छ । त्यसको लागि  तुरुन्तै प्रयोग गर्न लगाउनुपर्छ । प्राकृतिक तथा अन्तरनिहित कारणहरुको खोजी, व्याख्या र परिणामको नाप र जाँच सिकाउनु पर्छ । सरल घटनाहरुमा हुने क्रमिक र व्यवस्थित प्रक्रिया बुझ्न लगाउनु पर्छ ।

विज्ञान वरपर र आफैमा रहेको व्यवहारमा देखिने अति सुक्ष्म कुरा हुन् । जीवनका प्रमुख घटना विज्ञान सम्बत कसरी हुन भन्ने कुरा बुझ्न र प्रतिक्रिया दिन लगाउनु पर्छ ।

विज्ञानका परिणामहरू कति सरल छ्न्- पानी ओरालोतिर बग्नु, रुखको पात हरियो हुनु, जाडो समयमा जस्ताको पाता भित्रबाट पानी झर्नु, पानी उम्लेपछी किट्लिको बिर्को उचालिनु, उम्लेको पानीले भन्दा बाफले ज्यादा पोल्नु, चिसो ज्यादा हुँदा पाइप फुट्नु, माथी बरफ जमेपनी मुनि माछा बाँच्नु, सानो सानो दुई खुट्टाको भरमा बडेमानको मान्छे ठडिनु , कागती अमिलो झन अमिलो हुँदै जानु तर सुन्तला गुलियो हुँदै जानू, ओखरमा ओमेगा पाउनु , पाकेको मेवामा भिटामिन ए, फर्सिको बियाँमा फलाम, त्यत्रो टाढा रहेको सूर्यको प्रकाश बिना रोकतोक पृथ्वीमा आइपुग्नु, छिनमै दुख्खी महसुस गर्नु, छिनमै खुशी महसुस गर्नु आदि । तर कारणहरु कति गहन छ्न्- गुरुत्व बल, क्लोरोफिल, हावमा पानीको बाफ हुनु, ताप शक्ति वाफ शक्तिमा रुपान्तरण हुनु, चिसोले पानीको आयतन बढ्नु, लुप्त ताप बढी हुनु, ४ डिग्रीसम्म पानीको आयतन बढ्नु र घटनु, गुरुत्वबल र सन्तुलन....अक्सिटोसिन्, सेरेटोनिन्, डोपामाइन, इन्डोर्फिन र कोर्टिसोल, एड्रेरालिन....

विज्ञान बिषयको अथाह भण्डार छ । यो सब सिकेर सिकिने र सकिने कुरा पनि होइन् । नसिकी पनि हुन्न । विज्ञान सम्बन्धी जति अध्ययन गरे पनि, जति सिके पनि कहिल्यै पर्याप्त हुँदैन, चाहे सानो कक्षालाई होस् या ठूलो कक्षालाई होस् । के सिकाउने ? किन सिकाउने ? कति सिकाउने ? कसरी सिकाउने ? यी प्रश्नहरु आफैमा ज्यादै गहन छ्न् । सायद यसको जवाफ पाठ्यक्रमले देला । तर विज्ञान कुनै विश्वविद्यालयमा पढाइ हुने बिषयमात्र होइन् । अहिलेसम्म यसको क्षेत्र यकिन गर्न सकिएको छैन् । यो जति तथ्यगत छ त्यो भन्दा ज्यादा परिवर्तनशिल । त्यसैले विद्यार्थीहरुलाई तथ्यको साथसाथै विज्ञानको परिवर्तनशिलता र नयाँ खोज सिकाउनु पर्छ ।

विज्ञान शिक्षकहरूले केटाकेटीको दिमागमा अनेकन जानकारी, सूचना, आउट्डेटेड ज्ञान, तथ्य र सिद्धान्तहरू खाँदी–खाँदी भर्नु कुनै हिसाबले पनि जरूरी छैन । रट्नु र रटन लगाउनु निरर्थक छ । त्यो ज्ञान हुन्न बोझ चाहिँ हुन्छ । खासमा उनीहरू तिनका लागि भविष्यमा यो आवश्यक र सान्दर्भिक हुन्छ भन्ने गलत धारणाका कारण यसो गर्दछन् । यहाँ  बैज्ञानिक ज्ञान नै सबैभन्दा बढी परिवर्तनशिल छ तर उनिहरु ठान्छ्न कि यो नै तथ्यपूर्ण र अपरिवर्तनिय छ । तर यो सत्य होइन् । अव विद्यार्थीलाई विज्ञानको बोझ् बोकाउने होइन, सूचनाको अनावश्यक भारी बोकाउने त हुँदै होइन, उनीहरुलाई विज्ञानका प्रक्रियागत सीप सिकाउदै  विज्ञान ‘गर्न’ लगाउनुपर्छ  गर्न लगाउनु पनि पर्दैन जो उनीहरुको पहिलेदेखि नै गर्दै देख्दै आएका छ्न् त्यही कुरा सम्झाउनु र कारण खोज्नु मात्र न हो । शिक्षकले काम भनेको विद्यार्थीहरुको कार्यको अवलोकन गर्नु हो । शिक्षकले उनीहरुको व्यवहारलाई विज्ञानसँग जिड्नुपर्छ, विज्ञान व्यवहारभन्दा अलग छैन् भन्ने यकिन दिलाउनु पर्छ । यति भए पुग्छ ।

बालकहरु जिज्ञासु हुन्छ्न् तर समस्या यो हुन्छ कि उमेर बढ्दै जादा जिज्ञासाहरु घट्दै जान्छन् । उनिलाई धेरै कुरा आउछ भन्ने भ्रम पैदा हुन्छ । पहिला बालक भैंसी, तराई, पहाड, रुख, हिमाल, आकाश, सूर्य, चन्द्रमा देख्दा खुव जिज्ञासा राख्ने र रोमान्चित हुने हुन्छ तर पछि सबै जान्दाछु भन्ने भ्रम पैदा भै जिज्ञासा नष्ट हुँदै जान्छ ।

बैज्ञानिक बिधिका पिता फ्रान्सिस बेकनले सत्य दिमागी उत्पादन होइन यो त वातावरणिय प्रक्रिया  र घटनाहरुको क्रमिक र व्यवस्थित अवलोकन र खोजबाट पैदा हुन्छ र त्यही अस्तित्व रहन्छ भन्ने कुरा पत्ता लगाए । तसर्थ सत्यको शिक्षण गर्ने हो भने अवलोकन र खोज सिकाउनुको कुनै विकल्प छैन् ।

विश्व प्रसिद्ध प्राध्यापक तथा लेखक युवाल नोआ हरारीले आफ्नो पुस्तक `ट्वान्टी वान लेसन फर ट्वान्टी वान सेन्चिउरी´ मा बालकलाई सिकाउदा चार कुरा- विवेचनात्मक चिन्तन, सम्प्रेषण, सहकार्य र सिर्जनात्मकतामा जोड दिनुपर्ने कुरा सुझाएका छ्न् । त्यस्तै मानिस मसिनको गुलाम बन्दै गएको, आफ्नो जैविक क्षमताको स्वतन्त्रता गुम्दै जाने र स्वंयको अस्तित्वको संकट देखिएकोले म को हो ? भन्ने प्रश्नको बैज्ञानिक उत्तर खोजी गरि स्वयंको बिज्ञानलाई जान्न र स्वको रक्षा गर्नु अनिवार्य हुनेछ । परिवर्तित सन्दर्भ र परिस्थितिमा आफूलाई नयाँ रुपमा रुपान्तर गर्दै अनुभव र बिगतको मार्गदर्शनको त्याग गर्दै अज्ञात अवस्थाको स्वागत गर्न र मानसिक संतुलन बचाउन सिकाउनुपर्नेछ । आफूले आफैलाई हेर्दै ,खोजी गर्दै हदैसम्मको लचकता प्रदान गर्नुपर्नेछ ।

फेयर अल्बेट भन्छ्न्- खासमा बैज्ञानिक विधि वा तरिका भन्ने केही हुदैन् । त्यस्तै इमानुअल कान्ट भन्छ्न्- यो संसारलाई हेर्ने दृष्टि हामीले अंगालेको सिद्धान्तले तय गर्छ । बिज्ञान वास्तवमा प्रयत्न र भूल हो । विज्ञानले गल्तीबाटै सिक्ने हो । विज्ञान गहन आलोचनाको प्रक्रिया, विचारहरुको परिक्षण र बिधिसंगत प्रक्रिया हो । यो कुनै सिद्धान्तको कलेवर होइन् । विज्ञानले यीनैलाई आधार मानेर भविष्यवाणीहरु गरि संसारको बारेमा सिकाउछ ।

बिज्ञानमा के सिकाउने भन्दा के नसिकाउने भन्ने कुरा उपयुक्त हुन्छ । विगतमा भन्दा पनि जीवनमा के सिकाउने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । जीवनमा सिकाएर कति सिकिएला र विज्ञान । बैज्ञानिक सिद्धान्त, विधि,प्रक्रिया र ढाँचा सिकाउन खोज्नु विज्ञानबाट बिमूख गराउनु हो । यी सिकाउने कुरा होइनन् स्वयं गर्ने कुरा हुन्छ । आफ्नै विधि र पद्धति अनुसार।

विज्ञानमा त ध्यान, धैर्यता र असफलता सिकाइयो भने प्रतिफल त अवश्य प्राप्त हुन्छ नै । निरन्तरको अभ्यासमा आकस्मिक प्राप्ति हो विज्ञान भनेर बुझाउनु पर्छ ।

गौतम बुद्ध भन्नुहुन्छ- हरेक कुरामाथि सन्देह गर्नुहोस् र आफ्नो उज्यालो अर्थात ज्ञान आफै पत्ता लगाउँनुहोस् । शंका गर्न र समाधान गर्न लगाउनु र आफ्नो अनुभवको आधारमा सत्यको जाँच गर्नु । जस्तो कि दात कम्जोर हुँदै जादा कारणको खोजी गर्न आफूले पिउने  पानीको क्याल्सियम र म्याग्नेसियमको मात्रा जाँच गर्नु तथा क्याल्सियम र म्याग्नेसियम ग्रहण गर्ने शरिरको मेकानिजम्सको चेक गर्नु । तार्किक सोचको मूल्यबोध गर्न सिकाउनु पर्छ जस्तो कि हामी कसरी दौडिन सकेका छौ भन्दा घाम लागेर हो भन्ने चिन्तन गर्नु वास्तविक हुन्छ । घामले हामीमा उर्जा दिन्छ र उर्जाले गति पैदा गरेको हुँदा दौडन सकेका हौ भन्ने सोचको मूल्यबोध सिकाउनु पर्छ । अनुभव गर्न दिनु, प्रयोग गर्न दिनु, आफ्नो बुद्दिमा भर गर्न लगाउने हो भने विज्ञान सिकाउनुको जरुरी छैन् ।

एउटा कुरा ज्ञात होस्- विज्ञानले कहिल्यै सिकाउँदैन र देखाउदैन । सिकाउने र देखाउने अनुभव र प्रयोगले  हो । अत: विद्यार्थीहरुलाई विज्ञान शिक्षकले जिज्ञासा, अवलोकन र खोज- प्रयोग सिकाइदियो भने बाँकी आफै सिक्छ ।

सम्बन्धित समाचार