प्राचीन जल–प्रलय एक खोज

kharibot

सनातन धर्मको काठक संहिता, तैत्तिरीय संहिता, तैत्तिरीय ब्राह्मण र शतपथ ब्राह्मण आदि ग्रन्थहरूका अनुसार सबैभन्दा पहिले पृथ्वी अग्निले दग्ध भइन् । त्यसपछिको लगातार एक वर्षसम्म पृथ्वीमा वृष्टि भइरह्यो र र सारा पृथ्वी जलमग्न रह्यो । वर्षाको समाप्ति पछि बिस्तारै पृथ्वी कमल आकारमा प्रकट भइन र ब्रह्माजीले योगज शरीर धारण गरेर पृथ्वीमा सृष्टि गरे । ततपश्चात् धेरै काल पछि समुन्द्रको जल माथि उठ्नाले वैवस्वत मनु र यमको समयमा अर्को जल प्रलय भयो । यस कथा अनुसारको पहिलो प्रलयलाई विज्ञानले पनि मान्दै आएको छ । यहाँ भने वैवस्वत मनु र यमको समयमा भएको जल प्रलयको बारेमा चर्चा गर्न लागिएको छ ।

संसारको हरेक धर्म र सम्प्रदायमा प्रचलित एउटा साम्य कथा भनेको जल प्रलय या जल प्लावनको कथा हो । जल–प्रलयको घटना संसारको लगभग सबै धर्म–सम्प्रदायहरूसँग सम्बन्धित प्राचीन ग्रन्थहरू, धार्मिक ग्रन्थहरू, लोककथाहरू र गीतहरूमा समेत भिन्न–भिन्न रूपमा वर्णित छ । यो एउटा यस्तो पुरातन कथा हो जसमा पात्रका नाम थोरै परिवर्तन भएका छन् तर कथाको मूल सार भने एउटै छ । पुराण, बाइबल, कुरानमा मात्र नभएर हिब्रु तथा अन्य भाषाका साथै सुमेरी–अक्कादी सभ्यतामा समेत यो कथा प्रचलित छ । इन्डोनेसिया, जाबा, मलेसिया, श्रीलङ्का आदि द्वीपहरूमा समेत परम्परागत गीतको माध्यमबाट जल प्लावनको घटनालाई जीवन्त राखिएको छ । कथामा दुई कुरा हुन्छन्, सत्य (फ्याक्ट) र काल्पनिकता (फ्रिक्सन), जसमा थोरै भए पनि देखेको, जानेको, सुनेको सत्य हुन्छ । यस आधारबाट हेर्दा जल प्लावनको कथा पूर्णतः काल्पनिक कथा मात्र नभएर यसमा केही सत्य अंश पनि छ भन्ने कुरा मान्नै पर्दछ ।

काव्य र आर्य

मानिससँग आवाज थियो । कुनै वस्तुको बारेमा अर्को व्यक्तिलाई बुझाउने क्रममा मानिसले पहिले त्यसको आकृति बनाएर देखाउन थाल्यो, आकृति बनाउने कुनै उपाय नभएको अवस्थामा घाँटीबाट विशिष्ट आवाज निकाल्न थाल्यो र त्यही निस्किएकाे आराेह अवराेह आदि सहितकाे विशिष्ट आवाज नै पछि गएर शब्द बन्न पुग्यो, शब्द शब्दले भाषा । भाषा उत्पत्ति भएको धेरैपछि मात्र लिपिको विकाश भएको हो । सुरुमा शब्दलाई लिपिमा उतार्ने क्रममा चित्रहरूको प्रयोग भयो । त्यसपछि क्रमशः अनुकरण, प्रतीक र सूत्रहरू प्रयोग हुन थाल्यो । धागाेमा गाँठाे पारेर या भित्तामा धर्का तानेर गन्ती गर्न सुरु गरियाे । वर्ष गाँठकाे अर्थ नै यही धागाेमा पारिएकाे गाँठाेहरू बराबरकाे वर्ष हाे । यसरी शब्दलाई लिखतमा उतार्ने क्रमकाे विकास हुँदै जाँदा लिपिकाे आविष्कार भयाे । लिपि प्रतीक चिन्हहरूको एक व्यवस्था मात्र हो जसको सहायताबाट भाषा लेखिन्छ ।

भाषाको उत्पत्ति सँगसँगै लोकगीतको भने आरम्भ र विकास भएको मानिन्छ । संसारको हरेक भाषाका लोकगीतमा भएको एउटा अविच्छिन्न तत्त्व भनेको श्लोकको (कप्लेट) पहिलो र दोश्रो पाउको अन्तमा हुने शब्द उच्चारणको आधारमा समान हुन्छन्, जसलाई अनुप्रास भनिन्छ । अनुप्रास आदिम कालदेखि हालसम्म लोकगीत या काव्यमा प्रचलनमा रहेको छ । कथन या कवितालाई चिरकालसम्म सम्झनको लागि, गाउनको लागि, या सुललित बनाउनको लागि श्लोकको अन्त्यमा अनुप्रासको प्रयोग गरिएको पाइन्छ । यसको अझ विकसित रूप भनेको दुई पाउमा अनुप्रासको प्रयोगको साथसाथै लयमा समानता ल्याउन दुई पाउ बीचको उच्चारण लम्बाई या सिलेविक लय (फोनेटिक लेन्थ / मिटर) बराबर बनाउने प्रचलन भयो भने अर्को विकास भनेको दुई पाउको फोनेटिक लेन्थमा पनि ह्रस्व दीर्घको समेत समानता क्वान्टिटेटिभ लय (सिलेविक इक्वेलिटि) ल्याउने कार्य भयो । यही सिलेविक इक्वेलिटि ल्याउने गणितीय सूत्रलाई छन्द भनिन्छ ।

ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेद मध्ये मनुस्मृतिमा अथर्ववेद उल्लेख नभएकोले अथर्ववेदलाई मनुस्मृति पछिको मानिन्छ । यी तीन वेद मध्ये पनि सामवेदमा भएका ऋचाहरू ऋग्वेदबाट लिइएका हुँदा ऋग्वेद र यजुर्वेद प्राचीन वेदहरू हुन् । ऋग्वेद या सामवेदका ऋचाहरू छन्दमा भएकाले गायनमैत्री छन् । ऋग्वेदमा इन्द्र, मित्र, वरुण, अश्विनी, अग्नि आदि देवहरूका यश लेखिएको छ । यस अर्थमा ऋग्वेद गायनमैत्री सवाई हो, तर यजुर्वेद भने पूजन पद्धतिको ग्रन्थ । ऋग्वेदलाई यजुर्वेद भन्दा पनि प्राचीन मानिन्छ । ऋग्वेदका ऋचाहरू छन्दमा भएकाले गायनमैत्री छन् भने थुप्रै ऋचाहरूमा कविको नाम पनि समावेश छ । ऋग्वेदका प्रथम कवि मधुच्छन्दा विश्वामित्रका पुत्र हुन् भने जेता मधुच्छन्दाका पुत्र । ऋग्वेदका ऋचाहरू पिता, पुत्र, पत्नी तथा चेलाहरूबाट लेखिएका छन् । याे परम्परा हाे । वैदिक आर्य भनेका यिनै हुन् ।

काव्यको इतिहासमा हालसम्म प्राप्त साक्षका आधारमा माटोको स्लेटमा कीलाक्षरमा चित्राक्षर लिपि (क्युनिफर्म) प्रयोग गरेर लेखिएको गिलगमेशको वीर काव्यलाई पहिलो महाकाव्यलाई मानिन्छ । ऋग्वेदमा चित्राक्षर लिपिपछि विकसित देवनागरिक लिपि प्रयोग गरिएको छ, वेदका ऋचाहरू छन्दमा छन्, र वेदमा गिलगमेशको वीर काव्यको यश, पराक्रम प्रशंसा आदि अनुकरण गरेर इन्द्र, मित्र, वरुण, अश्विनी, अग्नि आदि देवहरूका यश, पराक्रम र प्रशंसा आदि लेखिएको छ । गिलगमेशको वीर काव्यको यश, पराक्रम प्रशंसा आदि अनुकरण गरेर लेखिने काव्य धारा या विधालाई फारसी भाषामा कशिदा (जसबाट पछि गजलको विकाश भयो) भनिन्छ भने नेपाली भाषामा यसलाई सवाई भनिन्छ । यी विधा गाइने या मानिसहरूको अगाडि कहने भएको हुँदा सिलेविक इक्वेलिटि नभए पनि फोनेटिक इक्वेलिटि (ध्वन्यात्मक समानता) र अन्त्यानुप्रास भने सुरुदेखि नै भएको मानिन्छ, जसमा सिलेविक इक्वेलिटि (छन्द) धेरै पछि मात्र विकाश भएको थियो । वेदलाई श्रुति पनि भनिन्छ । वेदका ऋचाहरू पछिसम्म पनि सम्झिन सक्नुमा यही सिलेविक इक्वेलिटि र अनुप्रासले मद्दत गरेका थिए । यिनै सुशिक्षित कवि वर्गहरूले कविता, काव्य महाकाव्य र शासकहरूको यश गान गर्दै सबाई, कसिदा आदि विधाहरूको जन्म दिँदै गए । सुमेर, बेबिलोनियन, हित्ति, कस्साइट आदि सभ्यतामा यसरी कविता गर्ने सुशिक्षित कविहरूलाई त्यताको भाषामा जे भनिए पनि वैदिक सभ्यतामा संस्कृत भाषा प्रयोग गर्नेहरूले भने तिनलाई “आर्य” शब्दले सम्बोधित गर्न थाले । पछि गएर आर्य शब्दको अर्थ विस्तार भयो र सुशिक्षित र समाजका लब्ध प्रतिष्ठित अन्य व्यक्तिहरूलाई पनि आर्य भनिन थालेपछि भने वेद र जेन्दअवेस्ताका ऋचा लेख्नेहरू भने ऋषि भनिन थालिए । यी कविहरू विभिन्न सभ्यता, संस्कृतिबाट, टोटेम र जातिबाट आएका थिए, कुनै जाति विशेषका थिएनन्, त्यसैले आर्य कुनै विशुद्ध जाति होइन, पद हाे, सम्मानजनक सम्बाेधन हाे । आर्य शब्दको पछि गएर अर्थ विस्तार भयो । वैदिक कालमा शासकलाई सल्लाह दिने, योद्धा, आयव्ययको तथ्याङ्क राख्ने, इतिहास लेख्ने, न्याय सम्पादन गर्ने, पूजा गर्ने, कानुन बनाउने, राजनीति सिकाउने, धर्म र कर्मकाण्ड गर्ने, चिकित्सा शास्त्र घोडसवारी सिकाउने र शासकको तारिफमा फूलबुट्टे कविता गर्ने आदि व्यक्तिहरूलाई पनि "आर्य" भनिन थालियो ।

हालसम्म प्राप्त सबुत, साक्षहरूको अध्ययन गर्दा जल प्रलय कथाको मूल श्रोत गिलगमेशको असिरियन वीर काव्यलाई नै मानिन्छ । सुमेरियन सभ्यता ई.पू. ३५०० देखि २६०० ई.पू. को मानिन्छ । विद्वानहरू गिलगमेशलाई ई.पू. ३००० तिरको उरुक (बेबिलोनिया) का शासक मान्दछन् । “द एपिक अफ गिलगमेश” नामको क्ले टेबलेट मध्ये बाह्र वटा टेबलेटमा जल प्रलयको कुरा लेखिएको छ । जल प्रलयको कथाको बारेमा हालसम्म ज्ञात अभिलेख मध्ये यही अभिलेख नै सबैभन्दा पुरानो अभिलेख हो । जसमा जल प्रलयको बारेमा उल्लेख गरिएको छ । गिलगमेश प्राचीन सुमेरी वीर काव्यका नायकको नाम हुन् । गिलगमेशलाई उनका पूर्वज जिउसुद्दु आफूले जल प्रलयको बेलामा सबै जीवहरूलाई आफ्नो डुङ्गामा एकत्र गरेर रक्षा गरेको कथा सुनाउँदछन् । गिलगमेशको वीर काव्यका आधारमा काव्य लेख्ने सुरुवात सुमेरी सभ्यताबाट सुरु भएको मान्न सकिन्छ । गिलगमेश अगाडि या पछाडि पनि अन्य थुप्रै काव्यहरू लेखिए हुनन्, जुन हाल अप्राप्त छ, तथापि, प्राप्त साक्षकाे आाधमरमा हेर्दा काव्य परम्परा भने सुमेर सभ्यतामा नै विकसित भइसकेको प्रमाणित भने हुन्छ । कथाको मूल श्रोत सुमेरी काव्य नै हो, यसमा शङ्का छैन । कथामा कतिको सत्यता छ या त्यसमा कतिसम्म इतिहासलाई अङ्गालिएको छ ? भन्ने बारेमा तल चर्चा गरिने छ । यहाँ भने कथा फैलिनुको कारणको बारेमा चर्चा गरिने छ ।

कथाको प्रचार

काव्य र आर्यको बारेमा माथि नै भनियो । कुनै पनि राज्यका शासक फेरिदा ती राज्यका सुशिक्षित आर्यहरू कोही नयाँ शासककै साथमा रहन्थे भने केही भने यहुदी पूजारीहरू जस्तै निर्वासनमा पनि पर्दथे । पुराणका थुप्रै कथाहरूमा देश निकाला गरिएको, पाताल धसाइएको आदि भनाइको अर्थ यही निर्वासन नै हो । सप्तसिन्धुमा आएका आर्य पनि कुनै जाति विशेष नभएर विभिन्न सभ्यताबाट शिक्षित र दीक्षित भएर गुरुकुल परम्परालाई नियमितता दिँदै स्थानान्तरण गर्ने ऋषिहरू थिए । यी आर्यहरू सप्त द्वीपका समिश्रण थिए, ज्ञान आदान प्रदान गर्दै आएका थिए । वैदिक काल अगाडि या उत्तर वैदिक कालसम्म ज्ञान आदान प्रदान गर्ने मुख्य थलो भनेको भारत, बेबिलोनिया, ग्रीक, सुमेर, इजिप्ट आदि स्थान नै थिए, थुप्रै विद्वानहरू ज्ञान आर्जनको लागि विभिन्न स्थानबाट यहाँ आउँथे । गुप्तब्राम्ही लिपिमा लेखिएको आयुर्वेद सम्बन्धी किताबहरू कासगरमा (हाल चीनकाे स्वशासित क्षेत्र) पाइएबाट आयुर्वेद सम्बन्धी ज्ञान भारतबाटै बाहिर गएको स्थापित हुन्छ । हुएन साँग, फा यान, इत्सिंग आदि बौद्धिक यात्रीहरूले समेत भारतबाट ज्ञान लिएर गएका छन् भने ग्रीकका विद्वानहरू पनि भारत आएर ज्ञान लिएर फर्किएका छन् । पुराणका कथा र पात्रहरू ग्रीक पुराण कथासँग मिल्न जाजुकाे कारण यही हाे । जेन्दअवेस्ताको शातीर धर्मग्रन्थमा वेद व्यास पनि इरानमा आफ्ना समकालीन जरथ्रुस्त्रलाई भेट्न इरान गएका थिए । जेन्दअवेस्ताको शातीर धर्मग्रन्थमा निम्न कुरा उल्लेख भएको छ ।

“अकनूं बिरहमने व्यास नाम अज हिन्द आमदबस दाना कि अकल चुना नस्त” (हिन्दबाट आएका व्यास नामक एक ब्राह्मण बराबर विद्वान अरू छैन) ।
“चूं व्यास हिन्दी बलख आमद, गश्ताशप जरदश्त राव ख्वान्द” (जब हिन्दबाट व्यास आए, तब इरानका बादशाह गश्तासपले जरदश्तलाई बोलाए) । यहाँ “जरदश्त” भन्नाले जरथ्रुस्त्र नै बुझिन्छ ।
सातिरमै व्यास भन्दछन्, “मन मरदे श्रम हिन्द निजाद” (म हिन्दमा जन्मेको एक पुरुष हुँ) र अन्तमा, “व हिन्द वाज गश्त” (फेरि ऊ हिन्दतिर फर्कियो) भनेर लेखिएको छ । त्यति वेला यही ज्ञानार्जनको साधन थियो भने एक भाषाबाट अर्को भाषामा विभिन्न ग्रन्थहरू अनुवाद गर्ने कार्यहरू पनि भएका थिए ।

“द लस्ट यर्स अफ जिजस क्राइस्ट” पुस्तकमा जिजस तेह्र वर्षदेखि उनन्तिस वर्षसम्म भारत नेपाल र तिब्बतमा भएको व्याख्या गरिएको छ । बाइबल बुद्ध धर्मबाट अत्यधिक प्रभावित भएको मानिन्छ । साथै वैदिक दर्शन र प्रचलनको अनुसरण पनि इसाई धर्ममा गरिएको छ । जिजसले बौद्ध धर्म र सनातन धर्मको ज्ञान यतै आएर लिएका थिए भन्न सकिन्छ । ग्रीकबाट हिन्दुस्तानमा ज्ञान र दर्शन सिक्न आएका थुप्रै इतिहास छन् । यस आधारमा थुप्रै ज्ञान, दर्शन, इतिहास, र कथाहरू पूर्वबाट पश्चिम गएका छन् र पश्चिमबाट पूर्व आएका छन् । जल प्रलयको कथा पनि सुमेर सभ्यताबाट चारैतिर फैलिएको हो र यसलाई स्थानीयकरण गर्नेहरू यिनै सुशिक्षित आर्यहरू नै हुन् ।

सुमेर सभ्यतामा गिलगमेशको महाकाव्य या क्युनिफर्ममा इतिहास लेख्ने पनि यिनै आर्य थिए, जेन्द अवेस्ता र वेद लेख्ने पनि यिनै आर्य थिए । विभिन्न स्थान र जातिबाट स्थान र जाति अनुसारको इतिहास, कथा, र ज्ञान बोकेर आएका यी आर्य सबैभन्दा पुछारमा सप्तसिन्धु आएका थिए । जेन्दअवेस्ता र वेद उस्तै भएर पनि इन्द्र र अहुरमज्द बीचको मत भिन्नताको कारण यही जातीय र स्थान विशेषको संस्कार र सभ्यता बीचको मतभेद नै थियो । वैदिक कालका पूजनीय इन्द्र पछि गएर पतन हुनु र वैष्णव, शिव र शाक्त मार्ग विकसित हुनुको कारण पनि यिनै आर्य गुरुहरूको आस्था, मान्यता, संस्कार र शिक्षाको प्रतिफल थियो । वेदका विभिन्न मतका ऋचाहरू र पुराणका कथाहरूमा यो भेद छर्लङ्ग देख्न सकिन्छ । मनुको कथामा किलात र आकुली नाम गरेका असुर ब्राह्मणहरूलाई बोलाएर यज्ञ गराइएको छ । सुमेरी बासिन्दालाई असुर र सभ्यतालाई आसुरी सभ्यता पनि भनिन्छ । किलात र आकुली नामका असुर ब्राह्मण बोलाइएको कथनले मनुको जल प्रलयको कथालाई सिधा सुमेर सभ्यतासँग सम्बन्ध जोड्छ । आर्य जाति नभएर माथि उल्लेख गरिएझैँ सुशिक्षित व्यक्तिहरू मात्र हुन् भन्ने कथनलाई अझ पुष्टि गर्ने कुरा भनेको जल प्रलयको कथामा उल्लेख भएका संस्कारहरू नै हुन् । कथामा देवतालाई खुसी पार्न बलि दिने कार्य भएको छ, यज्ञ गर्ने कार्य भएको छ, यज्ञमा धूप या मासु होम गर्ने कार्य भएको छ, मदिरा चढाउने काम भएको छ । यी कार्य या संस्कारहरूलाई हरेक भाषा, धर्म, संस्कृतिका कथाकारहरूले छुटाएका छैनन्, किनभने यी सबै कार्यहरू तिनीहरूले प्राचीन काल देखी गर्दै आएका थिए र यही नै तिनीहरूको ज्ञान र संस्कार पनि थियो । वेदका ऋचाहरूमा थुप्रै मतभेद छ । पुर्ख्याैली थलोको बारेमा, संस्कारको बारेमा पक्ष विपक्ष र समर्थनको बारेमा । वेदका ऋचा लेख्नेहरूका सन्तानले पनि ऋचाहरू लेखेका छन् यो ज्ञान पुस्तैनी रूपमा सर्दै गएको र ती ऋषिहरू विभिन्न क्षेत्रबाट आएकाले एक परिवारका ऋषिहरूको बिचार, आस्था, संस्कार र समर्थन अर्कोसँग नमिल्ने देखिन्छ । यसैबाट भन्न सकिन्छ, “आर्य” कुनै जाति विशेष थिएन, पदवी थियो ।

जल प्रलयको घटनाको बारेमा ऋग्वेदमा सङ्केत समेत छैन । अथर्व वेदमा यो घटनाको केवल सङ्केत मात्र पाइन्छ । जल प्रलयको विस्तृत रूप या घटनाको सही कथा केवल शतपथ ब्राह्मणमा मात्र पाइन्छ । यस आधारमा तीन कुरा स्पष्ट देखिन आउँछन् । पहिलो कुरा यो कथाको बारेमा वैदिक ऋषिहरू अनभिज्ञ हुनुमा वैदिक ऋषिहरू मध्ये सुमेर सभ्यताबाट आएका या दीक्षित कोही थिएनन् । या लामो समयको अन्तरालमा यो कथा बिर्सिएर गौण हुन गयो । दोश्रो तर्क भनेको यो वेदपछिको हो, त्यसैले यो घटना शतपथ ब्राह्मण, महाभारत र मत्स्य पुराणमा छ । तेश्रो कुरा यो कथाको पात्र र भूमि सप्तसिन्धु नभएकोले यो कथा वेदपछि अन्यत्र कतैबाट लिइएको हो । वेदमा जल प्रलयको कथा नहुनुमा वेद र सुमेर सभ्यता बीचको समय अन्तर प्रमुख हुनसक्छ । सुमेर सभ्यता इ.पू. ३५०० देखि २६०० वर्ष अगाडिको मानिन्छ भने वेद काल १४०० इ.पू. देखिको मानिन्छ । वेद देवनागरी लिपिमा लेखिएको छ भने गिलगमेशको वीर काव्य चित्राक्षर लिपिमा लेखिएको छ । चित्राक्षर लिपि पछि नै देवनागरी लिपि विकाश भएकोले शतपथ ब्राह्मण या पुराणका कथाबाट फेरि चित्राक्षर लिपिमा जल प्रलयको कथा लेखियो भन्नु मूर्खता हुन जान्छ । सातिरमा व्यास इरान गएको तथ्यलाई हेर्ने हो भने वेदपछिको शतपथ ब्राह्मण र पुराणहरूमा जल प्रलयको कथा व्यासले ल्याएका हुन् भन्न सकिन्छ ।

संसारका विभिन्न साहित्य र धर्मग्रन्थमा प्रचलित जल प्रलयको कथा

जल प्रलयको कथा ग्रीक साहित्यमा ड्यूकलियन र उनकी पत्नी पीरियाको कथामा जल प्रलय वर्णन छ । (मिथ अफ एन्सियन्ट ग्रिस एन्ड रोम) यूनानको अतिरिक्त वेबिलोनियाको साहित्यमा पनि जल प्रलय सम्बन्धी कथा पाइन्छ । ‘अत्रहसिस’ महाकाव्यमा वर्णित एक कथा अनुसार, अर्डेटसको छोरा जिसश्रस जल प्रलयपछि देवताहरूलाई बलि दिएर बेबिलोनिया शहरको पुनः निर्माण गर्दछन् (द फ्लड लिजेण्ड इन संस्कृत लिटरेचर) । वेबिलोनियाको गिलगमेश महाकाव्यमा पनि यसै प्रकारको जल प्रलयको एक कथा छ । बाइबलमा यो कथा निक्कै बिस्तारमा दिइएको छ । कुरानमा उल्लेख भएको कथा भने बाइबलसँग मिल्दो छ अन्तर केवल पानी जहाज गएर अडिएको पहाडको नाम फरक हुनु मात्र हो । बाइबलका अनुसार हजरत नुहको पानी जहाज माउन्ट अरारतमा गएर रोकिन्छ भने कुरानमा माउन्ट जुडिमा । चेल्डियाको साहित्यमा परमेश्वर ‘ई’ को आदेश अनुसार हसिसद्रा आफूलाई जल प्रलयबाट बचाउँछन् । पारसी धार्मिक ग्रन्थ वेन्दिदाद र पहलवीमा जल प्रलयको कथामा बिघनघतका पुत्र यिम (विवस्वानका पुत्र यम) उल्लेख छ । सुमेरी अक्कादी सभ्यतामा जल प्लावनको कथा गिलगमेशको कथाको अंशको रूपमा क्ले ट्याबलेटमा (अक्षर खोपेर सुकाइएको माटोको चौकोर सिलोट) पाइएका छ ।

जल प्रलयको कथा आइसलैण्ड, वेल्स, र लिथुआनियाका साहित्यमा पनि पाइन्छ । यसका अतिरिक्त चीन, जापान, इन्डोनेसिया, मलेसिया, अस्ट्रेलिया, पपुवा न्यूगिनी र दक्षिणी अमेरिकाका देशहरूमा पनि यो कथा पाइन्छ । संसारका सबै जलप्लावन सम्बन्धी कथाहरूको तुलनात्मक अध्ययन गर्दा सबै कथाहरू समान विवरणका देखिन्छन् । चीन र जापानको जल प्रलयको कथामा भने एकातिर विनाशको वर्णन धेरै नै कम छ भने यसलाई दैवी प्रकोपभन्दा प्राकृतिक प्रकोपको रूपमा लिइएको छ । जल प्रलय बारेको पौराणिक कथाहरू विश्वव्यापी रूपमा छन् र अनुसन्धानको क्रममा यसको लगभग २५० संस्करण पाइएको छ । जलप्लावनको कथा मुख्य रूपमा युरेसियामा ज्यादा पाइन्छ, त्यसमध्ये पनि विशेष रूपमा मध्य एसियामा यो पाइन्छ, तर अफ्रिकी लोक साहित्य या कथाहरूमा जल प्रलयको कथा पाइँदैन ।

कथाको मूल श्रोत

हालसम्म प्राप्त सबुत, साक्षहरूको अध्ययन गर्दा यस कथाको मूल श्रोत भनेको गिलगमेशको असिरियन वीर काव्यलाई नै मानिन्छ । सुमेरियन सभ्यता ई.पू. ३५०० देखि २६०० ई.पू.. को मानिन्छ । विद्वानहरू गिलगमेशलाई ई.पू. ३००० तिरको उरुक (बेबिलोनिया) का शासक मान्दछन् । “द एपिक अफ गिलगमेश” नामको क्ले टेबलेट मध्ये बाह्र वटा टेबलेटमा जल प्रलयको कुरा लेखिएको छ । जल प्रलयको कथाको बारेमा हालसम्म ज्ञात अभिलेख मध्ये यही अभिलेख नै सबैभन्दा पुरानो अभिलेख हो ।

गिलगमेशको वीर काव्यमा वर्णन गरिएको कथा अनुसार जिउसुद्दु फरात नदीको किनारमा रहेको सुरूप्पक नगरका निवासी हुन् । जिउसुद्दु गिलगमेशलाई कथा सुनाउँदै भन्छन्, “सुरूप्पक नगरका पुराना देवताहरूको मनमा जल प्रलय गर्ने बिचार आयो । ती देवताहरू मध्ये एन्की देवतालाई यो योजनाको पत्तो लाग्यो र उनी यसको विरुद्धमा उभिए । एन्कीले नर्कटको झुप्रोलाई यो योजना सुनाएझैँ गरेर भने ता कि म यो कुरा सुनूँ । एन्कीले भने, “सुरूप्पकमा बस्ने उवर्बुदका सन्तानहरू, घर भत्काएर डुङ्गा बनाऊ, मालसामान छोडेर ज्यान बचाउ । सार जीव वनस्पतिको बीउ जम्मा गर र डुङ्गाको बीचमा राख ।”

“मैले (जिउसुद्दु) डुङ्गा बनाएर सबै जीव वनस्पतिको बीज त्यसमा जम्मा गरेँ, घरका मान्छेहरूलाई राखेँ र जाँदाजाँदै नगरका बासिन्दालाई, “वायु देवले मलाई घृणा गर्ने हुनाले म यहाँबाट जाँदै छु”, भनेँ । यति भनेपछि म डुङ्गामा चढेर गए र डुङ्गालाई चारैतिरबाट बन्द गरेँ । त्यसपछि भयङ्कर ठूलो आँधी बेरी आयो । काला घना बादलको बीचमा राँको बालेर उभिएका देवताहरूलाई नगरवासीले देखे ।”

“अँध्यारो असाध्यै गाढा थियो, र आँधी बेरी पनि यति भयङ्करको थियो कि एकले अर्काले अर्कालाई चिन्न सकिरहेका थिएनन् । देवताहरू समेत जल प्रलयदेखि डराएर भाग्दै इनन्नाको स्वर्गमा पुगे । सारा देवताहरू डरले कुकुर काँपे जस्तै काँपिरहेका थिए र स्वर्गको आँगनमा एक अर्कासँग टाँसिएर उभिएका थिए ।”

“तब देवी इनन्नाले आर्तनाद गरिन्, किन “मैले मेरा प्रजा र सन्ततिकै लागि यो आँधी बनाएका थिएँ ? के मेरा सन्तति यसरी नै मर्नका लागि हुन् ?”

“आँधी छ दिन र सात रातसम्म थामिएन, बाढीको छाल उर्लिरह्यो, पानीमा बग्दै म आफन्तहरूसँगै रोइरहेँ । त्यो जल प्रलयमा केवल केही पहाडका टुप्पाहरू मात्र डुब्नबाट बचेका थिए । आखिरमा मेरो डुङ्गा एउटा पहाडको टुप्पोमा पुगेर रोकियो र एक हप्तासम्म डुङ्गा त्यही रह्यो ।”

“सातौँ दिनमा मैले एउटा परेवा निकालेर उडाएँ । परेवा उडी रह्यो, त्यसले कहीँ बस्ने ठाउँ नपाएर फर्किएर आयो । त्यसपछि मैले एउटा गौँथलीलाई उडाएँ । त्यो पनि बस्ने ठाउँ नपाएर फर्किएर आयो । त्यसपछि मैले एउटा कागलाई उडाएँ । कागले पानी घट्दै गएको देख्यो, दाना खायो, पानीमा डुबुल्की लगायो तर फर्किएर आएन ।

“त्यसपछि मैले एउटा जनावर हविषको लागि निकालेँ, चारै जना वायु देवताहरूको लागि त्यसको बलि चढाएँ, पहाडको शिखरमा मैले मद्य चढाएँ, अगरुको धूप बालेँ । यसको गन्ध सुँघेर देवताहरू आए र यज्ञका स्वामीको चारैतिर जम्मा भए । त्यसपछि इनन्ना देवी आइन् र भनिन्, “देवताहरू, जसरी म आफ्नो घाँटीमा पहिरेको नीलमणिहरूलाई बिर्सन सक्दिन, त्यसरी नै जल प्रलयका दिनहरू बिर्सन सक्दिन । अब देवताहरू यज्ञमा आए हुन्छ तर एन्लिल नआउन् । यस यज्ञको भाग उनले पाउँदैनन्, किन भने उसले भनेको नमानेर जल प्रलयमा मेरा एक एक सन्ततिहरूलाई नष्ट गरे ।”

“त्यसपछि रिसाएर एन्लिल देवता आए । उसले मेरो डुङ्गा देखेपछि झन् रिसाएर भने, “यो जल प्रलयबाट कसरी कुनै मान्छे बाँच्यो ?”
“तब दिव्य स्वामी एन्कीले उसलाई सम्झाउँदै भन्यो, “देवताका पनि देवता वीर एन्लिल, तिमीले किन भनेको मानेनौ ? जो पापी हुन् उसै माथि पापको भार हाल, अपराधीलाई दण्ड देऊ तर कृपा गर, कोही एक्लो नहोओस्, मति भ्रष्ट नहोओस् । यो जल प्रलय गर्नु भन्दा त कुनै सिंहलाई पठाएर प्रजाको सङ्ख्या कम भए हुन्थ्यो ।”

“एन्कीको कुरा सुनेर क्रुद्ध एन्लिल शान्त भयो । एन्कीले एन्लिलको भत्र्सना गर्दै भने, “केही पापको लागि एन्लिलले धेरैलाई दण्ड किन दियो ?”

“तब बल्ल एन्लिलले कुरा बुझे । उनी डुङ्गा भित्र आए । उसले मेरो हात समाते । उनले मलाई र मेरो पत्नीलाई बाहिर ल्याए । उनले घुँडा टेकेर प्रणाम गरे, हाम्रो निधारमा स्पर्श गरे र बीचमा उभिएर हामीलाई आशीर्वाद दिए र भने, “पहिले जिउसुद्दु मनुष्य थिए, अबदेखि यिनी र यिनकी पत्नी हामी जस्तै देवता हुनेछन् र जिउसुद्दु र उनकी पत्नी अब नदीको मुहानमा बस्नेछन्, किनभने नदीको मुहानमा नै देवताहरूको बास छ ।”

गिलगमेशको वीर काव्यको कथाबाट धेरै कुराहरू प्रस्ट हुन्छ । पहिलो कुरा, बलिको प्रचलन सुमेर सभ्यतामा प्रचलित थियो । दोश्रो कुरा अगरु (धूप बनाउने एक प्रकारको खोटोयुक्त काठ) या धूप बालेर त्यसको सुगन्धित धुवाँबाट देवताको पूजा गर्ने प्रचलन पनि सुमेर सभ्यतामा थियो । तेश्रो कुरा यज्ञको भाग (यज्ञ भन्नाले कुनै कार्य या युद्ध गरेपछि हात लागेको सामानहरू समान रूपमा बाँडफाँड गर्ने कार्य) लिने कार्य पनि सुमेर सभ्यतामा प्रचलित थियो । बलि, धूप र यज्ञ, यी तीनै कुरा वैदिक आर्यहरूमा पनि प्रचलित थियो । सुमेर सभ्यता संसारकै सबैभन्दा पुरानो सभ्यता मानिन्छ । प्रसिद्ध इतिहासकार लैङ्गडनका अनुसार मोहन जोदाडोको लिपि र छापहरू सुमेरी लिपि र छापहरूसँग लगभग मिल्दछन् ।

मोहनजोदडोको साँढेको मूर्ति सुमेरी सभ्यताको वृषभसँग मिल्दछ, हडप्पामा पाइएको सिंगारदानको बनावट सुमेरी सभ्यताको सिंगारदानसँग मिल्दछ । लैङ्गडनका अनुसार सुमेर सभ्यता र हडप्पा सभ्यता लगभग एकै कालका हुन् । यस आधारमा हेर्दा शतपथ ब्राह्मणमा उल्लेख भएको जल प्रलयको कथा पनि सुमेरी सभ्यताको वीर गाथा बाटै लिइएको स्पष्ट हुन्छ ।

भारतीय जल प्रलय कथा

ऋग्वेदमा जल प्रलयको कतै सङ्केत समेत छैन । अथर्ववेदमा जल प्रलयको बारेमा सङ्केत मात्र छ । जल प्रलयको बारेमा विस्तृत कुरा शतपथ ब्राह्मणबाट सुरु हुन्छ । महाभारतमा जल प्रलय र मत्स्य अवतारको कथा छ । यस कथा अनुसार मनुका डुङ्गा नौबन्धन नामक हिमालयको शिखरमा गएर रोकिएको थियो । केही ग्रन्थहरूमा यसै हिमालय शिखरको नाम नावप्रभन्शन (नाउ बाँधिएको) पनि उल्लेख भएको छ । मत्स्य पुराण अनुसार डुङ्गा मलय पर्वतमा गएर रोकिएको थियो । भागवतमा मनुलाई द्रविड देशको राजा सत्यव्रत भनिएको छ ।

राजा सत्यव्रतको कथा अनुसार ब्रह्मा सुतिरहेको बेलामा अचानक जल प्रलय अचानक भएको थियो । त्यसै बेला हयग्रीव दैत्यले वेद चो¥यो र यसको रक्षा गर्न विष्णुले मत्स्यरूप (ऋंगी माछा) धारण गरे जुन पछि लाखौँ योजन ठूलो भयो । माछाले आफ्नो भेद पानीमा बस्ने र पानीकै आहार गर्ने राजा सत्यव्रतलाई भने । एक दिन एउटा सन्दुक पानीमा तैरिँदै सत्यव्रत समीप आयो । राजा सत्यव्रत ब्राह्मण सहित त्यस सन्दुकमा प्रवेश गरे र ब्राह्मण सहित हरिसंकिर्तन गर्न थाले । अन्त्यमा विष्णुले हयग्रीवको वध गरेर वेदको उद्धार गरे । त्यसपछि विष्णुले सत्यव्रतलाई दैवी र मानवी ज्ञान दिए र उनलाई सातौँ मनु घोषित गरे । त्यसपछि नयाँ मन्वन्तर बन्यो र नयाँ श्रष्टि भयो ।

शतपथ–ब्राह्मणमा लेखिएको कथा अनुसार बिहान नदीमा उभिएर आचमन गर्दा मनुको हातमा एउटा सानो माछा आयो । माछाले मनुलाई आफूलाई बचाउन अनुरोध ग¥यो र भन्यो, “जल प्रलय हुदैँछ, त्यसमा सबै जीव वनस्पति मर्नेछन् । तिमी मलाई एउटा घैँटोमा राख र ठूलो भएपछि तलाउमा राख्नु र त्यहाँबाट समुन्द्रमा छाडिदिनु । प्रलय आउँदा मलाई सम्झनु म तिम्रो रक्षा गर्नेछु ।”

मनुले माछाले भने जस्तै गरे । माछालाई समुन्द्रमा छोड्दा माछाले मनुलाई एउटा डुङ्गा बनाइराख्न भन्यो । मनुले डुङ्गा बनाए, सात दिनपछि प्रलय भयो, मनुले सबै जीव र वनस्पतिलाई जम्मा गरेर डुङ्गामा राखे र माछालाई सम्झिने बित्तिकै एक विशाल माछा आयो । माछाले मनुलाई भन्यो, “डुङ्गा बाँधिएको डोरी मेरो सिङमा बाँधिदेऊ,” मनुले त्यसै गरे । माछाले त्यो डुङ्गा गिरि शिखरमा पुर्यायो र त्यहाँ बाँध्न लगाउँदै भन्यो, “जल घटेपछि धरतीमा यज्ञ गर्नु ।”

मनुले जल घटेपछि यज्ञ सम्पन्न गर्न किलात र आकुली नाम गरेका असुर ब्राह्मणलाई आमन्त्रित गरे । त्यस यज्ञबाट श्रद्धाको जन्म भयो । मनु र श्रद्धाको संयोगले नयाँ श्रृष्टि भयो ।

ग्रीक कथा

एक दिन देवराज जिमस (वैदिक द्यौस देवता) मान्छेमाथि क्रुद्ध भए । उसले सबै मानव जति नष्ट गर्ने निश्चय गरे । यो कुरा थाहा पाएर प्रोमेथियसलाई चिन्ता भयो र आफ्नो वंशको रक्षा गर्नको लागि छोरा ड्युकालिनलाई ठूलो सन्दुक बनाउने सल्लाह दिँदै भने, “ठूलो जल प्रलय आउँदै छ, तिमी त्यसमा आफ्नो पत्नी पिर्हा र आहार लिएर बस्नु । त्यसो गर्दा तिम्रो र समस्त मानव जाति नष्ट हुनबाट बच्नेछन् ।” त्यसपछि जीमसले वर्षा गराए, बाढीले ओलम्पस पर्वतको शिखर बाहेक सबै डुब्यो । ड्युकालिन र पिर्हा नौ दिनसम्म सन्दुकमै रहे र पर्नासमा पुगेर आफ्नो रक्षा गरे । ड्युकालिनले जिमसको लागि बलि चढाए । बलिबाट प्रसन्न भएर जिमसले सन्तान हुने वरदान दिए । ड्युकालिनले फालेका पत्थरहरू छोरा भए भने पिर्हाले फालेको पत्थरहरू छोरी । यसरी नयाँ सृष्टि भयो ।

बाइबलको कथा

मानवमा पाप बढेकोले यहोवाले प्रत्येक जीवलाई नष्ट गर्ने बिचार गरे र नुहलाई ठूलो डुङ्गा बनाउन भने । त्यसमा नुह, उनको पत्नी छोराबुहारी र सबै जीवहरूको नर र मादा वीज सङ्कलन गर्न भने । नुहले त्यसै गरे । सात दिनपछि जल प्रलय भयो, त्यस प्रलयमा नुहले बनाएको डुङ्गामा रहेका जीव बाहेक सबै नष्ट भए । सात महिना सत्र दिनपछि धरती सुक्यो र डुङ्गामा भएका सबै बाहिर आए । नुहले यहोवाको आदेश अनुसार एक पन्छी र एक जनावरलाई आगोमा पोलेर बलि चढाए, बाँकी बचेका जीवहरूबाट फेरि श्रृष्टि भयो ।

पारसी कथा

पारसीहरूको पवित्र ग्रन्थ जेन्दअवेस्ता अनुसार प्रलयको दिन अहुरमज्दले भने, “हे विघनघतका पुत्र यिम (विवस्वानका पुत्र यम) यो संसारमा अब भयानक हिमपात हुने भएको छ । यो हिमपातका कारण समस्त बन, पर्वत जीव–जन्तु आदि नष्ट हुनेछन् । तिमी गएर एक ठूलो गुफा बनाऊ र त्यसमा सबै मनुष्य, पशु, पक्षी, जीव–जन्तुका एक एक जोडा र वनस्पतीको वीज एकत्र गर ।”

चीनीया जल प्रलयको कथा

जल प्रलयको चीनीया कथा भने दैवी प्रकोप र पारलौकिक शक्तिहरूबाट मुक्त छ । यस कथामा प्रकृति र मान्छेको साहस र उद्यमको कथा छ ।

यावो राजाको शासनकालमा बाढी आउँछ । यावोले “शुन” लाई सङ्कटबाट बचाउने जिम्मेवारी दिन्छन् र “यी” लाई आगो नियन्त्रण गर्ने शक्ति दिन्छन् । बाढीको पानी अनियन्त्रित थियो । यी ले त्यसलाई नौ नदीमा विभाजन गरे । यस कथाका नायक यी ले जनतालाई भोजनको लागि कसरी मासु जम्मा गर्ने भनेर सिकाउँछन्, माटोमा बीज रोपेर कसरी अन्न उब्जाउने भनेर सिकाउँछन् ।

कथाको निचोड

जल प्रलयको कथा निश्चय नै सुमेरी कथाबाट सुरु भएको मान्न सकिन्छ, तथापि, जल प्रलयको अन्य सुमेरी कथाहरूमा गरिएका केही वर्णन र पात्रहरू भने गिलगमेशको कथाभन्दा केही पृथक् छन् । ग्रीक संस्करणमा पनि तीन वटा बाढीका कथा छन्, ओगिगोव, ड्युकालियन र डार्डनस् । ती मध्ये ड्युकालियनको कथा सुमेरी कथाको बढी नजिकको छ बाँकी दुई कथाहरू भने पछि थपघट गरिएका कथाहरू हुन् ।

विश्वमा प्रचलित सबै धर्म र सभ्यतामा पाइएका जल प्रलयका कथाहरूको तुलनात्मक रूपमा अध्ययन गर्दा सबै कथाहरू आसुरी गाथाबाट प्रभावित देखिन्छन् । बाइबलको बुक अफ जेनेसिसमा जल प्लावनको कथा मात्र नभएर डुङ्गाको लम्बाई, चौडाइ उँचाइ र तह समेत वर्णन गरिएको छ । तथापि, एकातिर बाइबलको गहन अध्ययन गर्ने विद्वानहरू बाइबलमा नूह र जल प्रलयको कथा ई.पू. छैटौँ शताब्दमा बेबिलोनियामा निर्वासित जीवन बिताइरहेका यहुदी पुजारीहरूले लेखेको मान्दछन् । सुमेर राज्य त्यति बेला इजरायलदेखि क्यास्पियन सागरसम्म र युनानदेखि इरानसम्म फैलिएको थियो । बाइबल र जिजस दुवै सुमेरियन सभ्यताभन्दा लगभग २००० वर्ष पछिको भएकोले यसलाई सुमेरी गाथाबाट प्रभावित नै मान्नुपर्छ । बाइबलका नुह पनि यहुदी कथाका नुह नै हुन् । ग्रिस र ल्याटिनी कथाहरू भने सोझै बाइबलबाट प्रभावित छन् । शतपथ ब्राह्मणमा भएको जल प्रलयको कथा पनि सुमेरियन सभ्यताकै कथाबाट उधारो लिएको देखिन्छ । जल प्रलयको चीनी कथा भने स्वतन्त्र छ, यसमा कुनै दैवीय श्राप पनि छैन र पारलौकिक चमत्कार पनि छैन । इस्लाम धर्ममा भएको कथालाई यहाँ नसमेट्नुको कारण भने कथा पात्रको एकाध नाम र स्थान परिवर्तन गरेर पूर्ण रूपमा उधारो लिइएको छ ।

कथाको स्थानीयकरण

जल प्रलय कथाको मुख्य अंश भनेको स्थानीय देवता रिसाउनु, सच्चा भक्तलाई जल प्रलयको बारेमा रहस्य भन्नु, डुङ्गा या सन्दुकमा मानव, वनस्पति र जनावरहरूको वीज जम्मा गर्नु र प्रलय पश्चात् पुनः श्रृष्टि गर्नु हो ।

यही मूल कथालाई स्थानीयकरण गर्दा थुप्रै उपकथाहरू जन्मिएका छन्, पात्रहरू थपघट भएका छन्, स्थानको नाम परिवर्तन भएको छ, दैवीय चमत्कार देखा परेको छ । तथापि धेरै कुराहरू, नामहरू भने उच्चारणका आधारमा पविर्तन भएका मात्र छन् । वैदिक संस्कृतमा आपः को अर्थ पानी हो । ऋग्वेदमा अपानपात् शब्द जल पुत्र या जल शक्तिको लागि प्रयोग गरिएको छ । अवेस्तामा पनि जल देवतालाई अपानपात् भनिएको छ । सुमेरको जलप्लावन कथामा जल प्रलयबाट बचेपछि “पिर निपिश्तिम” नामको देवतालाई रक्षकको रूप दिइएको छ । सुमेर सभ्यताका यी पिर निपिश्तिम देवता जलको बिचमा बस्ने देवता थिए ।

नुह या मनु दुवै नाममा कताकति ध्वन्यात्मक समानता महशुश हुन्छ । मनु उच्चारण गरेर सास छोड्दा ह को अघोषित ध्वनि निस्कन्छ । पुराण कथामा नुहकै ध्वनि साम्य नाम मनु पनि राखिनु पनि सम्भव छ । तथापि, बाइबल र कुरान काल क्रममा निक्कै पछाडि पर्ने हुनाले मनुबाट नै स्थानीय नुह नाम राखिएको भने स्पट छ । मनु र नुहका बारेका केही समानता पनि छन् । मनु र नुह दुवै ईश्वरका प्रिय पात्र हुन्, दुवै ईश्वरद्वारा निर्देशित छन्, दुवैका डुङ्गा पहाडको टुप्पोमा गएर रोकिन्छ, दुवैले जीवका बीज एकत्र गरेका थिए, दुवै नयाँ सृष्टिकर्ता हुन् । जेन्दअवेस्तामा उल्लेख भएको नाम विघनघत विवस्वान हुन्, विवस्वानका पुत्र यिम यम हुन् भने ग्रीक कथाका जिमस पनि द्यौस हुन्, यी नाममा थोरै उच्चारण अन्तर मात्र छ ।

ग्रीक, यहुदी, बाइबल, र इस्लामका कथाहरू पूर्णतः सुमेर कथाबाट प्रभावित देखिन्छन् । भागवत र पुराणका कथाहरूमा भने उल्लेख भएको विवरणमा विभेद देखिएको छ । मत्स्य पुराणमा उल्लेख भएको कथा भने जबरजस्ती विष्णु करण गरिएको छ, केवल विष्णुको महिमा गायनको लागि जबरजस्ती कथालाई कोचिएको छ । अर्कोतिर राजा सत्यव्रतलाई सातौँ मनु घोषित गर्नुको पछाडि पनि विष्णुको महिमा व्याख्या मात्र देखिन्छ । भागवत र पुराणका कथामा जल प्रलयको कारण खुलाइएको छैन ।

के जल प्रलय भएको थियो ?

हिन्दु धर्मशास्त्रका भागवत र पुराणका कथाहरूमा जल प्रलयको कारण खुलाइएको छैन । सुमेरी कथाहरूमा ईश्वरको क्रोध नै प्रमुख कारण देखिन्छ । बाइबलमा जल प्रलय सामुन्द्रिक आँधी आएर भएको बत्ताइन्छ । जेन्दअवेस्तामा अत्यधिक हिमपात छ भने चिनिया कथामा यसलाई केवल प्राकृतिक प्रकोपको रूपमा लिइएको छ । जल प्रलयको कथा अनुसार प्रलय सात दिनदेखि १५० दिनसम्म भएको थियो । छ हजार मिटरको माउन्ट अरारतको टुप्पो मात्र नडुबेर बाँकी जम्मै पृथ्वी डुबेको त्यति ठूलो जल प्रलय आउनाको कारण के थियो ? सम्भवतः यस प्रश्नको उत्तरमा थुप्रै प्राकृतिक कारणहरू हुन सक्छन् । सम्भावित कारणहरू मध्ये भूकम्पबाट उत्पत्ति भएको सुनामी, भूमि फुटेर निस्किएको जल, समुन्द्रमा भएको कुनै ज्वालामुखी विस्फोटबाट आएको सुनामी, समुन्द्रमा कुनै उल्का पिण्ड खस्नु, कुनै विशाल ग्लेसियर पग्लिएर समुन्द्रमा मिसिनु, दुई टेक्टोनिक प्लेट जुधेर सुनामी आउनु या सामुन्द्रिक आँधी ।

छ हजार मिटरको माउन्ट अरारत पर्वतको शिखर मात्र बचेर १५० दिनसम्म पानीमा पृथ्वी डुब्नु तर्कसङ्गत देखिँदैन । यस अवस्थामा डुङ्गामा जम्मा गरिएका जीवहरू समेत मर्ने निश्चित छ । यसर्थ यस मतलाई सोझै खारेज गर्न सकिन्छ । भारतीय कथा अनुसार पनि पर्वतको टुप्पा (हिन्दु कुश पर्वतमालामा सगरमाथा ८८४९ मिटर अग्लो छ) मात्र पानीले नडुबाएको कथालाई मान्ने हो भने त्यत्रो पानी आखिर आयो कहाँ बाट र फेरि गयो कहाँ ? यो अत्यन्तै तार्किक र अनुत्तरित प्रश्न हो । भगवानको चमत्कारमा आस्था राख्ने हो भने चैँ कुरा बेग्लै हो, आस्था माथि तर्क सदैव निरीह हुन्छ ।

भूविज्ञानका विद्वानहरू र भूगर्भशास्त्रीहरूको मतमा पनि यति ठूलो प्रलय अस्वाभाविक नै देखिन्छ । भूकम्पबाट, उल्का पिण्ड खसेर, ज्वालामुखी विस्फोट भएर आएको सुनामी यति विशाल हुन सक्दैन र यसको समय अवधि पनि निश्चय नै कथामा भनिए भन्दा छोटो हुन्छ । अवेस्तामा अत्यधिक हिमपात उल्लेख भएकोले सम्भवतः कुनै विशाल हिम पहिरो जानु, हिमताल फुट्नु या उत्तरी ध्रुवको विशाल हिमरासी एकै पटक ठूलो मात्रामा पग्लिएर या कुनै कारणले ग्लेसियर पग्लिएर समुन्दको सतह निक्कै माथि उठ्नाले आएको सुनामीको कारण मान्ने हो भने पनि जल प्रलयको सात दिनले यसलाई अपत्यारिलो बनाउँछ । सात दिनसम्मको सामुन्द्रिक आँधीबाट हुन सक्ने सम्भावना पनि यति ठूलो र सात दिनसम्मको अवश्य नहोला । वैज्ञानिकहरूकै अनुसार यदि संसारको सबै हिउँ पग्लियो भने पनि समुन्द्रको उँचाइ एक सय तीस फिट भन्दा माथि उठ्न सक्दैन । यस कथा अनुसार भने माउन्ट अरारतको टुप्पो मात्र बाँकी रहेको र यही टुप्पोमा डुङ्गा अडिएको कथन पनि विश्वसनीय लाग्दैन । यी सबैभन्दा विश्वसनीय कारण भने टेक्टोनिक प्लेटको जुधाइलाई मान्न सकिन्छ । तर पृथ्वीको भूबिज्ञानको आधारमा यो क्रिया पाँच या छ हजार वर्ष अगाडि भने भएको छैन ।

तथापि, बाढी आएकै थिएन भनेर पत्याइहाल्न पनि सकिने स्थिति पनि छैन । एक सिद्धान्तले भन्छ, “ब्ल्याक सि पहिले सफा पानीको थियो, यसमा सि हर्स पाइनुको कारण यही प्रलय थियो ।” टिग्रिस र युफ्रेटस नदी वरिपरिका क्षेत्रमा गरिएको एक सोध अध्ययनले त्यस क्षेत्रमा ई.पू. २९०० तिर ठूलो समुन्द्री बाढी आएको थियो भन्दछ । सन १९३० को दशकमा इराकको दजला र फरात घाटी र मेसोपोटामियाको केही भू–भागमा गरिएको उत्खनन गरिएको थियो । उक्त उत्खननमा त्यस क्षेत्रमा आठ देखि एघार फिट मोटाइको बाढीको लादीको पत्र पाइएको थियो । टिग्रीस र युफ्रेटस नदीका किनारहरूमा र मेसोपोटामिया र इराकका केही स्थानहरूमा गरिएको उत्खननमा दश इन्च देखि १५ इन्च सम्म मोटाइका सिल्ट (नदीले बगाएर ल्याएको माटो बालुवाका लादी) पाइनुले पनि जल प्रलय भएको थिएन भनेर भन्न सकिन्न । यसबारेमा अष्ट्रियाका भूबिज्ञान ई. सुसेको गहन अध्ययन र उनको निष्कर्ष महत्त्वपूर्ण छ । उनका अनुसार मेसोपोटामियाको तल्लो भागमा बाढी आएको थियो तर त्यो बाढी त्यति विशाल नभएर सुनामी या फारसको खाडीमा गएको भूकम्पको परिणाम स्वरूप आएको ठूलो बाढी थियो, जुन निक्कै विनाशकारी थियो ।

जल प्रलयको काल निर्णय

सुमेरी राजाहरूको सूचिका आधारमा यस बाढीको समय अनुमान गर्दा यो बाढी ३३०० इ.पू. तिर भएको देखिन्छ । भूवैज्ञानिकहरूको खोजले यसलाई ३००० ई.पू.मा भएको अनुमान लगाउँछन् । बाइबलको काल क्रम १५५७ तिर बाढी आएको देखिन्छ भने टिग्रिस र युफ्रेटस नदी वरिपरिका क्षेत्रमा गरिएको अध्ययनले ई.पू. २९०० तिर बाढी आएको देखिन्छ । हिब्रु तथा बेबिलोनको साहित्यको आधारमा पनि जल प्रलय ३१०० इ.पू. तिरै भएको देखिन आउँछ । पुराणका अनुसार भने समयको अन्दाज लगाउन निक्कै कठिन छ । तथापि आर.सि. मजुमदारका अनुसार जल प्रलय ३२०० इ.पू.तिर भएको थियो । भारतीय पुरातत्त्व सर्वेक्षण विभागका पूर्व निर्देशक तथा पुरातत्वशास्त्री बि.बि. लालका अनुसार इ.पू. २००० देखि १९०० तिर पुराणमा उल्लेखित मनुको बाढी सरस्वती नदीमा आएको थियो र यही बाढीको कारणले सरस्वती नदी विलुप्त भएको थियो ।

इतिहासमा मोहनजोदडो र हडप्पा सभ्यता मासिनुका अनेकन् कारणहरूको बारेमा चर्चा गरिएको छ र ती मध्ये पानीले बगाएर ल्याउने माटोको पत्रको आधारमा कुनै बाढीले यो सभ्यता मासिएकोमा धेरै विद्वानहरू सहमत छन् । मोहनजोदडो र हडप्पामा पाइएका कांस्य मूर्तिहरूको आधारमा यो सभ्यता निश्चय नै कांस्य युगको थियो भन्ने प्रमाणित हुन्छ । उत्खननबाट पाइएका विभिन्न मोहरका आधारमा लिपिको भने विकास नभइसकेकोले चित्राक्षर लिपि नै यति बेला प्रचलित थियो भन्न सकिन्छ । सिन्धु सभ्यताको काल निर्धारण गर्दै फाब्रीले २८०० देखी २५०० इ.पू. र हीलर २३०० देखी १५०० इ.पू. मानेका थिए । तर अहिले आएर कार्बन डेटिङका आधारमा यस सभ्यतालाई १९०० ई. पू.को सभ्यता मानिएको छ (बि.बि. लाल, दि सरस्वती फ्लोज आन, पृ.२२) । ताम्र युगको समाप्तिपछि कांस्य युग र कांस्य युगपछि लगभग १२०० ई. पू. लाई लौह युगको सुरुवात भएको समय मानिन्छ । सिन्धु सभ्यता निश्चय नै ऋग्वेद अगाडिको ठहर्दछ । सिन्धु सभ्यतामा फलाम प्रयोगको कुनै सङ्केत पाइँदैन, तर आर्यहरू फलामसँग राम्ररी परिचित थिए । सिन्धु सभ्यताका मानिसहरू घोडा र पाङ्ग्राको नगण्य प्रयोग गर्दथे, तर आर्यहरू घोडा र पाङ्ग्रा (बैल गाडी र रथ) को प्रयोग गरिरहेका थिए । सुमेरी सभ्यता र मोहनजोदडो हडप्पा सभ्यता काल लगभग उही मानिएको छ । यस आधारमा हेर्दा मोहनजोदडो हडप्पा सभ्यता मासिएको समय र जल प्रलय भएको समय लगभग उस्तै देखिन आउँछ ।

जल प्रलयको घटना मानवजातिको इतिहासको एक अत्यन्तै महत्त्वपूर्ण घटना हो । यस जल प्रलयकै कारण बृहत् आसुरी राज्यबाट विभिन्न जातिहरूको बसाई सराई पुनः हुन गएकोले पनि नयाँ युगको सुरुवात भएको मान्न सकिन्छ । जल प्रलयको कथा अनुसार नाउ गएर पहाडको टुप्पोमा अड्किन्छ र केही दिनपछि पानीको सतह झर्दै गएपछि पुनः मानव श्रृष्टि सुरु हुन्छ । यो सङ्केत मात्र हो, गुदी कुरा भनेको जल प्रलयका कारण थुप्रो मानव बस्ती सखाप भए, मान्छेहरू भागेर अग्लो स्थानमा जान थाले, जुन स्वाभाविक पनि हो, र यस क्रममा थोरै मानिस मात्र बचे र पानी कम भएपछि पुनः मैदानी भागमा ओर्लेर श्रृष्टि चलाउन थाले । यसै क्रममा थुप्रै मानिसहरू अन्यत्रै लागे र फर्किएनन् । यही जल प्रलयका कारण नफर्किएका मानवले संसारभर कथ्य रूपमा विकसित भइसकेको भारोपेली मूल भाषाको प्रसारको सुरुवात भएको हुन सक्छ । तेल र भाषा वृत्ताकार रूपमा फैलने दृष्टान्तलाई मध्यनजर गरेर हेर्दा पनि पूर्व वैदिक संस्कृतको प्रारूप उत्तरमा लिथुवानिया, मध्यमा इरान र दक्षिणमा सप्तसिन्धुसम्म फैलिएको आधारमा भारोपेली भाषाको मूल केन्द्र भने सुमेर सभ्यता (असुरी राज्य) नै मान्न सकिन्छ ।

सम्बन्धित समाचार