• २०८१ बैशाख ७ शुक्रबार

जितजंग बस्नेत भन्छन्- देउवा र पौडेललाई गाली गरेर कांग्रेस बन्दैन

kharibot

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत कांग्रेसको १४औं महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सानै उमेरमा नेपाल विद्यार्थी संघमा आबद्ध बस्नेतले त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइको अध्यक्षका रूपमा रहेर काम गरें । नेविसंघको महामन्त्रीसमेत भए । अहिले तरुण दलको केन्द्रीय अध्यक्ष छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा रहेका बस्नेत यो महाधिवेशनलाई एकताको महाधिवेशन भन्न रुचाउँछन् । यतिबेला कांग्रेसमा गुटफुट नभई जो जसले जिते पनि त्यसलाई स्वीकारेर जानुपर्ने भन्छन् । हार्नेलाई जित्ने पक्षले सहयोग र काम गर्ने अवसर दिनुपर्ने उनको तर्क छ । अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिनबाट वञ्चित भएका उनी अहिले संस्थापन पक्षबाट उम्मेदवारी दिँदैछन् । केन्द्रीय सदस्यमा आफूले जित्ने विषयमा उनी विश्वस्त छन् । महशाधिवेशनका विषयमा केन्द्रित रहेर न्युज कारखानाले गरेको कुराकानी :

महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ, कस्तो छ तयारी ?

राजनीतिमा निष्ठा र इमान्दारी महत्वपूर्ण हुन्छ । म त्यही निष्ठा र इमान्दारीको राजनीति गर्न मैले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।

मैले राजनीतिमार्फत जे जे दिनुपर्ने हो त्यो राजनीतिक दलमा रहेर गर्दै आएको छ । नेपाली कांग्रेसको एउटा सक्रिय कार्यकर्ता हुँ । केन्द्रीय समितिमा जान चाहेको त्यही निष्ठा र इमान्दारीका कारण हो । युवा साथीहरूको भावना र चाहना पूरा गर्न पनि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । युवाहरूको भावना र चाहना मैले बुझेको छु । समस्त युवाहरूको चाहना र भावनालाई पार्टीको केन्द्रीय समितिमा राख्न सक्छु, संगठनलाई बलियो बनाउन सानो भए पनि भूमिका निभाउन सक्छु भनेर उम्मेदवारी घोषणा गरेको हुँ ।

तपाईले केन्द्रीय सदस्यमा जित्ने आधार के हो ?

मैले अहिलेसम्म नेविसंघ र तरुण दलमा रहेर जे जसरी काम गरें, सबैले देखेका छन् । अघिल्लो केपी ओली सरकारको निरंकुशता र भ्रष्टाचारविरुद्ध जसरी ७७ रै जिल्लामा विरोध प्रदर्शन मेरै नेतृत्वमा भएको थियो त्यसलाई आमकांग्रेसीले सराहनीय मानेका छन् । 

तीनै तहको निर्वाचनपछि कांग्रेसको आकार खुम्चेको अवस्था थियो । नेताहरू निराश थिए । त्यस्ता अवस्थामा पनि तरुण दलले कम्युनिस्ट सरकारको गलत कामको देशव्यापी भण्डाफोर गरेको कसैले बिर्सेको छैन । नेपालमा कम्युनिस्ट तानाशाही लाद्ने, संविधानविरुद्धका क्रियाकलाप गर्ने, राज्यकोषको मनपरी दोहन गर्ने काम जसरी अघिल्लो ओली सरकारले गरेको थियो, त्यसको विरोध गर्न टाउकोमा कफन बाँधेर म सडकमा उत्रिएको सबैले देखेजाने बुझेकै कुरा हो । हाम्रो सशक्त प्रतिवादका कारण ओली सरकार केही हदसम्म गलत काम गर्नबाट पछि हटेको हो । नेपाली कांग्रेसको साहस र ऊर्जा बढाउन हामीले केही न केही आन्दोलन गरेकै हौं । त्यसैले युवा तरुण मात्र होइन, पार्टीका पुराना नेताहरूले पनि मलाई केन्द्रीय सदस्यमा मत दिएर जिताउनु हुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।

तरुण दलले पूर्णता नपाई तपाईको कार्यकाल पूरा भयो नि ?

तरुण दलको कार्यसमितिले पूर्णता नपाए पनि सम्पूर्ण जिल्लामा तरुण भेला, प्रशिक्षण गरेका छौं । पार्टीमा देखिएको गुटगत व्यवहारले तरुण दलले पूर्णता नपाएको हो । सभापतिले पटक पटक चाहनु भएको थियो । तर, भागबन्डाका कारण त्यो सम्भव हुन सकेन । पार्टी केन्द्रीय सभापतिबाहेक कुनै नेताले पनि तरुण दलको कार्यसमितिले पूर्णता पाओस् भनेर  चाहेको देखिएन । अध्यक्ष भएकाले त्यसको मैले जिम्मेवारी लिनै पर्छ । कार्यसमितिले पूर्णता नपाएकोमा मैले आत्मालोचना गर्नै पर्छ । कांग्रेसको महाधिवेशनपछि लगत्तै तरुण दलको महाधिवेशन गर्ने विषयमा पार्टी नेतृत्व सहमत भएको छ । त्यसपछि तरुण दल सशक्त ढंगले अघि बढ्छ ।

तपाईको एजेन्डा के हो ?

सामाजिक न्यायसहितको आर्थिक समृद्धिको नेतृत्व गर्नुपर्ने, त्यो भावनालाई लिएर अघि बढेको छु । विभिन्न जात, समुदाय, उत्पीडित वर्ग, धर्म, संस्कृतिलाई जोडेर समावेशी विकासको सुनिश्चितता अघि बढाउनुपर्ने मेरो राजनीतिक ध्येय हो । नेपालका युवारूलाई उद्यमशील बनाउने, भविष्यको पुस्तालाई समान र उच्चस्तरको शिक्षा नेपालमै दिलाउने, सबै नागरिकमा उपचारको सहज र पहुँच पु¥याउने मेरा सपना हुन् । त्यो सपना पूरा गर्न पनि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ । 

नेपाली कांग्रेसको नेतृत्वमै संविधान जारी भएको हो । नेपालको संविधानलाई संस्थागत गर्दै सामाजिक न्याय र आर्थिक समृद्धि अघि बढाउने ऐतिहासिक जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ । पार्टीको नेताहरूलाई गाली गर्ने, उनीहरूको अपमान गर्ने पक्षमा म छैन । पार्टीलाई बदनाम बनाएर मेरो राजनीतिक करियर अघि बढ्दैन ।

युवा पुस्ताको ऊर्जालाई पुरानो पुस्ताले लिन सक्नुपर्छ भने पुरानो पुस्ताको योगदानलाई नयाँ पुस्ताले सम्मान गर्नसकेमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ । त्यसैले महाधिवेशनमा पराजित हुनेको मुटु जित्नेले लिन सक्नुपर्छ । किनभने हार्नेको मुटु दुखेको हुन्छ । त्यसमा जित्नेले सान्त्वना दिँदै अघि बढेमा नेपाली कांग्रेस एकढिक्का हुन्छ । पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले हारजितलाई सामान्य रूपमा लिनुपर्छ । 

कांग्रेस केन्द्रीय समितिमा ललितपुर धेरै पछि छ नि ?

मेरो घरै ललितपुर हो । ललितपुरमा धेरै ठूल्ठूला नेता हुनुहुन्थ्यो । बेनीबहादुर कार्की, योगेशप्रसाद उपाध्याय, किशुनजी, ओमकार श्रेष्ठ, बासु रिसाल ललितपुरकै नेताहरू कांग्रेसको केन्द्रीय कार्यसमितिमा हुनुहुन्थ्यो । तर धेरै लामो समयसम्म केन्द्रीय कार्यसमितिमा ललितपुरबाट प्रतिनिधित्व हुन सकेको छैन । यसपटक धेरै साथीहरू ललितपुरबाट केन्द्रीय कार्यसमितिमा आउन उम्मेदवारी दिँदै हुनुहुन्छ । उहाँहरू राम्रै स्थानमा आउनु हुन्छ भन्ने लाग्छ । 

कांग्रेसमा अबको सभापति को हो ?

सबै नेता त्यागी हुनुहुन्छ । कसैको योगदानलाई कम आँक्नु हुन्न । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत सबै मूर्धन्य नेता हुनुहुन्छ । हिजो केपी ओलीको निरंकुश सत्ता ढाल्न कांग्रेसका शीर्ष नेताहरू मात्र होइन, देशका बुद्धिजीवी, पूर्वप्रधानन्यायाधीश, कानुन व्यवसायी, कर्मचारी, प्राध्यापक वर्ग, विभिन्न दलले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । देउवाले कांग्रेसको महाधिवेशन आइरहेको छ । म प्रधानमन्त्री बन्दिनँ भन्दा उहाँ धर पाउनु भएन । त्यसैले अहिले देउवा निर्विकल्प नेता हुन् । उहाँकै नेतृत्वले मात्र कम्युनिस्टलाई चुनौती दिन सक्ने देखिएको छ । कांग्रेसको १४औं महाधिवेशनमा देउवालाई फेरि जिताएर उहाँले गर्न बाँकी अधुरा काम पूरा गर्न दिई विश्राम लिन लगाउनु पर्छ । त्यसपछि दोस्रो तेस्रो पुस्ता जो आउँदा पनि फरक पर्दैन । किनभने कांग्रेस त्यसबेलासम्म एउटा सिस्टममा गइसकेको हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै