काठमाडौँ । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।
पुलिसले दिएको १५६ रनको लक्ष्य पछाएको बागमती प्रदेशले २० ओभरमा ८ विकेट गुमाउदै १०५ रन बनाएको थियो ।
बागमतीका लागि आदिल खानले २७ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाएका थिए । त्यस्तै रामनरेस गिरिले अविजित २२ रन बनाए भने रिजन ढकालले १५ रन बनाए । त्यस्तै बाग्मतीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यस्तै पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए । दिपेन्द्रले ४ ओभरमा १० रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै सागर ढकालले २ र आरिफ सेखले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले २० ओभरमा ५ विकेट गुमाउदै १५५ रन बनाएको थियो ।
पुलिसका लागि पवन सराफले अर्धसतकीय पारी खेलेका थिए । ५९ रन बनाएर आउट हुँदा पवनले ५४ बल खेल्दै ३ चौका र ३ छक्का प्रहर गरेका थिए ।
पुलिसका लागि दिलिप नाथले अविजित ३१ रन बनाएका थिए भने अनिल शाहले २५ रन बनाए । त्यस्तै आरिफ सेखले १२, शंकर राणाले ८ रन र रशिद खानले ५ रन बनाए भने दिपेन्द्र सिंह ऐरी शुन्यमा आउट भएका थिए ।
त्यसैगरी बागमती प्रदेशका नन्दन यादव र रजिन ढकालले २-२ विकेट लिए भने प्रतिष जिसीले एक विकेट लिएका थिए ।
अब प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आजै एपीएफ र त्रिभुवन आर्मी क्लबबीच हुने छ ।