• २०८१ बैशाख ४ मंगलबार

बागलुङमा कुष्ठरोगीको संख्या बढ्दो

kharibot

बागलुङ । जिल्लामा कुष्ठरोगी पत्ता लाग्ने क्रम बढ्दो छ । तीन वर्षअघि तीन कुष्ठरोगी भेटिएकामा अघिल्लो वर्ष पाँच र , यो वर्ष नौ कुष्टारोगीले उपचार गर्न आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लाको साविक गाविस बिनामारे, हुग्दीशिर, हटिया, पाला, हरिचौर, खुङ्खानी, जैदी, बिहुँ र बागलुङ नगरपालिकमा एक÷एक गरी नौ कुष्ठरोगी अहिले उपचारमा छन् । ‘उपचारमा पहुँच र सचेतनाका कारण कुष्ठरोगी भेटिने क्रम बढ्दो छ’ प्रशासक तिवारीले भने, ‘समयमै उपचार गर्नसके यो रोग पूर्णरुपमा निको हुन्छ ।’

कुष्ठरोगका बिरामीलाई छिटो उपचार गर्नु नै रोग नियन्त्रणको उत्तम विकल्प हो । अन्धविश्वास र बिरामीमाथि गरिने हेला र भेदभावका कारण कतिपयले रोग लुकाएर बस्ने गरेको उनको भनाइ छ । 

कुष्ठरोग समस्याका रुपमा नरहे पनि समाजमा यसको संक्रमण रहिरहने धौलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले बताए । जुनसुकै उमेर, वर्ग र समुदायका व्यक्तिलाई कुष्ठरोग लाग्ने हुँदा लक्षण देखिनासाथ जाँच गराउनुपर्ने उनको सुझाव छ ।

‘स्वस्थ शरीरमा कीटाणु प्रवेश गरेको दुईदेखि पाँच वर्षमा यसको लक्षण देखिन्छ’ चिकित्सक राजभण्डारीले भने ‘समयमै उपचार नपाए रोग बल्झने र अंगभंग हुने खतरा बढी हुन्छ ।’ उनका अनुसारमा नेपालमा अपांगता गराउनेमध्ये कुष्ठरोग एक प्रमुख कारण हो । 

प्रारम्भिक अवस्थामै रोग पहिचान भई वर्ष दिनसम्म औषधि सेवन गरे बिरामी पूर्ण निको हुने भएकाले यस्ता बिरामीलाई सरकारले निःशुल्क औषधोपचारको व्यवस्था मिलाएको छ । 


नचिलाउने रातो तथा फुस्रो दाग देखा परेमा, हातखुट्टा झमझाउने वा चेतनाशक्ति कम हुँदै जानेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । सरकारी आँकडाअनुसार अहिले नेपालमा दुई हजार ६२६ कुष्ठरोगीका बिरामी छन् । हालसम्म एक लाख ८० हजार बिरामी उपचारपछि निको भएका छन् भने ३० हजार जनाको कुष्ठरोगकै कारण अंगभंग भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै