• २०८१ बैशाख ५ बुधबार

सरकारी अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

kharibot

काठमाडौँ । चितवन जिल्लामा रहेका दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् ।भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँदै आएका छन् । क्यान्सर अस्पतालमा यो समयमा न्यून बिरामी भए पनि भरतपुर अस्पतालमा भने नियमित बिरामी छन् । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार साउनयता जोखिम भत्ता उपलब्ध हुन सकेको छैन ।

सरकारले वैशाखबाट ६ महिनाका लागि तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । सोही अनुरुप पहिलो तीन महिनाको जोखिम भत्ता आएको भए पनि पछिल्लो समयको भत्ता नआएको उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालले हालसम्म ११ करोड ५० लाख सङ्घीय सरकारबाट प्राप्त जोखिम भत्ता वितरण गरिसकेको छ । सुरुवाती चरणमा अस्पताल विकास समितिले ६० लाख जोखिम भत्ता वितरण गरेको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई असारसम्मको जोखिम भत्ता वितरण गरिएको भए पनि त्यसयता निकासा हुन नसकेको बताए । भरतपुर अस्पतालले नर्सिङ कार्यक्रममा कार्यरत कर्मचारी बाहेक सबैलाई जोखिम भत्ता तलबको ५० प्रतिशत दिएको थियो ।  विकास समितिले रकम थप गर्न परे तयार रहेको भन्दै उनले जोखिममा काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
 
भरतपुर अस्पतालमा रहेका कर्मचारीलाई मासिक  दुई करोड २५ लाख बराबर तलब खर्च हुने गर्दछ । त्यसको आधा जोखिम भत्ता दिने गरिएको छ । क्यान्सर अस्पतालमा कोभिड वार्डमा कार्यरत चिकित्सक कर्मचारीले पनि साउनयता भत्ता पाएका छैनन् । अस्पतालमा साउन यता कोभिड वार्ड रहेपनि खासै बिरामी बसेको पाइएन । कहिलेकाहीँ बिरामी आउने भएकाले कर्मचारी भने खटिएको अस्पतालले जनाएको छ ।
 
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले गतसाल काम गर्नेलाई जोखिम भत्ता दिएको बताए । झण्डै ३० लाख हाराहारी जोखिम भत्ता अस्पतालले वितरण गरेको जनाएको छ । गौतमले सरकारले भत्ता पठाएमा वितरण गर्ने बताए ।

अब फेरि सङ्क्रमण बढेकाले पहिले काम गर्नेलाई भत्ता बाढ्न पाएमा काम लगाउन सहज हुने उनको भनाइ छ । निजी मेडिकल कलेज पनि कोभिडमा काम गर्नेलाई प्रोत्साहनस्वरुप जोखिम भत्ता वितरण गर्दै आएका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार त्यहाँ कोभिड वार्डमा काम गर्ने चिकित्सक कर्मचारीलाई दैनिक रु एक हजार भत्ता दिँइदै आएको छ । सङ्क्रमणस्थलमा काम गर्ने सबैलाई भत्ता दिइएको उनले जानकारी दिएको छ ।
 
सरकार र निजीमा सङ्क्रमणमा काम गर्ने चिकित्सक कर्मचारीलाई जोखिम भत्ता दिन नसक्दा काममा लगाउन अप्ठयारो हुने प्रशासकले बताएका छन् । अस्पतालसँगै स्वास्थ्य केन्द्रमा पनि सङ्क्रमणमा काम गर्न चिकित्सक स्वास्थ्यकर्मी बाध्य छन् । पालिकाले पनि सङ्क्रमणमा काम गर्नेलाई भत्ता दिने गरेका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै