• २०८१ बैशाख ४ मंगलबार

देउडा गायनमा भविष्य खोज्दै सुनिल नेपाली

kharibot

काठमाडौं । हरेक मान्छेले आफूले चाहेको विषयमा अगाडि बढेर त्यही क्षेत्रमा भविष्य खोजिरहेको हुन्छ । प्रायः व्यक्तिहरु एसएलसीपछि आफ्नो रुचिको विषयलाई मुख्य बनाएर पढ्छन् र अगाडि बढ्छन्, जसले उनीहरुलाई आफूले चाहेको गन्तव्यतिर दिशानिर्देश गर्दछ तर नेपालजस्तो देशमा भने त्यो लागू हुँदैन ।

नेपालका हरेक जिल्लामा त्यो सुविधा पुगिसकेको छैन । सोही कारण कतिपय विद्यार्थीहरु आफूले इच्छाएको विषय पढ्नबाट वञ्चित हुनुपरिरहेको छ । तिनैमध्येका एक हुन् सुनिल नेपाली ।

सुदूरपश्चिमको बझाङमा जन्मिएका नेपालीले संगीत पढ्न चाहेका थिए । तर, उनको पारिवारिक तथा आर्थिक समस्याले उनले चाहेको विषय अथवा संगीत पढ्न पाएनन् । संगीत पढ्न नपाएपछि उनले व्यवस्थापनमा भर्ना गरे । व्यवस्थापन पढ्दै गर्दा उनले गायनमा पनि आफूलाई निखार्दै लगेका थिए स्थानीय क्षेत्रमा हुने स्टेज कार्यक्रमबाट ।

केही समयअगाडि उनले कैलालीमा भएको पहिलो प्रतिस्पर्धा सुदूरपश्चिम आइडलमा सहभागी भए । उनले देउडा र आधुनिक गीत गाएका थिए त्यहाँ । जसमा उनको स्वरले निर्णायकहरु र श्रोताको मन जित्यो । फलस्वरुप त्यो प्रतिस्पर्धाको विजेता बन्न सफल भए ।

‘जीवनको लक्ष्य नै देउडामार्फत आफ्नो भाषा संस्कृति जोगाउनसक्ने गायक बन्न सकूँ भनेर हिँडेको छु’, उनी भन्छन् ।  

स्वर बेच्ने स्थानको खोजीमा भौँतारिँदै

अहिले उनी काठमाडौंमा छन् । उनले केही समयअगाडि पद्मोदयमा बीबीएसमा भर्ना भएका छन् । र काठमाडौंमा आफ्नो स्वर बेच्ने स्थान खोज्दै छन् । नवगायनको क्षेत्रमा आफ्नो भविष्य खोज्दै छन् नेपाली । सुनिल बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर १ देउरामा जन्मिएका हुन् । उनले आफू पढ्दै गरेको स्कुलबाट नै गायन सुरु गरे । उनी विभिन्न गायन प्रतियोगितामा पनि सहभागी भएर विजयी पनि भए । सुनिलले पहिलो पटक २०७२ मा राष्ट्रिय स्तरको प्रतियोगिता जितेका थिए ।

देशैभरका विभिन्न विधासँग सम्बन्धित विद्यार्थीहरुका लागि सुरु गरिएको कार्यक्रम नवप्रतिभा छनौट २०७२ का विजेता हुन् नेपाली । उनले पुरस्कारस्वरुप प्रमाणपत्रसहित २५ हजार नगद पाएका थिए । उनले त्यो कार्यक्रममा सहभागि हुनुअघि नै बझाङका विभिन्न विद्यालयस्तरका वा अन्य ठाउँमा भएका प्रतिस्पर्धामा सहभागी हुने गरेको बताउँछन् । उनी सानै उमेरदेखि स्कुलका कार्यक्रम हुन् वा गाउँको कुनै कार्यक्रम गीत गायर सबैको मन जित्ने कलाकार हुन् ।

सुदूरपश्चिम आइडल

सुनिल केही समयअघि मात्रै सुदूरपश्चिममा सम्पन्न पहिलोे सुदूरपश्चिम आइडलका विजेता पनि हुन् । सो कार्यक्रम तिलक फिल्म्स प्रालिले सञ्चालन गरेको कार्यक्रम हो । सो कार्यक्रम जितेपछि सुनिलको स्वरमा पहिलो गीत सार्वजनिक भयो । ‘आउन माया काखैमा बसन’ भन्ने देउडामा सुनिल नेपालीको स्वर रहेको छ । 

पहिलो स्टेज कार्यक्रम

सुनिल देउडा गायक कडक नेपालीका छोरा हुन्। कडक अघिल्लो पुस्ताका देउडा गायक हुन् । उनले आठवटा देउडा गीत गाएका छन् । सुनिलका लागि उनका बुबा नै प्रेरणाका स्रोत हुन् । ‘म सानो उमेरदेखि नै गायन क्षेत्रमा रमाउन चाहने बालक थिएँ’, उनले खरीबोटसँग भने । उनी आफूले स्कुलमा हुने हरेकजसो कार्यक्रमा गीत गाएको बताउँछन् । एउटा घटना उनी सम्झिन चाहन्छन्, जसले उनलाई गीत गाउन उत्साहित गर्यो ।

बुबासँग नजिकैको गाउँको स्कुलमा भइरहेको वार्षिक उत्सव कार्यक्रममा अतिथिको रुपमा बोलाउँदा उनी पनि गएका थिए । जहाँ उनलाई गीत गाउन लगाइएको थियो । त्यो गीत वरिष्ठ देउडा गायक भुवन दाहालको ठाडी भाका थियो । ‘आमा म जिउँदो छु’, गीत गाएका थिए । त्यो नै उनको पहिलो गीत थियो, जहाँ उनले सान्त्वनास्वरुप केही रकम पनि पाएका थिए ।

सुनिलको गायन भने स्कुलका कार्यक्रमबाटै सुरु भएको हो । उनी कक्षा १ देखि ८ सम्म गाउँकै रातापानी उच्च माविमा पढेका हुन् भने पछि सदरमुकामै रहेको सत्यवादी उच्च माध्यमिक विद्यालयमा भर्ना भए । जसले उनलाई चैनपुरका जनतामाझ गीत गाउने अवसर पनि दियो । सदरमुकाममा हुने प्रायःजसो कार्यक्रममा उनले गीत गाएर श्रोताहरुको मन जित्थे । 

पहिलो पुरस्कार 

पछि जिल्लास्तरीय नवप्रतिभा छनौट कार्यक्रम भयो । जसमा उनले गायन तर्फको पुरस्कार जिते । उनको प्रतिस्पर्धा बझाङमै सीमित रहेन क्षेत्रीय स्तरको प्रतिस्पर्धा भयो । जसमा सुदूरपश्चिमका हरेक जिल्लाका ५÷५ जना कलाकारहरु थिए । धनगढीमा भएको नवप्रतिभा छनौटबाट उनी सुदूरपश्चिमबाट देउडाको नेतृत्व गर्दै काठमाडौंसम्म आइपुगे । काठमाडौंबाट उनले एक अर्को सफलता हात पारे । सो प्रतियोगिताको पुरस्कार जित्न सफल भए । उनले प्रमाणपत्रसहित २० हजार रुपैयाँ पाएका थिए । 

धनगढीमा सञ्चालन हुने सुदूरपश्चिम महोत्सवमा पनि सुनिलले गीत गाउने गरेका छन् । त्यस्तै महेन्द्रनगर, अत्तरिया, दिपायललगायत ठाउँका महोत्सव कार्यक्रममा गीत गाएका छन् । 

आर्थिक अभाव

सुनिल आफ्नो घरको आर्थिक स्थितिले आफू गायन क्षेत्रमा अगाडि बढ्न नसकेको समस्या सुनाउँछन् । ‘घरपरिवारले सकेको भए यसअघि नै काठमाडौं आएर संगीतको कक्षा लिन्थे । तर, अहिले बल्लबल्ल यहाँसम्म पुगेको छु । सकेसम्म राम्रो गीत बजारमा ल्याउने कोसिस गर्नेछु ।’ आर्थिक समस्याले गर्दा अडियोमा निकालेको गितलाई समेत भिडीयो बनाउन नसकेको उनको गुनासो छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै