दक्षिण भारतीय फिल्म थिरिमालीको गीतमा 'बोल्ड अवतार' मा स्वस्तिमा
खरीबोट
२०७८ माघ ८ शनिबार
काठमाडौँ । नेपालमा छायांकन भएको दक्षिण भारतको (मलयालम) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक भएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतको भिडियोमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काको 'बोल्ड अवतार' देखिएको छ ।
फिल्म मलयालम भाषामा निर्माण भए पनि हिन्दी भाषाको गीत रिलिज गरिएको छ । बिजीपालको संगीत, तनिष्क नब्बरको शब्द रहेको गीतमा चर्चित गायिका सुनिधि चौहानको स्वर रहेको छ । गीतको छायांकन काठमाडौंको दरवार स्क्वायरमा भएको पृष्ठभूमिमा गरिएको छ । फिल्मको कथालाई पनि जोडिएको गीतमा स्वस्तिमासँगै कोरस डान्सरमा नेपाली युवतीहरु देखिएका छन् ।
राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ को नेपालको पोखरा, काठमाडौं, लुक्ला लगायतका विभिन्न रमणीय स्थानमा शुटिंग गरिएको थियो ।
हिन्दी, मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा रिलिज हुने फिल्ममा नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको पनि अभिनय रहेको छ । स्वस्तिमा भने आइटम गीतमा मात्र देखिनेछिन् ।