• २०८१ बैशाख ८ शनिबार

न्यायालय र पत्रकारिता समाजको ऐना : प्रधानन्यायाधीश

kharibot

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आजदेखि अनलाइन उजुरी प्रणाली शुरुवात गरेको छ । 

प्रधानन्यायाधीश गोपाल पराजुलीले सञ्चारग्राममा कम्प्युटरको माउस क्लिक गरी उजुरी प्रणालीको सुरुवात गरेका छन् । यसअघि पीडित पक्षले उजुरी गर्नुपर्र्दा काउन्सिलको कार्यालय सञ्चारग्राम जानुपथ्र्यो । अनलाइन प्रणाली शुरु भएपछि जुनसुकै स्थानबाट उजुरी गर्न सजिलो भएको छ । 

जानाजान वा अनजानमा कसैप्रति लाञ्छना लगाउने, चरित्र हत्या गर्ने, अमर्यादित व्यवहार देखाई समाचार सम्प्रेषण गर्ने सञ्चार गृहलाई कारबाहीको माग गर्दै उजुरी गर्न यसपछि सजिलो भएको छ । 

यसवर्ष अनलाइन प्रदायक संस्थाविरुद्ध धेरै उजुरी परेको छ । ३५ अनलाइन, १६ छापामाध्यम र चार टेलिभिजन गृहले सत्यतथ्यमा आधारित नभई हचुवाका भरमा समाचार सम्प्रेषण गरेको अभियोग लगाई उजुरी दर्ता गरिएको सो अवसरमा जानकारी दिइयो । 

काउन्सिलमा करिब एक हजार अनलाइन प्रदायक संस्था दर्ता भएको तथ्याङ्क छ । त्यसैगरी छापामाध्यम, एफएम रेडियो र टेलिभिजन गरी झन्डै एक हजार २०० को हाराहारीमा सञ्चारगृह सञ्चालनमा रहेको तथ्याङ्क छ । सरकारले यसवर्ष उक्त संस्थालाई लोककल्याणकारी विज्ञापन प्रयोगगरेवापत रु १४ करोड लगानी गरेको छ । 

पछिल्लोपटक प्रतिलिपि अधिकार ऐनको बर्खिलाप, हुबहुपत्रकारिता गर्ने, जनउत्तरदायी नहुने र विभिन्न व्यक्तिलाई धम्काउने, चरित्रहत्या गर्ने र अमर्यादित पत्रकारिता गर्ने जमात बढेकाले अनलाइनमार्फत उजुरी दर्ताको सुरुवात गरेको काउन्सिलले जनाएको छ । 

काउन्सिल छापा माध्यम, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमका नियमनकारी निकाय हो । त्यसो त काउन्सिल समग्र पत्रकारिताको आचारसंहिता अनुगमन गर्ने निकाय पनि हो । 

अनलाइन उजुरीको सुरुवात गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायलय र पत्रकारिता पेशा समाजको ऐना भएको बताएका छन् । उनले प्रेस जनउत्तरदायी नभए लोकतन्त्र कमजोर हुने बताउँदै निष्पक्ष, स्वतन्त्र र सत्यतथ्यमा आधारित भई समाचार सम्प्रेषण नभए विधिको शासनको कल्पनासमेत गर्न नसक्ने बताएका हुन् । 

प्रधानन्यायाधीश पराजुलीले जिम्मेवार, जवाफदेही र उत्तरदायीपूर्ण क्रियाकलाप पत्रकारिताका सुन्दर पक्ष भएको उल्लेख गरे । 

नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले जनताको करबाट सञ्चालनमा आएका केही सञ्चार गृहले कपोलकल्पित, भ्रामक, तथ्यहीन समाचार सम्प्रेषण गरी व्यक्तिको चरित्र हत्या गरेकाले उनीहरुलाई ऐनअनुसारको कारबाही गर्न माग गरे । 

काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल प्रेस जगत्को प्रहरी भएको बताउँदै अभिव्यक्ति स्वतन्त्रताको दुहाई दिँदै अनर्गल, तथ्यहीन समाचार सम्प्रेषण गर्ने पत्रकारको पत्रकार परिचयपत्र रद्द गर्नेसम्मको अधिकार काउन्सिलसँग भएको जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै