कपाल काट्ने रामगोपालको सफलताको कथा 

खरीबोट
ad

काठमाडौँ । अहिले युवाहरु बेरोजगारीले गर्दा धमाधम विदेशिने क्रम जारी छ । देशमा काम गर्ने अवसर नहुँदा विदेशिने युवाहरु सरकार र निजी क्षेत्रहरुसँग आक्रोश पोख्दै बाहिरिने गर्छन् । हरकोही विदेशिन लागेका युवाहरुलाई सोध्यो भने उनीहरुको असन्तुष्टि नेपालको राजनीतिक अस्थिरतामा हुन्छ । 

हाम्रो समाजमा पनि दुईथरि युवा छन् । एकथरि विदेश नगई नहुने र अर्कोथरि स्वदेशमै रमाउने । ती युवाहरु आफ्नो पाखुरामा विश्वास गरेर नेपालमै काम गर्दै आइरहेका छन् । यस्ता युवाको विश्वास र तिनले स्वदेशी भूमिमै गरेको संघर्षलाई सानो भन्न मिल्दैन । यस्तैमध्येका हुन् रामगोपाल चौधरी । कैलालीको तत्कालीन रामपुर गाविसमा जन्मिएका रामगोपाल अहिले कैलाली गाउँपालिकाका बासिन्दा भएका छन् ।

उनी अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा एक नामी हजामका रुपमा परिचित छन् । उनी धनगढीको मोतिचोक भन्ने स्थानमा तीन पुस्तासम्मका मानिसहरुको कपाल काटिरहेका छन् । उनीसँग कपाल काटिमाग्न कहिलेकाहीँ त हजुरबा र नाति सँगै आउँछन् । मानिसहरु उनीसामु कपाल काट्न आउनु भनेको उनको पेसा राम्ररी चल्नु हो । जुनै उमेरसमूहका मानिस आए पनि यसले उनलाई काम दिएको छ र त्यो कामबाट निकै सन्तुष्ट छन् रामगोपाल । 

रामगोपालको रामपुरबाट धनगढी यात्रा

रामगोपालका बुबा गाउँमा सामान्य खेती गर्ने किसान हुन् । उनको घरको आर्थिक अवस्थाले उनलाई एसएलसीसम्म त येन केन तान्यो तर, त्यो पनि पूरा गर्न नपाउँदै उनले स्कुल छाड्नुपर्ने अवस्था आयो । उनका बुबाका चार सन्तानमध्ये उनी माहिला हुन् । एक दिदी र दुई बहिनीका दाजु रामगोपालले घरमा सघाउनुपर्ने भएकाले उनको पढाइले निरन्तरता पाएन । ‘बुबाले मात्र कमाएको पैसाले नपुग्ने भएपछि मैले स्कुल छाडेर भए पनि घरको काममा बुबालाई सघाउने निर्णय गरेँ’, रामगोपाल भन्छन् । 

पछि एक दिन उनी मजदुरी काम गर्न गाउँबाट धनगढी आएका थिए । त्यही काम गर्नेक्रममा उनको एक युवतीसँग चिनजान भयो । उनको नाम हो सरोजकुमारी चौधरी । पछि उनीसँग नै रामगोपालको विवाह भयो । विवाहपछि सरोजकुमारीले नै उनलाई धनगढीमा काम पाउन सजिलो हुने कुरा सम्झाएकी थिइन् । श्रीमतीको कुरा सही लागेर नै उनी धनगढी बसाइ सरे, बुबाआमालाई गाउँमै राखेर । धनगढीमा एक कोठा भाडामा लिएर उनी मजदुरी गर्न थाले । 

काम जे पाए, त्यही गरे 

रामगोपाल रामपुरबाट धनगढी आएपछिको उनको पहिलो रोजगारीको माध्यम बन्यो ठेकेदारले अह्राएको काम गर्नु ।  उनले केही महिना मजदुरी गरेर नै घरखर्चको व्यवस्थापन गरे । ‘त्यो बेलामा ठेकेदारले पनि राम्रो पैसा दिँदैनथे । जम्मा दुई सय रुपैयाँ दिनको पाइन्थो’, उनले भने । पछि मजदुरीले मात्रै पार नलाग्ने देखेपछि उनले साहुको रिक्सामा  धनगढीका मान्छेलाई बजारभरि घुमाउन थाले । उनको रिक्सा चलाउने समय बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म हुन्थ्यो, त्यो समयको बीचमा उनले धनगढीका व्यापारी, राजनीतिज्ञदेखि सामान्य मानिसहरुलाई पनि रिक्सा सेवा दिए । उनले रिक्साको व्यापारले पनि आफ्नो जीवन सहज नहुने देखेपछि अरु नै काम खोज्ने निर्णय गरे । उनले खोजेकामध्ये सहज र सुलभ काम थियो ठेलाको व्यापार । 

सीटीईभीटीको सीपले मोडियो जिन्दगानी

एक जना साहुबाट सामान लिएर टोलटोलमा गएर सामानहरु बिक्री गर्नलागे । ठेलामा काम गर्दै गर्दा धनगढी क्याम्पस रोडमा कपाल काट्ने एक जना अर्जुन चौधरीसँग उनको परिचय भयो । त्यही परिचयले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । धनगढीमा तीनमहिने सीटीईभीटीले सञ्चालन गरेको सीपमूलक तालिमको बारेमा अर्जुनले उनलाई सुझाए  । ठेलाभन्दा आफैँ सीप सिक र पछि भविष्य राम्रो हुन्छ भन्न अर्जुनको सुझावअनुसार नै उनी त्यो तालिम लिन गए ।

तालिम थियो कपाल काट्ने तर कैँची कहिल्यै चलाएका थिएनन् रामगोपालले । सुरुसुरुमा कपाल काट्दा उनको हात काँप्न थाल्यो । तर विस्तारै उनले त्यसलाई नियन्त्रण गर्दै गए । तीनमहिने तालिम सकिएलगत्तै उनले कपाल काट्ने सीपको सदुपयोग गरे । धनगढी उपमहानगरपालिका ७ मोतीचोकमा पसल नै खोले रामगोपालले । 

जीवनमा पहिलो पटक ऋण लिए

रामगोपाल गाउँमा जन्मिए, गाउँमै हुर्किए तर सहरमा आएर आफ्नो बलबुतोले भ्याएसम्म काम गरे । जब सीप हातमा आयो उनले जीवनमा पहिलो पटक ऋण लिने निर्णय गरे । आजभन्दा छ वर्ष अगाडि उनले स्वरोजगार हुन श्रीमती समेत आबद्ध रहेको महिला समूहबाट उनले ४० हजार रुपैयाँ ऋण लिए । उनले आफ्नो सीप र मिहिनेतमा विश्वास गरेर लिएको ऋण लामो समय रहेन । कमाइ सामान्य भए पनि उनले आफ्नो खर्च कटाएरै एक वर्षमा ऋण चुक्ता गरे । 

विस्तारै उनले आफ्नो लागि पैसा जम्मा गर्नथाले र उनको छोरो पनि स्कुललाई पनि स्कुल पठाउनुपर्ने अवस्था आयो । उनले छोरालाई पनि बोर्डिङ स्कुलमा भर्ना गरे । कपाल काट्न सुरु गर्दा उनी भाडामा बस्थे ।

मासिक ५० हजार आम्दानी 

गरे के हुँदैन ? रामगोपालको हकमा पनि यही भयो । उनले पसल थाप्दा उनको मासिक कमाइ जम्मा १० हजार हुन्थ्यो । मिहिनेत गरे । विस्तारै कपाल काट्ने सँगसँगै विभिन्न फेसियलका कुराहरु आए । युवाहरुले ‘स्टाइलिस’ कपाल काट्न थाले । उनले कपाल काट्न सुरु गर्दा एक जनाले कपाल काटेको ३० रुपैयाँ मात्रथियो । अहिले उनी कपाल काटेको ६० रुपैयाँ लिन्छन् । २०६८ सालमा पसल सुरु गर्दा १० हजार मात्र कमाउने रामगोपाल अहिले ५० हजारभन्दा बढी मासिक आम्दानी गर्छन् भने दुई वर्षअगाडि नै उनले पसलबाट नजिकै मनेहरामा एक घडेरी खरिद गरिसकेका छन् । पछि उनले आफ्नै जग्गामा घर बनाएर कच्ची नै भए पनि आफ्नै घरमा बस्छन् । 

कपाल काटेरै १२ लाखको घडेरी 

केही महिनाअगाडि मात्रै उनले १२ लाख खर्च गरेर अर्को एक घडेरी खरिद गरेका छन् । रामगोपाल र सरोजकुमारीले आफ्नो सन्तानको नामबाट पसल सञ्चालन गर्दै आएका छन् । छोरा अहिले एरिष्टो बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययन गरिरहेका छन् । उनको सीपकै खर्चले अविरलको सबै खर्च व्यवस्थापन भइरहेको उनको भनाइ छ । 

अहिले रामगोपालको पसलमा दिनभर कपाल काट्नेको भीड हुन्छ । उनी ढिलामा ७ बजे पसलमा पुग्ने गर्छन् भने काम सुरु भने ८ बजेदेखि नै हुन्छ । ‘अहिले तीन जना काम गर्ने मान्छे समेत राखेका उनी दिनभरि व्यस्त नै हुन्छन् । उनको पसलमा धेरैजसो युवाहरु कपाल काट्न आउँछन् । उनीसँग कतिपयले विदेशिने कुरा पनि सुनाउँछन् । तर, उनी जहिल्यै युवाहरुलाई यहाँ नै बसेर काम गर्न आग्रह गर्छन् । उनको बुझाइमा सीप कहिल्यै सानोतिनो हुँदैन । आफूले जानेको काम यहाँ नै गरे स्वरोजगार होइने उनको भनाइ छ । 

जुत्ता सिलाएर भए पनि नेपालमै काम गर्ने सोच

कामको खोजीमा विदेश जाने युवाहरुलाई स्वदेशमै बसेर काम गर्न प्रेरणा दिने रामगोपाल आफूचाहिँ कस्ता थिए त यस क्षेत्रमा आउनु अघि । उनी भन्छन्, ‘मैले जुत्ता सिलाएर भए पनि नेपालमै काम गर्छु भन्ने अठोट गरेको थिएँ । पछि मिहिनेत र सीप दुवै हुँदा सहज भयो ।’ 
 

सम्बन्धित समाचार

'अश्लिल' होइन सपना देख्नेहरुको संघर्षको कथा हो 'कथा काठमाडौँ' : संगीता श्रेष्ठ, निर्देशक

पछिल्लो समय चर्चामा रहेको फिल्म ‘कथा काठमाडौं’की निर्देशक संगीता श्रेष्ठ मिडियाकर्मी पनि हुन् । विगत १५ वर्षदेखि निर्देशनको क्षेत्रमा काम गर्दै आएकी श्रेष्ठले ७० वटाभन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेकी

साइकल चढेर नेपालको फन्को मार्दै ओम प्रकाश 

काठमाडौं । हरेक मान्छेका आफ्नै इच्छा हुन्छ । त्यही इच्छा पूरा गर्न मानिसले के गर्दैन ? जे पनि गर्न तयार हुन्छ। धेरैले पैसा कमाउँँदा सुख र सन्तुष्टि मिल्ने ठान्छन् तर जीवनमा

नेपालमा अल्जाइमर रोगीको तथ्यांक नै छैन  : डा. बराल

आफ्नो नामै बिर्सिने, उमेर बिर्सिने, आफ्नै परिवारको सदस्यलाई बिर्सिने, भर्खरै खाएको बसेको कुरा पनि बिर्सिने, बानी भएपछि के होला ? यस्तो अवस्थाले सबैलाई असजिलो बनाउँछ नै । हो यही अवस्थालाई

असल दाम्पत्य जीवनयापनमा तीजले राम्रो प्रभाव छोड्छ :  प्राडा कौण्डिन्न्यायन 

वि.सं. २०२४ सालमा तनहुँको चुँदी रम्घामा जन्मिएका हुन् आमोदवर्धन कौण्डिन्न्यायन (आचार्य) । उनले पूर्वमध्यमा तह भारतको बनारसबाट, उत्तरमध्यमा त्रिभुवन विश्वविद्यालयबाट, शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) राजधानीको वाल्मीकि क्याम्पसबाट विशिष्ट श्रेणीमा