• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँ महानगरका छुटेका विद्यार्थीलाई प्रसूति र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइदै

kharibot

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ ।  

खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ । कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन् ।  

खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १० गते जारी गरेको सूचनाअनुसार आजदेखि माघ २० गतेसम्म विद्यार्थीका लागि खोप कार्यक्रम सञ्चालन गर्नेअनुरुप कामपाले खोप कार्यक्रमका लागि स्थान निर्धारण गरेको हो । कोराना महामारीका कारण अहिले देशभरिका विद्यालय बन्द छन् । खोप कार्यक्रमका लागि विद्यालय खोले पनि पठनपाठनका लागि भने वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिन कामपाले सबै  विद्यालयलाई अनुरोध गरेको छ । 

हाल कामपामा १२ देखि १७ वर्ष उमेर समूहका झण्डै ६५ हजार बालबालिका छन् । झण्डै ५० हजारले पहिलो चरणको खोप प्राप्त गरेको शिक्षा अधिकारी सुवेदीले जानकारी दिनुभयो । हाल कामपामा ९० सामुदायिक विद्यालय छन् भने ५०० भन्दा बढी निजी विद्यालय छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै