• २०८१ बैशाख ७ शुक्रबार

डिल्लीरमण रेग्मीकी छोरी अवन्तिका पक्राउ

kharibot

काठमाडौँ । आफ्नो अधिकारका लागि सरकारसंग लडाईं लड्दै आएकी स्वर्गीय नेता डा. डिल्लीरमण रेग्मीकी छोरी अवन्तिका रेग्मीलाई आज प्रहरीले पक्राउ गरी केही घण्टा थुनामा राखेको छ ।

चार घण्टा उनलाई थुनामा राखी प्रहरीवृत्त दरबारमार्गले रेग्मीलाई दिउसो ४ बजे रिहाई गरेको अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । लुईंटेल रेग्मीलाई कानुनी सहायत उपलब्ध गराइरहेका छन् ।

स्वर्गीय रेग्मीले स्थापना गरेको डिल्लीरमण रेग्मी कल्याणी रेग्मी पुस्तकालयको निर्देशनमा छोरी रेग्मीलाई आफ्नै घरबाट पक्राउ गरी दरवारमार्गस्थित प्रहरी वृत्तमा राखिएको थियो ।

स्वर्गीय रेग्मीको जन्मोत्सवको अवसरमा पुस्तकालयले आयोजना गरेको कार्यक्रममा होहल्ला गरी अवरोध गरेको आरोपमा प्रहरीले लछारपछार गर्दै उनलाई पक्राउ गरेको थियो । नातिनीलाई छोरीको रुपमा ग्रहण गरेका स्वर्गीय रेग्मीले आफ्नो सम्पत्ति समेत शेषपछिको बकसपत्र गरिदिएका थिए । सरकार र उनीबीचको मुद्दा अदालतमा चलिरहेको छ ।

कार्यक्रममा आफ्नो सम्पत्ति पुस्तकालयले हडपेको भन्दै अवन्तिका रेग्मीले होहल्ला गरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो । उनले कार्यक्रममा उपस्थित भएका प्रमूख अतिथि शिक्षा प्रविधि तथा विज्ञान मन्त्री देवेन्द्र पौडेलविरुद्ध नाराबाजी गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनाहकमा चारघण्टा प्रहरी वृत्तमा राखिएको विरुद्धमा कानुनी कारबाही गर्ने पनि रेग्मीले बताइन् ।

पुस्तकालयले आफ्नो स्वर्गीय पिताको अपमान गरेको, असफल राजनीतिज्ञ भनी स्वर्र्गीय डा. रेग्मीविरुद्ध कुप्रचार गरेको भन्दै सम्पत्तिका लागि भूमाफियाहरुले आफूलाई दुःख दिएको पनि रेग्मीको आरोप छ ।

आवतजावतमा समेत पुस्तकालयले समस्या सिर्जना गरेपछि उनले गत भदौमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन ।

स्वर्गीय रेग्मीले पुस्तकालयलाई छोरी अवन्तिका रेग्मीको शेषपछि पाउने गरी पुस्तकालयको नाममा काठमाण्डौं जिल्ला लाजिम्पाट वडा नं. २ कि नं. १३६ को जग्गा दिएपनि आफ्नो जीवनकालमै कित्ताकाट गरी पुस्तकालयको नाममा हक हस्तान्तरण गरी लिएपछि उनले सर्वोच्च अदालतमा चुनौति दिएकी हुन् ।

रेग्मीको रिटमा सर्वोच्च अदालतबाट २०७८ भाद्र ३१ मा अन्तरिम आदेश जारी भइसकेको छ । 

आफ्नो जीवनकालमै उक्त जग्गा कित्ताकाट गरी पुस्तकालयको नाममा जान नसक्ने दावी समेत रिटमा गरिएको छ भने उक्त सम्पत्तिको दुरुपयोग गरेको विरुद्धमा काठमाण्डौं जिल्ला अदालतमा दायर गरेको मुद्दा विचाराधिन अवस्थामा छ ।

अदालतमा चलिरहेको मुद्दाको विषयमा प्रहरीले हस्तक्षेप गर्नु असोभनीय भएको बताउंदै पुस्तकालय र प्रहरी विरुद्ध अदालतको अवहेलनाको मुद्दा समेत दायर हुनसक्ने अधिवक्ता लुईंटेलले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै