• २०८१ बैशाख ७ शुक्रबार

मनाङको उपाधि यात्रामा धक्का, सातदोबाटोसँग पराजित

kharibot

काठमाडौं । सातदोबाटो यूथ क्लबसँग अप्रत्याशित  २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबको सहिद स्मारक 'ए' डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने अवसरसँगै उपाधि यात्रा  धक्का लागेको छ ।

त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा पराजित भएसँगै मनाङको उपाधि रक्षा गर्ने योजना सुखद रहेन । नतिजासँगै मनाङ ९ खेलमा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत् छ । ,जुन शीर्ष स्थानको मछिन्द्र भन्दा १ अंकले कम हो ।

खेलको पहिलो हाफमै सातदोबाटोले २–० को अग्रता लिएको थियो । ११औं मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो । ३८औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्स अजयीले हेडरमार्फत सातदोबाटोको अग्रता दोब्बर पारेका थिए ।

५६औं मिनेटमा आफिज ओलाओलेले गोल गर्दै  मनाङलाई खेलमा फर्काउने संकेत गरेका थिए । सातदोबाटोका रक्षकले क्लियर गर्न नसकेको बललाई ओलाओलेले पोस्टको दिशा दिएका थिए । यस पछि पनि दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न सकेनन् । ६९औं मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहार मनाङका गोलकिपर विशाल सुनारले विफल पार्दा सातदोबाटोले अग्रता बढाउने अवसर खेर फालेको थियो । ७३औं मिनेटमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिँदा मनाङले खेलमा फर्कने अवसर गुमायो ।

जारी लिगमा आफिजको यो छैटौँ गोल हो र उनी सर्वाधिक गोलकर्ताको सुचीको अग्रस्थानमा छन् । सातदोबाटोका अजयी र मछिन्द्रका सुनिल बलको समान समान ५ गोल रहेको छ । 

लिगमा उत्कृष्ट सुरुआतका बाबजुद पछिल्लो खेलमा लय गुमाएको सातदोबाटो अन्ततः जितको लयमा फर्किएको हो । यसअघि सातदोबाटोले दोस्रो चरणमा थ्री स्टार क्लबलाई हराएको थियो ।

सातदोबाटो ९ खेलमा १२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा विभागीय एपीएफले हिमालयन शेर्पालाई १–० ले हराएको थियो । शनिबार लिगमा दुई खेल हुनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै