काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल श्रीलंकासँग पराजित भएको छ । आइतबार यूएईको सारजाहमा सम्पन्न खेलमा श्रीलंकाले नेपाललाई ६० रनले पराजित गरेको छ ।
श्रीलंकाले दिएको ३२३ रनको लक्ष्य पछाएको नेपालले ४७.५ ओभरमा २६२ रन बनाउदा अल आउट भएपछि नेपाल पराजित भएको हो ।
नेपालका लागि अर्जुन साउदले सर्बाधिक ६४ रन बनाएका छन् भने बिबेक यादवले ४६ रन बनाएका थिए । त्यस्तै बसिर अहमदले ४३ रन बनाए भने सन्तोष कार्कीले ३४ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनाएको थियो ।
श्रीलंकाका लागि सदिशा राजापाक्षले १३१ रन बनाएका थिए भने चमिन्दु विक्रमासिंघेले १११ रन बनाएका थिए ।
नेपालका बलर मोहमद आदीलले २ विकेट लिए भने देव खनाल र विवेक यादवले एक एक विकेट लिएका थिए । नेपालले यस अघि पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो ।
यो हारसँगै नेपाल सेमिफाइनलमा पुग्न असफल भएको छ । नेपालले एक खेल खेल्न बाँकी हुँदै सेमिफाइनलमा नपुगी प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आफ्नो समुहको अन्तिम खेलमा मंगलबार कुवेतसँग खेल्ने छ ।