काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।
मलेसियाले दिएको ९३ रनको लक्ष्य पछाएको नेपाली महिला टिमले १८.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि सीता मगरले ३०, रुबिना क्षेत्रीले २०, सरिता मगरले १५ र कबिता जोशीले १० रन बनाएकी थिइन् ।
यसअघि दुबईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।
मलेसियाको लागि इल्सा हन्टरले अविजित सर्वाधिक ३९ रन बनाइन् । ४८ बल खेलेकी उनले चार चौका प्रहार गरिन् । यस्तै मास इल्साले १४ र युस्रिया याकोपले १२ रनको योगदान गरिन् ।
टस जितेर फिल्डिङ गरेको नेपालको लागि सब्नाम राईले सर्वाधिक दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी राईले १ मेडन राख्दा २७ रन खर्चेकी थिइन् ।
यस्तै कप्तान रुबिना क्षेत्री, कविता कुँवर र सीता राना मगरले समान १–१ विकेट लिए ।
नेपाल मलेसियालाई हराउँदै ग्लोबल छनोटको सम्भावना कायम राखेको छ । मलेसियामाथिको जितपछि नेपाल ४ खेलमा तेस्रो जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।
तालिकामा शीर्षस्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ भने ग्लोबल छनोटको शीर्ष दुई टोली विश्वकपमा स्थान बनाउनेछन् ।