• २०८१ बैशाख ६ बिहीबार

माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ : सामाजिक परिचालक संघ 

kharibot

काठमाडौं । १८ दिनदेखि आन्दोलनमा रहेका नेपाल सामाजिक परिचालक संघले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । खरीबोटसँग कुरा गर्दै आन्दोलन परिचालन समितिकी संयोजक मनिषा विमलीले आफ्ना मागहरु सान्दर्भिक भएको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएकी हुन् । 

१९ दिनसम्म सरकारले आफूहरुको मागहरुलाई बेवास्ता गरेको भन्दै उनले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेकी छन् । ‘नौ वर्षसम्म काम गरेका सामाजिक परिचालकहरुलाई आज आएर तिम्रो काम छैन भन्नु कस्तो निर्णय हो ?’, उनले प्रतिप्रश्न गरिन् ।

हिजो जनप्रतिनिधि आउँदा खुसी लागेको र  उत्साहपूर्वक निर्वाचनको काममा खटिएको बताउने विमलीले बदलामा जनप्रतिनिधि ल्याउनु अभिशापजस्तै भएको बताइन् । ‘सरकारले आफूहरुबीच अन्यार्यपूर्ण निर्णय गरेको छ’, विमलीले भनिन् । 

डीएसपी आफैँले हात हाले

गत माघ १७ गते बुधबार प्रहरीले सामाजिक परिचालकको आन्दोलनमा दमन गर्दा एक दर्जन सामाजिक परिचालकहरु घाइते भएका छन् । माइतीघरबाट बानेश्वरतिर जाँदै गरेको जुलुसमा बिजुलीबजार नजिकै अगाडि पुग्दै गर्दा प्रहरीले जुलुसमाथि दमन गर्दा सामाजिक परिचालकहरु घाइते भएका हुन् ।

आफूहरुले निषेधित क्षेत्रभन्दा वर नै हुँदा आफूहरुमाथि सिंहदरबार वृत्तका प्रहरी नायब उपरीक्षक डीएसपी अपिल बोहोराले नै हात हालेपछि आन्दोलन तनावग्रस्त बनेको आन्दोलनरत परिचालकहरुले जानकारी दिएका छन् ।

घाइते हुनेमा सबै महिलाहरु रहेको सामाजिक परिचालक कर्मचारी संघले जनाएको छ । घाइते हुनेहरुमा म्याग्दीका तेजकुमारी बानियाँ, गोरर्खाका रिता अधिकारी, शारदा भट्टराई, नुवाकोटका कोपिला गुरुङ, सुमिना थिङ तामाङ, काठमाडौंका श्रुति गुरागाई र गुल्मीको कबिता थापा र रमा क्षेत्री घाइते भएका हुन् । 

घाइते हुनेहरुको हात, खुट्टा, ठाउँको र शरीरमा चोट लागेको थियो । सामाजिक परिचालक संघमा ८० प्रतीशत महिला रहेका छन् । गत पुस १४ गते बसेको राज्यमन्त्रीस्तरीय बैठकले सामाजिक परिचालक कर्मचारीहरुलाई प्रतिस्पर्धाबाट आउन माग गर्दै सेवाबाट हटाएको थियो । विगत १९ दिनदेखि उनीहरु आन्दोलनमा छन् ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ । 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै