ओमिक्रोनले थप्यो पर्यटन व्यवसायीमा चिन्ता

kharibot

फाइल तस्बीर

पोखरा । कोभिड–१९ को एकपछि अर्को लहर देखिन थालेपछि पोखराका पर्यटन व्यवसायी चिन्तित भएका छन् । खोपको सहजतासँगै विस्तारै चलायमान बन्दै गएको पोखराको पर्यटनमा कोभिडको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमणदर बढ्न थालेपछि व्यवसायीमा चिन्ता थपिएको हो । 

पछिल्लो समय निकै आशलाग्दो बनेको पोखराको पर्यटनमा ओमिक्रोनको बढ्दो दरले व्यवसायीलाई चिन्तित बनाएको पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले भने, “लामो समयपछि पोखराको पर्यटन चलायमान बन्दै गएको थियो, ‘माइस टुरिज्म’ र सडक महोत्सवले पनि आशा जगाएको थियो ।

पुनः तेस्रो लहर र सरकारका सूचनाले पुनः लकडाउने हुने संकेत गरेपछि चिन्तित बनाएको छ ।” ओमिक्रोनका कारण मार्च अप्रिल महिनाका लागि हिमाल आरोहण, पदयात्रालगायत लागि बुकिङ भएका होटल पनि विस्तारै रद्द हुने सम्भावना बढ्दै गएको उनले बताए । 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यसँगै पर्यटन क्षेत्रमा व्यवसायीले निकै आक्रामक तरिकाले लगानी गरेको तर कोरोना त्रास र सरकारको पर्यटनमैत्री नीति अभावले सबै लगानी जोखिममा पर्ने चिन्ता व्यवसायीमा रहेको उनको भनाइ छ । “सरकारले पर्यटनलाई उद्योगको मान्यता नदिँदा र पर्यटनमैत्री नीति नल्याउँदा यस क्षेत्रको लगानी जोखिममा हुने डर व्यवसायीमा छ”, भट्टराईले भने । सरकारले पर्यटन पूर्वाधारमा ध्यान नदिएको, व्यवसायीलाई प्रदान गर्न सकिने छुटमा तीनै तहका सरकार जिम्मेवार बन्न नसकेको साथै पर्यटन क्षेत्रका मजुदरका विषयमा पनि सरकारले कुनै कार्यक्रम ल्याउन नसकेको उनले गुनासो गरे । 

पर्यटन अर्थतन्त्रको बलियो आधार हुँदाहुँदै पनि सरकारले यस क्षेत्रलाई प्राथमिकतामा नराख्दा धैरै व्यवसायी यस क्षेत्रबाट पलायन हुने स्थिति आएको उनको भनाइ छ । भट्टराईले पर्यटन व्यवसायीका समस्याका बारेमा पटकपटक सरकारलाई ध्यानाकर्षण गराउँदा बेवास्ता गरेको र बजेटमार्फत आएको  पुनःकर्जा कोषको पूर्ण कार्यान्वयन नहुँदा सरकारप्रति व्यवसायीको धारणा सकारात्मक हुन नसकेको बताए ।

प्रकृतिले वरदान दिएको शहर पोखरामा पर्यटकको बसाइ लम्बाउन र थप मनोरञ्जन प्रदान गर्न थप साहसिक गतिविधिमा जोड दिँदै आएको हाइग्राउण्ड एडभेन्चर नेपाल प्रालिका निर्देशक दिनेश महर्जनले पनि लगानी जोखिममा हुने हो कि भन्ने चिन्ता थपिएको बताए । एकै थलोमा बञ्जी, जिपलाइन, सुपरम्यान जिपलाइन र पछिल्लो समय जायन्ट स्वीङ सञ्चालनमा ल्याएको जनाउँदै महजर्नले भने, “हामीले पछिल्लो समय साहसिक खेलमा लगानी निकै बढाएका छौँ तर पर्यटक आउने वातावरण छैन, एकपछि अर्को भेरियन्टका समाचारले चिन्तित बनाएको छ”, उनले आशावादी हुनुको विकल्प नरहेको भन्दै कोरोना छिट्टै हराएर पुनःपोखराको पर्यटनले गति लिने विश्वास व्यक्त गरे ।

पोखरालाई साहसिक गतिविधिको शहरको रुपमा पनि चिनाउन आफूहरूले साहासिक खेल भित्र्याएको महर्जनको भनाइ छ । प्रालिले पोखरामा २०१२ देखि साहसिक खेल भित्र्याएको हो । उनका अनुसार साहसिक खेलका लागि चार युवाले २५ करोड लगानी भइसकेको छ । 

होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले चाडवाडपछि पोखराको पर्यटनमा निकै राम्रो चलायमान भएकोमा पछिल्लो भेरियन्टले शून्यतातर्फ झार्दै लगेको बताए । “निकै राम्रो थियो दसैँ तिहारपछि प्रायः होटल ४० देखि ६० प्रतिशतको अकुपेन्सी थियो, लोकसेवाका परीक्षा, विभिन्न सङ्घसंस्थाको सेमीनार गोष्ठी, बैठक, पार्टीका अधिवेशनलगायत होटल बुकिङ राम्रो थियो, अहिले १० प्रतिशतभन्दा तल झरेको छ ।” उनले ओमिक्रोनका कारण पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम ‘जाउँ है पोखरा’ पनि प्रभावित भएको बताए । सुवेदीका अनुसार पोखरामा करिब ७०० पर्यटकीयस्तरका होटल छन् । पोखराको पर्यटनमा करिब चार खर्ब लगानी र पचास हजारले रोजगार प्राप्त गरेको व्यवसायीले बताउँदै आएका छन् । 

पोखरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको शहर भएकाले कोभिड र कोभिडपछिको समयमा कसरी पर्यटकलाई आतिथ्यता प्रदान गर्ने भन्ने स्पष्ट मापदण्ड तयार गरेर पर्यटन क्षेत्र सधैँ खुला गर्नुपर्ने नेपाल पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठीले बताउछन् । “हामी सधैँ एउटै कुरा र एउटै सोचमा अल्झेउ अब कोभिड पछाडि कसरी पर्यटन क्षेत्रलाई सुरक्षित र चलायमान बनाउने भन्ने विषयमा नवितम सोचको बारेमा छलफल जरुरी छ ।” उनले भने । 

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशिराज भण्डारीले कोरोनाको तेस्रो लहरले पर्यटन क्षेत्रलाई केही असर पार्ने भए पनि यो क्षणिक हुने विश्वास व्यक्त गर्छन् । “कोरोनाको प्रत्यक्ष असर पर्यटनमा देखिन्छ नै तर तेस्रो भेरियन्ट समाचारमा आएअनुसार त्यति शक्तिशाली देखिएको छैन, छिट्टै हराउँछ भन्ने लागेको छ, स्वास्थ्य सतर्कता पूर्ण अपनाउन सक्यौँ भने यसलाई जित्न सकिन्छ ।” उनले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि तीन करोड बजेट रहेको र आधाभन्दा बढी पूर्वाधारमा खर्च भएकाले पनि पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रममा रकम अभाव हुने गरेको बताए । 

सम्बन्धित समाचार