• २०८१ बैशाख २९ शनिबार

देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गर्दै

kharibot

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यूखिम्ती प्रसारण लाइन केन्द्रको शनिबार उद्घाटन गर्ने भएका छन् । रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको देशकै दोस्रो ठुलो न्यूखिम्ती प्रसारण लाइन केन्द्रको प्रधानमन्त्री देउवाले शनिबार सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा आइसकेको छ । सोही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेशन आगामी शनिबार उद्घाटन गर्ने कार्यक्रम छ ।

सो सबस्टेशनलाई प्राधिकरणले न्यूखिम्ती नाम दिएको छ । रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ । सोही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ । सबस्टेशनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । सो सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ ।

ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेशन भएको प्राधिकरणको भनाइ छ ।  प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेशन सञ्चालनमा छन् । न्यूखिम्ती सबस्टेशनका इलेक्ट्रिकल इञ्जीनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटनको कार्यक्रमको तयारी पूरा भएको छ । विसं २०७५ देखि निर्माण सुरु भएको सो सबस्टेशन गत असारमा निर्माण सम्पन्न भएको हो । सुरुआती लागत रु एक अर्ब ५० करोड बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रासलगायतका अन्य कारणले गर्दा थप केही ‘भेरियसन’ भएको छ ।

नयाँखिम्ती सबस्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ । यस्तै गज्र्याङ हाइड्रोपावर, खिम्ती–२ को बिजुलीसमेत सोही सबस्टेशनमा जोडिनेछ । हालको क्षमताअनुसार सो सबस्टशेनमा कूल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने फोरम्यान सिभिल विश्वासकुमार भण्डारीले जानकारी दिए । 

रामेछाप, दोलखालगायतका जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेशन प्राधिकरणको भाषामा हब सबस्टेशनका रूपमा विकास हुनेछ । गत साउनको अन्तिम साता सो सबस्टेशन चार्ज गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउनका लागि महत्वपूर्ण मानिएको सो सबस्टेशनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ । माथिल्लो तामाकोसीको झण्डै एक अर्ब युनिट बिजुली सोही सबस्टेशन भएर प्रवाह भइसकेको छ । सबस्टेशनमा चारवटा पावर ट्रान्सफर्मर जडान भएका छन् । जडान भएका ट्रान्सफर्मरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै