• २०८१ बैशाख ७ शुक्रबार

जनप्रतिनिधिलाई परिवार स्वास्थ्यबारे तालीम

kharibot

काठमाडौँ । परिवार स्वास्थ्य महाशाखाका ७० प्रतिशत कार्यक्रम स्थानीय तहमा गएपछि स्थानीय तहका प्रमुख÷उपप्रमुख र स्वास्थ्य संयोजकलाई अभिमुखीकरण कार्यक्रम शुरु गरिएको छ । 

परिवार स्वास्थ्य महाशाखाले आफ्ना कार्यक्रम स्थानीय तहले गर्ने भएपछि सहजरुपमा सञ्चालन भइरहुन् भनेर सबै कार्यक्रमबारे जानकारी दिन अभिमुखी कार्यक्रम सञ्चालन गरेको हो । महाशाखाका निर्देशक डा विकास देवकोटाले बजेट र समय हेरेर हरेक जिल्लामा सके एक दिन वा केही घण्टाको समय मिलाएर कार्यक्रमको महत्वबारे जानकारी दिइएको बताए । 

उनले भने, ‘केही जिल्लामा कार्यक्रम भइसकेको छ भने बाँकीमा क्रमैसँग गर्ने योजना छ, परिवार स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमबारे स्थानीय जनप्रतिनिधिले राम्रोसँग बुझ्नुभयो भने प्रभावकारी रुपमा सञ्चालन गर्न सहज हुन्छ ।’ 

कार्यक्रमबारे बुझाइको कमीले कुनैपनि कार्यक्रम बिना अवरोध सञ्चालन गर्न सम्पूर्ण बजेट सहीरुपमा खर्च गर्न सकियोस् भनेर अभिमुखीकरण गत पुसदेखि शुरु गरिएको हो । कतिपय स्थानीय तहले समयमै स्वास्थ्यको रकम भुक्तानी नगरेपछि कार्यक्रम प्रभावित हुन थालेका छन् भने कतिपय स्थानीय तहले रकम खर्च गर्न सकेका छैनन् । 

नगरपालिकाले रकम भुक्तानी नगरेपछि सिरहाको कर्जन्हा नगरपालिकामा रहेको फुलकुमारी महतो मेमोरियल अस्पतालले आमा सुरक्षा कार्यक्रम रोक्ने आशयको पत्र महाशाखामा आएपछि रकम निकासाका लागि नगरपालिकालाई अनुरोध गरिएको निर्देशक देवकोटाले जानकारी दिए । 

उक्त अस्पतालले यही माघ १८ गते विगत पाँच महिनादेखि नै आमा सुरक्षा कार्यक्रमको भुक्तानी नपाएको भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो । 

परिवार स्वास्थ्य महाशाखाबाट आमा सुरक्षा कार्यक्रम, पाठेघर खस्ने रोगको शल्यक्रियाद्वारा उपचार, शल्यक्रियाद्वारा सुत्केरी हुने अस्पताल सिइओएनसी, परिवार नियोजन, गर्भवती तथा सुत्केरी उत्प्रेरणा सेवा, निःशुल्क गर्भपतन सेवा, किशोरकिशोरी कार्यक्रम, वर्थ डिफेक्ट कार्यक्रमलगायत ४९ वटा कार्यक्रमका लागि ६७ प्रतिशत बजेट स्थानीय तहमा गएको छ । यसअन्तर्गत रु दुई अर्ब ३७ करोड ६७ लाख रकम ७५३ स्थानीय तहमा पठाइएको छ । 

महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डिल्लीरमण अधिकारीले केही जिल्लामा कार्यक्रम भइसकेको जानकारी दिँदै फागुनको पहिलो साता दोलखा र रामेछापमा कार्यक्रम गर्ने तय भएको जानकारी दिए । रसुवा, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, रुकुम, बाँके, बर्दिया, सिन्धुपाल्चोकमा कार्यक्रम भइसकेको छ । 

कार्यक्रम जानकारी दिन सम्भव भएसम्म केन्द्रबाटै प्रतिनिधि पठाएको र सम्भव नभएका ठाउँमा जिल्ला जनस्वास्थ्यकै प्रतिनिधि खटाइएको महाशाखाको भनाइ छ । आगामी फागुनमा मकवानपुर, सिन्धुली, रौतहट, मोरङ, सुनसरी, सर्लाही, उदयपुर, ओखलढुङ्गा, बैतडी, रामेछाप र दोलखामा हुने अधिकारीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै