• २०८१ बैशाख ४ मंगलबार

चितवन राष्ट्रिय निकुञ्ज सन् २०१७ मा प्रजाति संरक्षणमा

kharibot

फाइल फोटो ।

चितवन । सन् २०१७ चितवन राष्ट्रिय निकुञ्जका लागि प्रजाति संरक्षणमा महत्वपूर्ण वर्षका रुपमा परिणत भएको छ । निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु अन्य निकुञ्जमा स्थानान्तरण गर्ने र अन्यत्रबाट यहाँ ल्याउने महत्वपूर्ण काम सन् २०१७ मा भएको छ । 

यसैवर्ष चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा स्थानान्तरण गरिएको छ । गत वर्षको चैत महिनामा गैँडा स्थानान्तरण गरिएको हो । गत वर्षको वैशाखमा नेपालबाट दुई जोडी गैँडा चीन लैजानका लागि यहाँका प्राविधिक र निकुञ्जका अधिकारीले चीनमा गैँडा लैजाने ठाउँको अध्ययनसमेत गरिसकेको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने, ‘चीन लाने गैँडाका लागि बुमा खोर बनिसकेको छ ।’ बढीमा तीन वर्षका दुई गैँडा लगत्तै चीन लगिँदै छ । चीनको सांघाई नेचर पार्क र छिनेलोङ वाइल्डलाइफ सफारी गोन्जाओमा गैँडा लगिँदैछ । 

चितवन राष्ट्रिय निकुञ्जबाटै छवटा गिद्ध नवलपरासीको गिद्ध रेस्टुरेण्टमा केही महिना राखेर प्रकृतिमा छाडिएको छ । निकुञ्जको गिद्ध प्रजनन केन्द्रबाट ती गिद्धलाई लगिएको हो । कँडेलका अनुसार विगत लामो समयदेखि निकुञ्जमा नभएका अर्ना र बाह्रसिंगे सन् २०१७ मा नै यहाँ ल्याइएको छ । अर्ना कोशीटप्पु र बाह्रसिंगे शुक्लाफाँटाबाट ल्याइएको हो । सन् २०१७ मा अर्ना र बाह्रा सिंगेको संरक्षणका लागि पनि महत्वपूर्ण काम भएको छ । 

विसं २००७ बाट चितवन निकुञ्जबाट लोप भएको अर्नाको संरक्षणका लागि कोशी टप्पुबाट निकुञ्जमा ल्याएर संरक्षणको काम भएको उनले बताए । सदर चिडियाखाना जावलाखेलबाट तीन र कोशी टप्पुबाट १२ गरी १५ वटा अर्ना चितवन निकुञ्जमा ल्याइएको थियो ।

तीमध्ये बाढी र अन्य कारणबाट छवटा अर्ना मरेका छन् भने नौवटा सुरक्षित छन् । बाह्रसिंगे भने सातवटा ल्याइएकामा तीन मरेका र तीनवटा बाढीका कारण हराएका छन् । हाल एउटा पोथी बाह्रसिंगे मात्रै रहेको छ । 

बाहिर भएका जनवारलाई स्थानान्तरण गरेर ल्याउनु चुनौतीपूर्ण काम भएको जानकारी दिँदै कँडेलले अतिसंवेदनशील भएर जोगाउने प्रयास गरिएको बताउनुभयो । सानो खुट्टा भएको र लामो यात्रा गर्नु परेकाले बाह्रसिंगे ल्याउने क्रममा नै दबाबमा परेर मरेको उनले बताए ।

झण्डै बीस घण्टा ट्रकमा राखेर बाह्रसिंगे ल्याइएको थियो । गत बर्सात्को समयमा आएको अबिरल वर्षापछिको बाढीबाट बगेर निकुञ्जबाट भारतसम्म पुगेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको समेत उद्धार गरिनु महत्वपूर्ण काम भएको छ । बाढीले बगाएका गैँडामध्ये नौ भारतबाट र एउटा नेपालकै त्रिवेणी क्षेत्रबाट उद्धार गरी निकुञ्जमा ल्याइएको छ । 

‘यस अगाडि धेरैपटक बाढी आए तर बाढीका कारण बगेका गैँडाको उद्धार गरिएको तथ्यांक छैन’, कँडेलले भने, ‘गत वर्ष हामीले १० वटा गैँडाको उद्धार गरेका छौँ, यो इतिहासमै महत्वपूर्ण उपलब्धि हो ।’ जसका लागि भारतको वाल्मीकि टाइगर रिजर्भले समेत ठूलो सहयोग पुर्याएको कँडेलले बताए । 

विश्वमै दुर्लभ मानिएको घडियाल गोही संरक्षणमा निकुञ्ज लागिपरेको छ । राप्ती र नारायणी नदीमा रहेको एक मात्र भाले गोही मरेपछि निकुञ्जले बर्दिया गएर भाले गोही ल्याएको छ । यसका साथै भारतबाट पनि अर्को भाले गोही ल्याउने तयारी अगाडि बढिसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । 

बाहिर रहेका जनावरलाई स्थानान्तरण गरेर पुनःस्थापित गर्ने अभियानअन्तर्गत ल्याइएका जनावरमध्ये सबै जोगाउन नसके पनि समस्याका कारणलाई सुधार गरेमा आगामी दिनमा थप संरक्षण गरी बचाउन सङ्ख्या बढाउन सकिने कँडेलले बताए । 

निकुञ्जभित्र वन्यजन्तु संरक्षणका लागि घाँसेमैदान र तालको संरक्षण तथा व्यवस्थापनमा पनि गत वर्ष महत्वपूर्ण काम भएको बताउँदै उहाँले देशको पहिलो चितवन राष्ट्रिय निकुञ्ज पर्यटनको आकर्षण बढ्दै गएको बताए । 

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले सन् २०१७ मा घडियाल प्रजनन केन्द्र, गिद्ध प्रजनन केन्द्र, हात्ती प्रजनन केन्द्रलगायतका स्थानहरुको व्यवस्थापन र स्तरवृद्धि गरिएको बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै