• २०८१ बैशाख २२ शनिबार

ऊर्जामन्त्री भुसालद्वारा लाहाचोक सवस्टेशन उद्घाटन

kharibot

कास्की ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा निर्माण गरिएको ‘लाहाचोक १३२-३३-११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गरेकी छन् ।

मन्त्री भुसालले आगामी दुई वर्षभित्रमा सबै नेपालीका घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याउने गरी सरकारले नीति, कार्यक्रम र योजना बनाएको उल्लेख गरिन । उनले नेपालका नदी, नालाबाट अधिकतम विद्युत् उत्पादनका लागि देशभित्रको लगानीसहित अन्तर्राष्ट्रिय लगानी र साझेदारी खोजिने बताइन् । 

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको र सो विद्युत् नेपालमा मात्र खपत हुन नसक्ने भएकाले आन्तरिक खपतमा वृद्धि गर्दै विद्युत् व्यापारका लागिसमेत कार्य अघि बढाइको मन्त्री भुसालको भनाइ थियो । उनले भनिन्, “गत वर्ष भारतसँग ७५ मेगावाट विद्युत् बिक्री गरेर व्यापारको सुरुआत गरेका छौँ । आगामी वर्ष ५०० देखि ७०० मेगावाट विद्युत् बिक्री गर्ने योजना छ ।” 

देशभित्र हाल कुलेखानीबाहेकको अर्को रिजर्भ (जलाशययुक्त) आयोजना नहुँदा हिउँद याममा भारतसँग बिजुली खरिद गर्नुपर्ने बाध्यता रहे पनि अर्को वर्षदेखि आत्मनिर्भर बन्ने अवस्था आउने मन्त्री भुसालले बताइन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ मोदी–लेखनाथ प्रसारण लाइन र यसअन्तर्गतका सवस्टेशनबाट ग्रामीण क्षेत्रसहित पोखराको आधा भूभागमा विद्युत् सेवामा सुधार आउने बताए । राष्ट्रिय प्रसारण लाइन नपुगेका कास्कीका विकट गाउँमा समेत विद्युत् विस्तार गर्न प्राधिकरण तत्पर रहेको उनको भनाइ थियो । 

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र भारतको एक्जिम बैंकको ऋण लगानीमा सो सवस्टेशन निर्माण गरिएको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए । कास्कीको मर्दीखोला, सेती नदी तथा पर्वतको मोदीखोला र यस आसपासका नदीबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माणाधीन ४२ किमी लामो नयाँ मोदी–लेखनाथ प्रसारण लाइनअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशन निर्माण गरिएको हो । 

सवस्टेशन नयाँ मोदी–लेखनाथ प्रसारण लाइनअन्तर्गत मोदी जलविद्युत् केन्द्र हुँदै राष्ट्रिय ग्रिडमा जडान भएको र निकट भविष्यमा लेखनाथ १३२ केभी सवस्टेसनमा जोडिने आयोजनाले जनाएको छ । यहाँ जम्मा हुने विद्युत् पोखरास्थित राष्ट्रिय प्रसारण लाइनमा जोड्न अहिले प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाले जनाएको छ । यसको लागत रु एक अर्ब पाँच करोड रहेको छ । भारतको हिताक्षी इनर्जी कम्पनीसँग सन् २०१८ जुन २१ मा निर्माण सम्झौता भएर सन् २०२१ डिसेम्बर २९ मा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै