• २०८१ बैशाख ६ बिहीबार

राष्ट्रियसभाको निर्वाचन उत्साहपुर्वक सम्पन्न, मतगणना आजै हुने

kharibot

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको एकल संक्रमणीय निर्वाचन प्रणाली अधिकांश मतदाताका लागि नयाँ भए पनि प्रशिक्षणका कारण मतदान गर्न कुनै समस्या नभएको मतदाताले बताएका छन् । 

निर्वाचन आयोगले हरेक जिल्ला निर्वाचन कार्यालयमार्फत मतदातालाई निर्वाचन प्रणलीका बारेमा प्रशिक्षण गरेकाले मतदान प्रक्रियामा सहज भएको मतदाताको भनाइ छ । 

सिन्धुपलाञ्चोकको सुनकोशी गाउँपालिकाका उपप्रमुख लक्ष्मी पौडेलले एकल संक्रमणीय निर्वाचन प्रणालीमा पहिलोपटक मतदान गरेको भए पनि निर्वाचन आयोग र पार्टीले दिएको प्रशिक्षणका कारण मतदानमा कुनै समस्या नभएको बताएका छन् । 

नेपालको संविधानअनुसार प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ सदस्यमध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुनेछन् । त्यस्तै, सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना समेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ । 

महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान भएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने बहुमतीय निर्वाचन प्रणालीका आधारमा निर्वाचन भएको हो । 

काठमाडौँ क्षेत्र नं दुई ‘ख’ का प्रदेशसभा सदस्य मणिराम फुयाँलले पनि मतदान गर्दा कुनै समस्या नभएको बताउँदै निर्वाचनपछि नयाँ सरकार गठनको बाटो खुलेको धारणा व्यक्त गरे । आयोगसँगै राजनीतिक दलहरुले पनि आफ्ना मतदातालाई निर्वाचन प्रणालीका बारेमा प्रशिक्षण दिएका कारण मतदानमा मतपत्र बदर हुने सम्भावना पनि ज्यादै न्यून छ । 

निर्वाचन शान्तिपूर्णरुपमा उत्साहका सम्पन्न 

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकभर शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएको जनाएको छ । आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले मुलुभर मतदान शान्तिपूर्णरुपमा उत्साहका साथ भएको बताउँदै ढिलामा भोलि माघ २५ गतेसम्म सबै मतपरिणाम आइसक्ने बताए । आयोगले एकल संक्रमणीय निर्वाचन प्रणालीअन्तर्गत निर्वाचन भएका पदको मतगणनाका लागि विज्ञ टोली खटाएको उनले जानकारी गराए । 

प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्वाचित भएकाले मतदान गर्नुपरेन । कूल ५६ सदस्यका लागि हुने मतदानमा यसअघि नै २४ जना निर्विरोध निर्वाचित भइसकेकाले आज ३२ पदमा निर्वाचन भएको हो । सबै प्रदेशमा गरी ५२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । 

आयोगले प्रदेश नं १ को विराटनगरस्थित वीरेन्द्र सभा गृहमा, प्रदेश नं ३ को ललितपुरस्थित जावालाखेल मैदानमा, प्रदेश नं ४ को कास्कीको पोखरास्थित लोकसेवा आयोगको भवनमा मतदान केन्द्रको व्यवस्था गरेको थियो । 

त्यस्तै प्रदेश नं ५ को दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, प्रदेश नं ६ को सुर्खेतको वीरेन्द्रनगरपालिकास्थित जिल्ला निर्वाचन कार्यालय भवनमा र प्रदेश नं ७ को डोटीको दीपायल सिलगढी नगरपालिकाको पदम पब्लिक मुक्तिनारायण मावि भवनमा मतदानको भएको थियो । 

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचनमण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहेका थिए । 

प्रदेश नं २ का आठवटै पदमा निर्विरोध निर्वाचित हुनुभएकाले आज छ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेशसभाका ४४३ गरी एक हजार ६७७ जना मतदाताले मताधिकार प्रयोग गरेका छन् । 

प्रदेश नं ३ मा शतप्रतिशत मतदान 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ३ मा भएको मतदानमा शतप्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बिहान निर्धारित समयमै मतदान शुरु भएको यस प्रदेशमा अपराह्न ३ बजे शतप्रतिशत मत खसेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए । 

उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयले मतदान सम्पन्न भएलगत्तै मतगणना गर्न आवश्यक तयारी गरेको छ । ‘मतगणनाका लागि आवश्यक विज्ञ खटिसकेका छन्, आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने तयारी गरेका छौं’ उनले भने । 

ललितपुरको जावलाखेलस्थित खेलमैदानमा मतदान भएको प्रदेश नं ३ को मतगणना ललितपुरस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रमा राखिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मुलुकभर आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो । 

प्रदेश नं ३ मा प्रदेशसभा सदस्य ११० र स्थानीय तहका पदाधिकारी २३८ गरी कूल ३४८ मतदाता निर्वाचन मण्डल रहेको निर्वाचन अधिकृत दवाडीले जानकारी दिए । प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिष्पर्धामा थिए ।

निर्वाचन आयोगले मतदान सकिनासाथ मतगणना शूरु गर्न निर्देशन दिइसकेकाले मतगणना आजै हुने बताइएको छ । 

(राससका लागि भीष्मराज ओझाको रिपोर्ट)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै