• २०८१ बैशाख १२ बुधबार

भूकम्प प्रभावितका लागि थप रु ११ अर्बको अख्तियारी

kharibot

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि भूकम्प प्रभावित जिल्लामा अनुदान वितरण गर्न थप रु ११ अर्बको अख्तियारी दिएको छ । 

प्राधिकरणले आज संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई अख्तियारी दिएको हो । भूकम्प अतिप्रभावित १४ र कम प्रभावित १८ जिल्लामा निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेको छ । निर्माणले गति लिएसँगै अनुदान रकमको माग पनि बढ्न सक्ने भएकाले प्राधिकरणले थप रकमको अख्तियारी दिएको हो । 

जिल्लाबाट अनुदान मागको धेरै बढ्न सक्ने हुनाले थप रु पाँच अर्ब रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । निजी आवास पुनःनिर्माण गरिरहेका लाभग्राहीलाई किस्ताबापतको रकमका लागि कुनै समस्या नभएको उनले सुनाए । ‘‘घर निर्माणका लागि रकम अभाव नहोस् भनेर अग्रिम रुपमै प्रभावित जिल्लामा निकासा गर्न बजेटको अख्तियारी दिइएको हो’, उनले भने । 

जिल्लाबाट माग भएअनुसार रकम पठाइएकाले ढुक्क भएर निजी आवास निर्माणलाई अघि बढाउन लाभग्राहीलाई प्राधिकरणले आग्रह गरेको छ । पछिल्ला महिनामा भूकम्प प्रभावित ३२ वटै जिल्लामा निजी आवास निर्माणको क्रम तीव्र भएको छ ।

मंगलबार साँझ ५ बजेको तथ्यांकअनुसार दुई लाख ९१ हजार ८९५ घर निर्माण भइरहेका छन् । दोस्रो किस्ताका लागि रु दुई लाख २७ हजार ८५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् । निजी आवास निर्माणका लागि विश्व बैंकले दिने थप रु ३० अर्ब ऋण सहयोगको यही माघ पहिलो साता विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै