• २०८१ बैशाख ७ शुक्रबार

मृत्युपछिको अधिकारको वकालत गर्ने ‘पापी मास्टर’ !

kharibot

काठमाडौं । साहित्यकार नवराज पाण्डेको नयाँ उपन्यास 'पापी मास्टर' भर्खरै नेपाली साहित्यको बजारमा आएको छ ।

फुटकर कथा, कविता, लेख, समालोचना हुँदै आख्यानमा हात हालेका पाण्डेको यो उपन्यासले शिक्षक, विद्यार्थी र अभिभावकहरु बीचको त्रिकोणात्मका सम्बन्धलाई एउटा शिक्षकको नजरबाट प्रस्तुत गरेको छ ।

कक्षा कोठादेखि समाजमा घट्ने घटनाहरु एवं मानवीय मनोविज्ञानलाई सहज समायोजन गरेर प्रस्तुत गरिएको यो उपन्यास २०७२ सालको प्रलयकारी भूकम्पबाट सुरु हुन्छ र विनाशकै परिणाममा गएर टुंगिन्छ ।

लेखक विगत वर्तमान र भविष्यलाई सुनौलो ढङ्गले पस्किन सक्षम भएका छन् र उनले बाँच्नको लागि गरिने मानवीय संघर्षलाई मनै लोभ्याउने पाराले प्रस्तुत गर्दै नेपाली साहित्य लेखनमा विरलै उठाइएको मान्छेको मृत्युपछाडिको अधिकारलाई उपन्यासको कथाभित्र समेटेर पाठकहरुलाई उक्त नयाँ विषयवस्तुका बारेमा एकपल्ट गहिरिएर सोच्न बाध्य तुल्याउँछन् ।

पुस्तक सबै वर्ग, तह र उमेरका पाठकहरुलाई उत्तिकै गहकिलो लाग्छ र मन छुन्छ । हरेक पाठकहरुले कुनै न कुनै पात्रसँग आफूलाई तुलना गर्छन् र पढ्दै जाँदा उपन्यासकै संसारभित्र हराउँछन् । 

लेखक : नवराज पाण्डे
विधा : उपन्यास 
मूल्य : रु. ३५०
प्रकाशक : ऐश्वर्य पब्लिकेसन
 

नेपालको कर्मचारीतन्त्रभित्रका तीतामीठा कुराहरु, पारिवारिक समायोजन एवं विचलनका घटनाहरु, सिद्धान्तका कुराहरु, दश वर्षे माओवादी जनयुद्धभित्र नदेखिएका पाटाहरु, त्यसले निम्त्याएका परिणामहरुजस्ता परिस्थितिहरुलाई एकै ठाउँमा जोडेर सयौं फूलहरुको एउटा सुन्दर मालाजस्तै बनेको छ उपन्यास पापी मास्टर ।

ज्ञानसभा कलेजको सञ्चालक एवं अंग्रेजी मास्टर कपिल शर्माको तर्फबाट प्रस्तुत गरिएको उपन्यासको कथा जति जति अगाडि बढ्दै जान्छ, त्यति त्यति रोचकता र रौनकता थपिदै जान्छन् । कुनै रमाइलो यात्रामा निस्किएको यात्रीझैँ रोमाञ्चित हुँदै जान्छ पाठकको मन पनि ।

विपरीत लिङ्गीबीचमा यौनरहित घनिष्ट प्रेम पनि हुनसक्छ भन्ने प्रेमको नौलो परिभाषा दिँदै लेखकले एउटा शिक्षकको नैतिकतालाई चट्टानी अडानको रुपमा प्रस्तुत गरेका छन् । कविता, कथा तथा निबन्धलाई उपन्यासको कलेबरभित्र समाहित गरेर लेखकले पापी मास्टरलाई नौलो प्रयोगवादी उपन्यास बनाउन चुकेका छैनन् ।

आफूले गरेको क्रियाकलापहरुलाई पापको संज्ञा दिने मास्टर वास्तवमै पापी हो वा होइन त्यो छुट्याउने जिम्मा लेखकले पाठकलाई नै छोडेका छन् ।   

  • प्रस्तुति : रामु खनाल 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै