• २०८१ बैशाख २२ शनिबार

प्रतिबन्धपछि रुस आर्थिक मन्दीतर्फ, कसरी तिर्छ ऋण ?

kharibot

काठमाडौँ । युक्रेनमा भएको आक्रमण र पश्चिमी देशहरूले लगाएको प्रतिबन्धपछि रुस आर्थिक रुपले अप्ठ्यारोमा पर्ने संकेत देखिएको छ । आर्थिक नाकाबन्दी बोहोरेको रुसले ऋण तिर्न नसक्ने अवस्थामा पुग्न लागेको विश्लेषण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा जारी भएका दुई ऋणपत्रमा लगानीकर्तालाई रुसले बुधबार ११ करोड ७० लाख डलर ब्याज तिर्नुपर्ने भएको छ । यी बन्डहरू डलरको लागि जारी गरिएको थियो ।

तर रुसको ६३० अर्ब डलरको विदेशी मुद्रा सञ्चिति यतिबेला रोकिएको छ । क्रेडिट मूल्याङ्कन एजेन्सीहरूले पनि रूस आफ्नो ऋण तिर्नमा 'डिफल्ट योग्य' भएको चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले रुसको ऋण तिर्न नसक्दाको असरप्रति चिन्तित रहेको तर यसले विश्वव्यापी वित्तीय संकट निम्त्याउनेमा भने विश्वास नगर्ने बताएको छ ।

किन रुस ऋण तिर्न असफल हुन सक्छ ?

रुस सरकार र गाजप्रोम, लुकआयल, एसबेरबैंक जस्ता सरकारी कम्पनीहरूमा विदेशी लगानीकर्ताहरूको १५० अर्ब डलर ऋण छ ।

यी अधिकांश ऋणहरूको दायित्व डलर वा यूरोमा छ । र रुसी व्यापारिक संस्थाहरूले प्रतिबन्धको कारण विदेशमा आफ्नो डलर वा यूरो खाताहरू प्रयोग गर्न सक्दैनन् । यदि रूसले समयमै ऋण तिर्न असफल भयो भने, यो १९८८ पछि पहिलो पटक डिफल्ट हुनेछ ।

यो रुस सन् १९१७ को क्रान्तिपछि पहिलो पटक विदेशी मुद्रामा लिएको ऋण तिर्नको लागि डिफल्टर हुन लागेको हो । त्यसपछि नयाँ बोल्सेभिक सरकारले अघिल्लो वर्षको ऋण तिर्न अस्वीकार गरेको थियो ।

रूसले रुबलमा भुक्तानी गरेमा के हुन्छ ?

रुसको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय लगानीकर्तालाई डलर वा युरोमा भुक्तानी गर्न रोकिएमा रुबलमा तिर्न चाहेको बताएको छ ।

तर बुधवार भुक्तान गर्नुपर्ने डलरमा जारी भएका दुईवटा ऋणपत्रमा अन्य मुद्रामा पैसा दिने व्यवस्था नभएको समस्या छ । तर रूसका अन्य ऋण सम्झौताहरूमा अन्य मुद्राहरूमा भुक्तानी गर्न सकिने प्रावधान छ । यदि त्यसो भएमा रूबल ऋणको भुक्तानीमा प्रयोग गर्न सकिन्छ ।

तर यसले लगानीकर्ताहरूले अपेक्षा गरेको डलर वा युरोको समान मूल्यमा रुबलमा भुक्तानी गरिन्छ कि हुँदैन भन्ने कुरामा निर्भर हुनेछ ।

यसले रूसलाई ऋण दिने बैंकहरू र देशहरूलाई के फरक पार्छ ?

रूसका लगानीकर्ताहरूले हालैका समयमा उनीहरूको लगानीको मूल्यमा गिरावट आएको देखेका छन् । रूसको वित्तीय स्थिति यति चाँडै बिग्रिएको छ कि लगानीकर्ताहरुले आफ्नो लगानी बेच्ने मौका समेत पाएका छैनन् । क्रेडिट रेटिङ एजेन्सी मुडीजका अनुसार २१ बिन्दुको रेटिङ स्केलले लगानीको हिसाबले देश कति सुरक्षित छ भनेर बताउँछ । रुस यो मापनमा तल्लोबाट दोस्रो स्थानमा आएको छ र यो अझै तल जान सक्छ ।

मुडीजका प्रमुख क्रेडिट अफिसर कोलिन एलिसले बीबीसीसँग भनेका छन्- 'हामीले सङ्केत गरिरहेका छौं कि रसियाले ऋण तिर्न नदिने अपेक्षा मात्र गर्दैनौं, तर हामीले लगानीकर्ताहरूलाई उनीहरूले कति गुमाउन सक्छ भनेर पनि बताइरहेका छौं । तपाईंले आफ्नो ३५ देखि ६५ प्रतिशतसम्म गुमाउन सक्नुहुन्छ । आधिकारिक रूपमा ऋण तिर्न नसक्ने नतिजाहरू मध्ये एक हुन सक्छ कि ऋणदाताहरूले दावी गर्न सुरु गर्न सक्छन् । यी क्रेडिट स्वैपहरू बीमा जस्तै काम गर्छन् । कुनै पनि कम्पनी वा देशको असफलताको कारणले घाटाको क्षतिपूर्ति गर्नका लागि ऋणदाताहरूले यी अग्रिम खरिद गर्छन् ।'

विश्वव्यापी अर्थतन्त्रको लागि के अर्थ राख्छ ?

अन्तिम पटक रूसले ऋण तिर्न असफल भएको थियो १९८८ मा हो । त्यस बेला विश्वव्यापी वित्तीय बजार यसबाट हल्लिएको थियो । क्यापिटल इकोनोमिक्सका प्रमुख अर्थशास्त्री विलियम ज्याक्सनका अनुसार यदि रुसले अहिले डिफल्ट गर्यो भने यो प्रतीकात्मक हुनेछ तर यसको वास्तविक प्रभाव भने कम हुनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले युद्धका कारण सन् २०२२ मा विश्व अर्थतन्त्रको प्रगतिको प्रक्षेपण ४ दशमलव ४ प्रतिशतमा झर्ने जनाएको छ । आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले पनि रुसको डिफल्टले विश्वव्यापी वित्तीय प्रणालीमा ठूलो असर नपर्ने विश्वास व्यक्त गरेकी छन् ।

यद्यपि, उनले रूसमाथि लगाइएको प्रतिबन्धले त्यहाँको अर्थतन्त्रमा ठूलो पतन हुन सक्छ र साथै विश्वभर खाद्यान्न र ऊर्जाको मूल्य बढ्न सक्ने चेतावनी भने दिएकी छन् ।

यद्यपि, यहाँ एउटा अज्ञात कारक रूसी कम्पनीहरूको ऋण डिफल्ट कति ठूलो हुन्छ र यसले रूसमा लगानी गर्नेहरूलाई कसरी असर गर्न सक्छ भन्ने रहेको छ ।

रसियाले अहिले सामना गरिरहेको आर्थिक कठिनाइ र चुनौतिहरू ऋण तिर्न नसके मात्रै बढ्नेछ । युक्रेनमाथि आक्रमण हुनुअघि रुस ऋण चुक्ता गर्ने हिसाबले सबैभन्दा भरपर्दो देशहरूमा परेको थियो । रूसको ऋण धेरै थिएन । तर अहिले स्थिति नाटकीय रूपमा परिवर्तन भएको छ ।

विदेशी कम्पनीहरूले ठूलो संख्यामा रसिया छोडिरहेका छन्, रुबल र अर्थव्यवस्था बचाउन रुसले पैसा बहिर्गमनमा कडा नियमहरू लगाएको छ । तर, प्रतिबन्धका कारण यो वर्ष रुसको अर्थतन्त्र ७ प्रतिशतले संकुचित हुन सक्छ ।
फेब्रुअरीमा युक्रेनले आक्रमण गर्नुअघि नै यहाँ मुद्रास्फीति दर ९.१५ प्रतिशतको उच्चमा थियो । यो वर्ष अझै बढ्न सक्ने आशंका छ ।

रुसको केन्द्रीय बैंकले यसअघि नै कर्जाको ब्याजदर ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ ।

-बिबिसीबाट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै