सदगुरुको नजरमा कोरोनाको रहस्य !

kharibot

कोरोना भाइरसको सन्दर्भमा एउटा अन्तर्वार्तामा सद्‌गुरुले कोरोनाको महामारीप्रति आफ्नो दृष्टिकोण बताउँदै यस प्रकारका चुनौतीहरू सामना गर्नको निम्ति हामीले आफ्नो जीवन र समाजलाई कसरी पुन: निर्माण गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पार्दै हुनुहुन्छ ।

आध्यात्मिक दृष्टिकोणबाट हेर्दाखेरी, के तपाईंलाई यस्तो लाग्छ कि यो महामारीले मानवजाति र मानव संरचनालाई आफू एक्लै रहने र एकआपसमा मिलेर रहने नयाँ तरिकाहरू खोज्न सिकाइरहेको छ ?

सद्‌गुरु: अहिले त जनावरहरूले एकअर्कालाई भनिरहेका छन्— "हामी सबै मिलेर यस धरतीलाई फेरि सानदार बनाऔँ !" शहरका सडकहरूमा मयूर नाचिरहेका छन् । धुवाँको कुहिरो हट्दै गएकोले राजधानीबाटै हिमालका चुचुराहरू देखिन थालेका छन् । निकै लामो समयदेखि, हामीले यस धरतीलाई दूषित गर्दै आएका थियौँ; पृथ्वीकै जीवन धरापमा पारेका थियौँ । वास्तवमा भन्नुपर्दा, यस धरतीका अरू सबै प्राणीहरू मानव रूपी भाइरसबाट असाध्यै त्रसित छन् !

मानिसहरूले प्रत्येक वर्ष तीन हप्ताको छुट्टी लिनुपर्छ— दूषित गर्ने सबै प्रविधिहरू, सबै मेशिनहरू बन्द गर्नुपर्छ । यो छुट्टीलाई उनीहरूले आफूभित्र फर्किनको लागि प्रयोग गर्नुपर्छ । यदि सबैले यो समयलाई आफ्नो शरीर, मन, भावना, ऊर्जाहरू तथा आफ्नो योग्यतालाई अझ माथि उकास्न प्रयोग गर्ने हो भने, हामी अद्‌भुत संसारमा बाँच्ने छौँ ।
भाइरसले बिस्तारै–बिस्तारै हाम्रो मन–मुटुमा यो कुरा स्पष्ट पारिदिएको छ कि हामी नश्वर (मरणशील) हौँ । एकचोटि जब तपाईं आफू नश्वर छु भनेर महसुस गर्नुहुन्छ, तपाईंले स्वाभाविक रूपमा आफ्नो जीवनलाई व्यवस्थित गर्नुहुनेछ । म मानिसहरूको जीवनशैलीबारे टिप्पणी गर्न चाहदिनँ, तर त्यो कुराले कैयौँ पटक मलाई चकित बनाएको छ । एकपटक म अमेरिकाको एउटा शपिङ्ग मलमा गएको थिएँ । त्यहाँ नाकको रौँ छोटो गर्नको लागि मात्र बीस किसिमका उपकरणहरू राखिएका थिए ! तसर्थ, अब हामीले आफ्नो जीवनलाई उचित तरिकाले व्यवस्थित गर्ने अनि हामी अलिकति कम चिजहरूसँग रहन सक्छौँ कि सक्दैनौँ भनेर विचार–विमर्श गर्ने समय भइसकेको छ । यदि यसलाई कानुनको रूपमा लागू गरियो भने, त्यो भद्दा हुन्छ । तर, यदि हामीले सचेतपूर्वक आफैँ गऱ्यौँ भने, त्यो अद्‌भुत हुन्छ ।

यो भाइरसले हाम्रो मानसिकतादेखि हाम्रो वास्तविकतासम्म नयाँ ढङ्गले आफूलाई पुन: निर्माण गर्नेबारे हामीलाई जे बताइरहेको छ, त्यसलाई तपाईं कसरी व्यक्त गर्नुहुन्छ ?

सद्‌गुरु: वास्तवमा, भाइरसले त तपाईंले कुनै नयाँ कुरा नसिक्नुहोस् भन्ने नै चाहन्छ ! तपाईंले उसलाई मार्नको लागि कुनै औषधी बनाएको हेर्न चाहँदैन । यो भाइरस कुनै अन्य जीवहरूमा बाँचिरहेको थियो, तर उनीहरूको वासस्थान रित्तिँदै गयो (किनकि, हामीले हामीले विशाल मात्रामा पशुपंक्षीहरलाई मार्ने काम गऱ्यौँ ।) त्यसैले, यसले मानिसमा आउने निधो गऱ्यो, किनभने हाम्रो सङ्ख्या विशाल छ । उसको उद्देश्य तपाईंलाई मार्नु होइन, बरु बाँच्नको लागि नयाँ वासस्थान खोजिरहेको हो । कुरा यत्ति हो कि यो यस हदसम्म आक्रामक रूपमा बाँच्दछ कि हामी त्यो सहन सक्दैनौँ, अनि मर्छौँ । तर, वैज्ञानिकहरूले यो अनुमान गरिरहेका छन् कि केही समयमा यो भाइरसले आफूलाई मन्द जीवनमा बदल्नेछ, जसकारण यो सजिलै हाम्रो शरीरमा रहन सक्नेछ ।

अत: तपाईंलाई केही सिकाउने सन्दर्भमा भाइरसलाई कुनै चासो छैन । तर, अहिलेको परिस्थितिले मानिसहरूलाई यो कुराप्रति सचेत गराएको छ कि हामीहरू यहाँ छोटो समयका लागि आएका हौँ । तपाईं जुन शरीरलाई यति महत्त्व दिइरहनु भएको छ, त्यो त्यही माटो हो जसमाथि तपाईं हिँडिरहनु भएको छ । यदि हामीले आफ्नो जीवनको प्रत्येक क्षण यो कुरा महसुस गऱ्यौँ भने, हामी पक्कै पनि यस धरतीमा बढी सचेत एवं शिष्ट भएर रहनेछौँ ।

हाम्रो पूर्वीय समाजमा, सङ्कटको समयमा हामी जसरी भएपनि सँगै रहने गर्छौँ— युवा पिँढीका मानिसहरू आफ्नो परिवारको लागि किनमेल गर्न किराना पसल अगाडि लामबद्ध भएर उभिने गर्छन् । पश्चिमी समाजमा, एक्लै बस्ने प्रचलन भएकोले वृद्ध व्यक्तिहरूको रेखदेख गर्ने आधारभूत संरचनाहरू थोरै छन् । मेरा कूटनीतिक मित्र भन्छन् कि एक्लै बस्ने वृद्ध व्यक्तिहरू यस्तो महामारीका लागि आफूलाई तयार गर्न सकिरहेका छैनन् । के तपाईंलाई लाग्छ कि पश्चिमी समाजहरूले पनि अब जीवनका केही चरणहरूमा अनि केही परिस्थितिहरूमा एक्लै रहने प्रचलन उपयुक्त होइन भन्ने कुरा बुझ्नेछन् ?

सद्‌गुरु: सबै जवान केटा–केटीहरू तपाईंको लागि किराना पसल गएर सामानहरू ल्याइदिन तयार छन् भनेर कल्पना नगर्नुहोस् । केही व्यक्तिहरूमा आर्थिक बाध्यता भएकोले नै त्यसो गरिरहेका छन् । यदि हामीले दुई–तीन पुस्ताअघि हेऱ्यौँ, परिवारमा पति–पत्नी, बच्चाहरू, आमा बुबा, दाइ–भाउजू अनि तिनका छोराछोरीहरू, भाइ–बुहारी अनि तिनका छोराछोरीहरू, काका–काकी, हजुरबुबा–हजुरआमा अनि अरू थुप्रै मानिसहरू हुने गर्थे— एउटा परिवारमा ३/४ सयजना व्यक्तिहरू रहन्थे । यस्तो हुनुको महत्त्वपूर्ण पक्ष भनेको परिवारको आर्थिक एकता थियो— परिवारको प्रमुख व्यक्तिले सबै आर्थिक व्यवस्था नियन्त्रण गर्थे, जसकारण सबैजना सँगै बसोबास गर्दथे, अन्यथा उनीहरू असहाय र बेसहारा हुने थिए ।

अचेल जो–कोही पनि बाहिर जान सक्छन्, वा घरबाटै काम गर्न सक्छन् अनि पैसा कमाउन सक्छन् । आर्थिक पक्ष सबल बन्दै गएकोले एक अर्काप्रति पूरै निर्भर रहन जरूरी छैन । यो केवल पश्चिममा होइन । जसैजसै मानिसहरूको आर्थिक पक्ष सबल बन्दै जान्छ, उनीहरू त्यति नै बढी एक्लै बस्न रुचाउने छन्, किनभने उनीहरू कसैलाई पनि सहन सक्दैनन् ! अहिलेको समयमा परिवार भनेको पति, पत्नी र बच्चाहरू मात्र भएको छ । यदि आमाबुबा असाध्यै बिरामी हुनुहुन्छ भने, उहाँहरू कहिलेकाहीँ तपाईंसँग रहन सक्नुहुनेछ । पश्चिममा यो अवस्था हेर्ने हो भने, सम्भवत: त्यहाँ परिवार भनेको केवल एक व्यक्ति (पुरुष वा स्त्री) र बच्चा हो । अनि, निश्चित उमेरभन्दा माथिका व्यक्तिहरूलाई आफ्नो हेरविचार आफैँ गर्नको लागि यत्तिकै छोडिइन्छ; वृद्ध आश्रममा रहेकाहरूले चिकित्सा सेवा त पाउलान्, तर त्यहाँ समावेश वा आफ्नोपनको वातावरण हुन्छ भन्न सकिँदैन ।

हामीले यो तथ्यलाई निष्पक्ष भई स्वीकार्न जरूरी छ कि मानव समाजहरू र परिवारहरू अझैपनि विभिन्न आवश्यकताहरूको आधारमा चलिरहेका छन् । यदि कुनै पनि आवश्यकताहरू नहुने हो भने, यो अलग–थलग हुनेछ । यसैकारण, हामीले सचेत समाज निर्माण गर्नु अत्यन्तै महत्त्वपूर्ण छ, जहाँ सबैजना आफ्नो रोजाइले रहनेछन् अनि एक–अर्काबिचमा समावेशीताको गहिरो भावना रहनेछ । केही परिवारहरूमा अझैपनि यो रहेको छ, तर दुर्भाग्यवश थुप्रै परिवारहरूमा यो हराउँदै गएको छ ।

यो महामारीको बारेमा व्यक्तिगत रूपमा तपाईंलाई ज्ञात भएको सबैभन्दा शक्तिशाली कुरा के हो ? तपाईंको जीवनीमा लेखिएको एउटा पुस्तकमा यो भनिएको छ कि महादेवसँग तपाईंको प्रत्यक्ष सम्पर्क हुन्छ । यो घटनाको बारेमा अनि हाम्रो इतिहासमा यसको असरबारे महादेवले तपाईंलाई के बताउनुभएको छ ?

सद्‌गुरु: त्यो किताब अरू कसैले लेखेको जीवन कथा हो, मेरो आत्मकथा होइन । त्यसैले, मलाई त्यहाँ लेखिएको कुराको आरोप नलगाउनुहोस् ! तपाईं जसलाई "शिव" भन्नुहुन्छ, उनको लागि, त्यो प्रकृतिको लागि यो भाइरस समस्या होइन । जतिबेलासम्म भाइरस सशक्त रूपमा क्रियाशील रहन्छ, उनले भन्नेछन्, "तिमीमाथि मेरो आशीर्वाद छ !" तपाईंले यो बुझ्नुपर्छ कि भाइरस वा जीवाणु पनि जीवन हो, अनि शिव जीवनको पक्षमा छन् । यतिखेर भाइरसले निकै कुशलतापूर्वक आफ्नो काम गरिरहेको छ । यसले आफूलाई दशवटा भिन्न–भिन्न रूपहरूमा प्रकट गरिसकेको छ । यदि तपाईंले कुनै खोप बनाउनुभयो भनेपनि, तीमध्ये एउटा मात्र मर्न सक्छ । जुन रूपले यो भाइरस यति स्मार्ट ढङ्गले काम गरिरहेको छ, जहाँसम्म मलाई लाग्छ उनले अवश्य पनि आशीर्वाद दिनेछन् ।

शिव पशुपति हुन्, अर्थात् सबै प्रकारका जीवनहरूको मालिक । भाइरस एकदमै सानो र तपाईं यति ठूलो भएकै भरमा उनले तपाईं र भाइरसबिच भेदभाव गर्ने छैनन् । त्यो उचित हुँदैन । त्यसैले, राम्रो यही हुन्छ कि तपाईं आफ्नो दिमागलाई ठीक गर्नुहोस्, जिम्मेवार भूमिका निभाउनुहोस् अनि भाइरसलाई हराउनुहोस् । यस समयमा तपाईंले सामाजिक दूरी कायम राख्नुपर्छ— शिवले जस्तै ! यदि सबैजना १५ दिनसम्म एक्लै बस्ने अनि ध्यान गर्ने हो भने, भाइरस आफैँ जानेछ । सरकारद्वारा जबरजस्ती थोपरिएको लकडाउन होइन; बरु जिम्मेवारपूर्वक एकान्तमा रहनु अपरिहार्य छ । 

सम्बन्धित समाचार