• २०८१ बैशाख ८ शनिबार

उत्तर कोरियाको भ्रमण गर्न दक्षिण कोरियाका राष्ट्रपतिलाई निमन्त्रणा

kharibot

सोल । हाल दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरिया भ्रमणका लागि निमन्त्रणा गरेको छ । 

प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका उत्तर कोरियाको संसदका प्रमुख तथा त्यहाँको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपति समेत मानिने किम योङ नामले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई भ्रमणका लागि आमन्त्रण गरेका छन् । 

उत्तर कोरियाली टोली र दक्षिण कोरियाका राष्ट्रपति बीच शनिबार दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसमा भेटवार्ता भएको हो । 

उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनी किम यो जोङले आफ्ना दाजु तथा सर्वोच्च नेता किम जोङ उनको निमन्त्रणापत्र राष्ट्रपति मुनलाई हस्तान्तरण गरेका थिए । 

उत्तर कोरियली प्रतिनिधिमण्डलमा सदस्यसमेत रहेका जोङले हस्तान्तरण गरेको पत्रमा दुई कोरियाको सम्वन्ध सुधार्न चाहेको उल्लेख गरिएको राष्ट्रपति मुनका प्रवक्ता किम इउइ कीओनले जानकारी दिए । 

सर्वोच्च नेता किमले जाति सक्दो चाँडो राष्ट्रपति मुनलाई भेट्ने चाहना राखेको किमकी बहिनी जोङले सो अवसरमा जानकारी गराएका थिए । 

राष्ट्रपति मुन र भ्रमण टोलीकाबीचमा अनौपचारिक कुराकानी भएका बेला जोङले सर्वोच्च नेताको निमन्त्रणाको कुरा गरेका थिए । 

शीतकालीन ओलम्पिकका लागि दक्षिण कोरिया गएको उत्तर कोरियाको प्रतिनिधि मण्डलमा रहनु भएकी जोङ सत्तारुढ दल वर्कर्स पार्टी कोरियाको केन्द्रीय समितिकी प्रथम उपनिर्देशक छन् । 

यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो । 

यस भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको यस भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको बताइएको यहाँका स्थनीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमले जनाएका छन् । 

सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट यो स्तरका प्रतिनिधि दक्षिण कोरिया पुगेका समाचारमा जनाइएको छ । 

उक्त प्रतिनिधिमण्डल दक्षिण कोरियामा सुरु भएको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुगेको हो । टोली आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै