• २०८१ बैशाख ६ बिहीबार

स्वराजको काठमाडौँ यात्रा : कोर्स करेक्सन भारतको कि ओलीको ?

kharibot

काठमाडौं । नयाँ सरकार नबन्दै भारतीय विदेशमन्त्री सुष्म स्वराजले वेटिंग प्रधानमन्त्रीको रुपमा रहेका ओलीसँग वान टु वान भेटवार्ता गरेकी छन् । स्वराजले काठमाडौँ ओर्लिएपछि सबैबह्न्दा पहिला ओलीलाई भेट गरेकी हुन् । होटल सोल्टीमा पहिले ओलीसँग एक्लै र त्यसपछि एमाले नेताहरुसँग स्वराजले सामुहिक भेट गरेकी हुन् ।

विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष ओलीलाई बहालवाला प्रधानमन्त्रीलाई जस्ता महत्व दिएर भेट गरेकी छन् ।

साथै भेटवार्तापछि एमाले अध्यक्ष ओली र एमाले नेताहरुले होटल सोल्टीमा रात्रीभोज सहित स्वराजलाई भव्य स्वागत र सम्मान पनि गरेका छन् । 

नेपालले चाहेर वा औपचारिक रुपमा निमन्त्रणा दिएर भन्दा पनि सरकार बन्नु अघि मोदीको विशेष दुतको रुपमा स्वराजको यस भ्रमणले नेपाली राजनीतिमा धेरै ठुलो अर्थ राख्ने देखिएको छ । 

घटनाक्रम हेर्दा ओली र एमालेको चाहना अनुसार नै स्वराजको यो भ्रमण भएको सजिलै अनुमान गर्न सकिन्छ । 

यस अघि स्वराज काठमाडौँ आउदा ओली जानी जनै काठमाडौँ बाहिर गएका ओली यस पटक आफै बोलाएर स-सम्मान भेट्नु र वान टु वान भेट्नुलाई निकै अर्थपूर्ण र ओलीको भारत प्रतिको यु-टर्नको रुपमा हेरेका छन् ।  पौनेघण्टा एक्लाएक्लै भएको भेटमा ओली र स्वराजबीच के कुराकानी भयो भन्ने सार्बजनिक नभएपनि तर नाकाबन्दीपछि भारतसँग कडा रुपमा प्रस्तुत हुँदै आएका ओली र ओलीसँग सशंकित हुँदै आएको भारतबीच विश्वासको वातावरण बढाउने विषयमा छलफल भएको प्रष्ट बुझ्न सकिन्छ । साथै ओली र भारत दुवैले कोर्स करेक्सन गरेको घटनाको रुपमा पनि यसलाई बुझ्न सकिन्छ । 

ओलीको राष्ट्रवाद र लम्सारवादको निरन्तरता :

एमाले अध्यक्ष ओली भारतीय नाकाबन्दी पछि नेपाली राजनीतिमा एक राष्ट्रवादी छबीको रुपमा उभ्रिएका नेता हुन् । उनले एकोहोरो रुपमा भारतको नेपालमा हुने हस्तक्षेपको विरोध गरिरहे । आम जनताले पनि ओलीलाई कहिँ न कहिँ सोहि राष्ट्रवादी आवरणमा नै मत दिएको हो । उनले राखेका कैयौ अडान राष्ट्र हितमा मात्र थिएनन् देशलाई दुरगामी रुपमा राम्रो प्रभाव पार्ने खालका पनि थिए । तर अहिले सरकारको नेतृत्व गरेर सिंहदरबार जानै लाग्दा ओली फेरी लम्पसारवाद बनेको जस्तो देखिएको छ ।

हुन त ओलीलाई पहिला भारतकै नजिकको भनेर नै भनिन्थ्यो तर उनि त्यस आरोपबाट बाहिर आउन खासगरी नाकाबन्दी पछि खुबै मिहिनेत गरे र सफल पनि भए । तर एक्कासी अहिले भारतसँग काधमा काध मिलाउने ओलीको रणनिति सत्तामा पुग्न दक्षिणको आशिर्वाद अपरिहार्य नै हो भन्ने बलियो प्रमाण बनेर आएको छ । तिनै स्वराज केहि महिना अघि काठमाडौँ आउदा नभेटेका ओलीले व्यग्यात्मक रुपमा भनेका थिए-‘म त सानै देशको भएपनि प्रतिपक्ष दलको नेता हुँ मलाई चिया खान बोलाउने ?’ उनको यो अभिव्यक्तिमा दम थियो । तर स्वराज आउदा चिया खान बोलाएको भनेर भेट नगरेका ओलीले अहिले तिनै स्वराजलाई बोलाएर खान खुवाएका छन् । त्यसैले ओलीले भारत विरोधी छबीलाई बनाएर सत्तामा पुग्ने हतियार बनाए र अहिले आफै लप्सार परेको प्रष्टै देखिएको छ ।

एजेन्डाविहिन भ्रमण :

चुनावमा नयाँ समीकरण बनाएर बहुमत ल्याएको वाम गठबन्धनले सरकार नबनाउँदै काठमाडौँ आएकी स्वराजले आफु छुट्टै एजेन्डा लिएर नेपाल भ्रमणमा नआएको बताएकी छन् ।नयाँ सत्ता समीकरण र वाम गठबन्धनको नेतृत्वमा बन्न लागेको नयाँ सरकारसँग सहकार्य गर्नका लागि आफु काठमाडौँ आएको स्वराजको दाबी छ । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग भारतीय विदेशमन्त्री स्वराजले भनिन्- ‘यो भ्रमणमा छुट्टै केही एजेन्डा छैन, छिमेकी देशका नेताहरुसँग मिल्न आएकी हुँ ।’

छिमेकीसँग मिलेर काम गर्न तयार – ओली 

एमाले अध्यक्ष ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् । 

भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग विहिबार साँझ भएको भेटमा अध्यक्ष ओलीले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार, सूचना प्रविधिलगायत क्षेत्रमा भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताए । 

भेटमा उनले भारतसँग घनिष्ठतापूर्वक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

अध्यक्ष ओलीले नेपालको लोकतान्त्रिकीकरणमा भारतले गरेको सहयोगप्रति आभार प्रकट गर्दै अब बन्ने नयाँ सरकार शान्ति र समृद्धिका निम्ति क्रियाशील रहने बताए ।  सो अवसरमा भारतीय विदेशमन्त्री स्वराजले नेपालमा हालै सफलतापूर्वक सम्पन्न भएको निर्वाचनका लागि नेपाली जनतालाई र निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलताका लागि बधाई दिनुभएको सचिव ज्ञवालीले जानकारी दिए । 

कोर्स करेक्सन भारत को की ओलीको ?

भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमणलाई भारतीय पक्षको कोर्स करेक्सनको रुपमा ब्याख्या गरिएको भएपनि यो भ्रमण ओलीको भारतसँगको पनि कोर्स करेक्सनको रुपमा हेर्न सकिन्छ । 

केहिदिन अघि सम्मपनि भारत प्रति अत्यन्त कडा देखिएका ओली बिचमा दुई दुई पटक भारतीय प्रधानमन्त्री मोदीसँग फोनवार्ता हुनु र अहिले विदेशमन्त्री स्वराजको भ्रमण अत्यन्त तरल अवस्थामा हुनुले अब ओली र भारतको सम्बन्ध नयाँ किसिमले अगाडी बढ्न खोजेको देखिएको छ ।

छिमेकि देशसँग कुनै नेता या अब हुनेवाला प्रधानमन्त्रीको सम्बन्ध राम्रै हुनुपर्छ तर चुनाव जित्न जुन पृष्ठभुमिको प्रयोग अध्यक्ष ओलीले गरे र अहिले सरकार नबन्दै भारतीय विदेशमन्त्रीलाई बोलाएर वान टु वान वार्ता भयो यसले हामी कति सार्वभौम छौ र नेताहरुको बोलि र काम गराईमा कति अन्तर छ भन्ने देखिन्छ । त्यसैले स्वराजको भारत भ्रमणलाई भारतको नेपाल प्रतिको कोर्स करेक्सन मात्र भन्दा राष्ट्रवादी नेता ओलीको भारतप्रतिको कोर्स करेक्सनको रुपमा बढी रहेको देखिन्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै