• २०८१ बैशाख ८ शनिबार

सफल हुदै चारपाङ्ग्रे सवारीसाधन प्रतिबन्ध : व्यस्त भए भरिया र रिक्सा चालक 

kharibot

काठमाडौँ । गत माघ २ गतेदेखि भित्री सडकमा चारपांग्रे सवारीसाधनमाथि प्रतिबन्ध लगाइएको थियो । असनमा बसोवास गर्ने स्थानीय व्यापारी समेत रहेका सूर्य श्रेष्ठले ट्राफिक प्रहरीले ल्याएको यो काम एकदमै राम्रो भएको बताउदै यसमा आफुहरु पूर्ण सहमत भएको उनी बताउँछन् । सवारीसाधनमाथि प्रतिबन्ध स्थानीयहरुको पूर्ण सहयोगमा विस्तारै सफल कार्यान्वयन हुदै गएको देखिएको छ ।

व्यस्त ठाउँमा चारपाङ्ग्रे सवारी साधन प्रवेशले धेरै जाम हुने गरेको कारण पनि श्रेष्ठजस्ता गरी खानेहरुका लागि चारपाङ्ग्रे सवारी प्रवेशमा लागेको रोकले उत्साहित बनाएको छ ।

व्यस्त ठाउँ असनमा चारपाङ्ग्रे सवारी साधन प्रवेश निषेध कार्यक्रमलाई व्यवस्थित गर्नको लागि स्थानीयहरुले समेत ट्राफीक प्रहरीलाई सकेको सहयोग गर्ने बताएका छन् । भित्री सडकमा चारपांग्रेमाथि प्रतिबन्ध लगाइनुअघि ठमेलमा यस्तो गरिएको थियो ।

बदलियो भरियाको दैनिकी :

काठमाडौँ महानगर र ट्राफिक प्रहरीले महानगरका भित्री सडकमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाएसँगै भरिया काम गर्नेहरुको दैनिकी व्यस्त बनेको छ । बर्षौ देखि भारी बोक्ने काम गरिरहेकाहरुले माघ २ गतेबाट भनै निकै व्यस्त भएको बताउछन ।

गाडी चल्दा धेरैले सामानहरु गाडीमा ल्याउने भएकाले चारपाङ्ग्रे सवारीसाधन प्रवेश निषेधसँगै उनीहरु काममा अझ व्यस्त भएका छन् ।

विगत दश वर्षदेखि महानगरभित्र भारी बोक्ने काम गर्दै आएका दोलखाका रमेश खत्री यसका ज्वलन्त उदाहरण हुन् । उनी सामान्य भारी बोक्ने कामबाटै जिन्दगी चलाइरहेका छन् । सपना हुनेहरुले जसरी पनि पछ्याउँछन् भन्ने उनको राजधानी बसाइले प्रष्ट पार्छ ।

उनले भारी बोकेकै भरमा छोरालाई पढाइ खर्च जुटाउन सफल भएका छन् । खत्रीले आफूले पढ्न नपाए पनि आफ्ना सन्तान जति पढ्न चाहन्छन्, त्यति पढाउँछु भनेर ढाडस दिएका छन् र यसमा उनको सन्तुष्टि गज्जब लाग्छ । 

साँच्चै कर्ममा विश्वास गर्नेहरुले संसार जित्छन् भनेर त्यसै भनिएको होइन । लगनशीलतामा भविष्य देख्ने र त्यसप्रति विश्वास गर्नेका लागि खत्री एक प्रेरक व्यक्तित्व समेत हुन् ।  आफूले भारी बोक्ने काम छरछिमेकलाई थाहा नभएको र सुने नराम्रो सोच्लान् भन्ने काउकुती मनमा नभएको होइन तर यसका बाबजुद आफूचाहिँ आफ्नो पौरखदेखि निकै खुसी छन् खत्री । सामान्य श्रम गरेर जेठा छोरालाई काठमाडौँमा नै ओभरसियर पढाइरहेका खत्री आफ्नो कमाइले छोरालाई पढ्न पुगेको बताउँछन् ।

उनी भन्छन्, ‘छोरालाई पढ्न तथा घरायसी खर्च समेत आफूले भारी बोकेरै पुर्याउने गरेको छु ।’ लामो समयदेखि भारी बोक्ने काम गर्दै आएका खत्री आफ्नो काममा खुसी छन् । उनी भन्छन्, ‘सन्तोष नै सबैभन्दा ठुलो कुरा हो ।’ उनले मासिक २५ हजारभन्दा बढी कमाइ गर्ने गरेको खरीबोटलाई बताए । उनले भने, ‘गत २ (माघ २) गतेयता अझ बढी कमाइ भएको बताए ।’ उनी भारी बोक्ने काम त सधै गरिरहेका छन् नै, तर गत २ गतेबाट भनै निकै व्यस्त भएका छन् ।

काठमाडौँ महानगर र ट्राफिक प्रहरीले महानगरका भित्री सडकमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाएसँगै उनको दैनिकी अझ व्यस्त बनेको छ । गाडी चल्दा धेरैले सामानहरु गाडीमा ल्याउने भएकाले चारपाङ्ग्रे सवारीसाधन प्रवेश निषेधसँगै उनी काममा अझ व्यस्त भएका छन् । आफ्ना तीन छोरामध्ये उनले जेठोलाई ओभरसियर पढाइरहेका छन् ।

उनी छोराको पढाइको लागि नै आफू काठमाडौँ बसेको बताउँछन् । उनी भन्छन्, ‘एसएलसीपछि तीन वर्षको ओभरसियर कोर्ष पढ्न नौ लाख रुपैयाँ लाग्छ । त्यति लागे पनि भारी बोकेरै छोरालाई ओभरसियर पढाउँछु ।’  उनले पुगनपुग थपथाप गर्नुपर्ने बताए । ९ कक्षा पढ्दै गरेका माइलो छोरालाई पनि केही समयपश्चात् काठमाडौँमा ल्याएर पढाउने खत्रीको योजना छन् । 

उनी हरेक बिहान ९ बजे काममा निस्किन्छन्, साँझसम्म नाम्लो बोकेरै महानगरका भित्री चोकचोकमा समान पुर्याउँछन् । यो नै उनको दैनन्दिनी हो । महानगर र ट्राफिक प्रहरीले ल्याएको यो अभियानले आफ्नो काममा ठूलो सहयोग पुर्याएको समेत उनले बताए । 

उनीमात्रै होइनन्, अरु पनि महानगर र ट्राफिकले पछिल्लो समय ल्याएको नियमबारे सन्तुष्ट छन् । इन्द्र चोकमा भेटिएका रिक्सा चालक दाजुभाई हिमाल र उज्वल प्रधान महानगर र ट्राफिक प्रहरीले ल्याएको चारपाङ्ग्रे प्रवेश निषेधले जाम कम भएको र आफूलाई काम गर्न सहज भएको बताए । रिक्सा चलाएर र भारी बोकेर जीवनयापन गरिरहेकाहरु चारपांग्रे निषेधले खत्रीजस्ता थुप्रैलाई राहत दिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै