काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।
शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार साँझ अबेर प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति भण्डारीसमक्ष प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० विजयी उम्मेदवारको नामसहितको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेकामा आयोगका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्दै बधाई दिइन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि सफलताका साथ सम्पन्न गराउने जिम्मेवारीलाई पूरा गर्न राष्ट्रपतिबाट निर्देशन भएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताए ।
सो अवसरमा आयोगले आफ्नो तर्फबाट संविधान र कानूनले दिएको निर्वाचनको जिम्मेवारीलाई स्वतन्त्र, स्वच्छ, निश्पक्ष ढंगबाट गराउन कुनै कसर बाँकी नराखेको जानकारी गराएको थियो ।
निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा अयोगका सचिव बेगेन्द्र शर्मा पौड्यालसमेत सो अवसरमा उपस्थित थिए ।
वाम गठबन्धनले नयाँ प्रधानमन्त्रीको दाबी तत्काल प्रस्तुत गर्ने
यसैबीच, एकता प्रक्रिया खाकालाई निष्कर्षमा पुर्याउन बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको छ ।
एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष बुझाएकाले अब आफूहरुले तत्काल सरकार गठन प्रक्रिया अघि बढाउनेमा कुनै दुविधा नभएको संयोजन समितिका सदस्य एवं केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
तत्काल सरकार बनाएर बहुदलीय प्रतिस्पर्धाका आधारमा मुलुकलाई आर्थिक सामाजिक रुपान्तरणका काममा मुलुकलाई अघि बढाउन ढिला भइसकेकाले नयाँ सरकार चाँडै बन्ने उनले बताए ।
एकता बैठकअघिको एमाले स्थायी कमिटीको बैठकले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेको सन्दर्भमा एकता प्रक्रियालाई पनि तीव्रता दिन दुई दलले निर्णायक वार्ता गरेका हुन् ।
ललितपुरको मानभवनस्थित एक घरमा बसेको बैठकले दुई पार्टीका अध्यक्षहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्ता र गृहकार्यको बिफ्रिङ भई गम्भीरतापूर्वक छलफल भएको तर केही विषयमा टुङ्गो लगाउन पुनः बैठक बस्ने नेताहरुले बताए । “कुरा नमिलेर होइन, आज सकारात्मक र गम्भीर कुरा भएको छ, समग्र विषयलाई टुङ्गो लगाउन आजकै छलफललाई निरन्तरता दिन बिहीबार बैठक बस्नेछ”–नेता श्रेष्ठले भने ।
संयोजन समितिका सदस्य एमाले वरिष्ठ नेता झलनाथ खनालले छलफल जारी रहेकाले निष्कर्ष बाहिर ल्याउन नसकिएको बताउनुभयो तर उनले थप प्रतिक्रिया दिन चाहेनन् । दुई पार्टीबीच प्रधानमन्त्री र पार्टी अध्यक्षमा आलोपालो वा कसरी कार्यविभाजन गर्ने तथा वैचारिक राजनीतिक सिद्धान्तमा थप छलफल हुँदै आएको छ ।
संगठन र विचारसम्बन्धी कार्यदल बन्ने
बुधबारको बैठकमा पार्टी एकताका लागि संगठनात्मक र वैचारिकसम्बन्धी दुई अलगअलग कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको समितिका सदस्य एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।
उहाँले कार्यदलका सदस्यहरुका नाम बिहीबार तय हुने जनाउँदै भन्नुभयो, “एकताको खाकाबारे ९५ प्रतिशत मिलिसकेको छ, ५ प्रतिशत मिलाउन पुनः बस्ने तय भएको हो, अब एकता हुने भन्नेमा कुनै विवाद छैन ।” दुई पार्टीबीच निर्वाचनअघि गत असोज १७ मा पार्टी एकता गर्ने घोषणासहित चुनावी तालमेल भएको थियो । रासस