• २०८१ बैशाख ७ शुक्रबार

बलिवुडका दिवंगत अभिनेता राजकुमारका रोचक किस्सा !

kharibot

काठमाडौं । दिवंगत अभिनेता राजकुमारका कैयौं किस्सा बलिउडमा लोकप्रिय छन् । जब उनी संवाद बोल्थे, थिएटरमा तालीको गडगडाहट हुन्थ्यो । उनको फिल्मले दर्शकको मन जित्थ्यो ।

राजकुमार आफ्नो बोलीका लागि प्रख्यात थिए । गोविन्दादेखि लिएर रामानन्द सागरसम्मका बारे उनले बोलेका कुरा लोकप्रिय बनेका थिए । उनी यस्ता कलाकार थिए, जसले कुकुरलाई पनि ‘के तिमी फिल्ममा अभिनय गर्छौ ?’ भनेर सोधेका थिए । यहाँ उनका तीन किस्सा प्रस्तुत गरिएको छ ।

राजकुमारले एकपटक गोविन्दाको सर्टलाई रुमाल बनाएका थिए । ८० को दशकको कुरा हो, त्यो समयमा गोविन्दा र राजकुमार फिल्म ‘जंगबाज’को सुटिङ गरिरहेका थिए । आफ्नो सट दिएपछि गोविन्दा राजकुमारसँग बसेका थिए । गोविन्दाले जुन सर्ट लगाएका थिए, त्यो राजकुमारलाई मन परेको थियो । जसै राजकुमारले गोविन्दालाई उनको सर्ट मनपरेको बताए, गोविन्दाले तुरुन्तै सर्ट खोलेर राजकुमारलाई दिए । तर केही दिनपछि राजकुमार गोविन्दाको त्यही सर्टको रुमाल गोजीमा राखेर घुमिरहेका थिए ।

फिल्म ‘आँखें’मा रामानन्द सागर राजकुमारलाई कास्ट गर्न चाहन्थे । तर राजकुमारलाई फिल्मको कथा मनपरेन । उनले आफ्नो पाल्तु कुकुरलाई सोधे– के तिमी यो फिल्ममा काम गर्न चाहन्छौ ? त्यसपछि उनले रामानन्दलाई ‘देख्यौं । यो भूमिका मेरो कुकुरले पनि गर्न मानेन’ भन्दै जवाफ दिएका थिए ।

राजकुमारले एक फिल्म निर्माताको ‘दुर्गन्ध’का कारण छाडेका थिए । त्यो फिल्म ‘जंजीर’ थियो र यसपछि उनको स्थानमा अमिताभ बच्चनलाई लिइयो । प्रकाश मेहरा यो फिल्ममा राजकुमारलाई लिन चाहन्थे र यसका लागि उनी प्रस्ताव लिएर राजकुमारसँग पुगे । तर राजकुमारले उनलाई ‘तिमीबाट बिजनौरी तेलको दुर्गन्ध आइरहेको छ । म फिल्म त टाढाको कुरा भयो, तिमीसँग एक मिनेट पनि बस्न सक्दिनँ’ भन्ने जवाफ दिएपछि प्रकाश त्यहाँबाट हिँडेका थिए ।

(एजेन्सीहरुको सहयोगमा) 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै