• २०८१ बैशाख ६ बिहीबार

पार्टी एकताको ढाँचा अन्तिम रुपमा

kharibot

चितवन । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, राजनीतिक संगठन र सिद्धान्त मिलाउनुपर्ने भएकाले पार्टी एकता गर्न समय लागेको बताएका छन् । 

प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पदका कुरामा नभएर विचार, राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनालाई कसरी मिलाउने भन्नेबारेमा नेकपा एमालेसँग छलफल भइरहेको जानकारी दिए ।

उनले भने, ‘माओवादी केन्द्र र एमालेबीचको एकताभित्र थुप्रै मनोविज्ञान, इतिहास जोडिएका छन् । यी सबै कुरासँग सम्बन्धित विषय अन्ततः वैचारिक राजनीतिक विषय हुन्छन् ।’ दाहालले दुवै पार्टीका अध्यक्ष पार्टीको प्रमुख र प्रधानमन्त्री भइसकेकाले पदकै निम्ति झिनाझप्टी नहुने स्पष्ट गरे । 

पार्टीलाई सही ढंगले एकताबद्ध गर्न र देशलाई सुशासन र समृद्धितर्फ लैजान वामदेव गौतमको संयोजकत्वमा गठित समितिले सुशासनको प्राथमिकता र विकासको प्राथमिकताबारे छलफल गरिरहेको बताए ।

उनले भने, ‘हामी दुई जनाको बीचमा कुरा मिलेर मात्रै होइन, पार्टी संगठनका माथिदेखि तलसम्मका सबैले राम्रो भयो भन्ने महसुस हुने गरी पार्टी एकता गर्दैछौँ ।’ उनले पार्टी एकता र सरकार गठन सँगसँगै होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

उनले भने, ‘मेरो कोशिश सरकार गठन गर्नुभन्दा अगाडि पार्टी एकताको कुरा टुंगियोस् भन्ने छ । नभए पनि पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै होस् भन्ने छ । ओलीजीको पनि त्यतैपट्टि जोड छ ।’ 

उनले पार्टी एकताको ढाँचा अन्तिम रुपमा रहेको पनि जानकारी दिए । उनले आगामी फागुन ५ गतेभित्र निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष सांसदको नामावली बुझाउने र फागुन ६ गतेदेखि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै