• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई आज राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गरेकी छन् । 

राष्ट्रपति भण्डारीले चलचित्र विकास बोर्डले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको समारोहमा ती पुरस्कार र सम्मान वितरण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रका माध्यमबाट राष्ट्रको योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै यस क्षेत्रको विकास र समृद्धिका लागि बोर्डबाट भएका कामको प्रशंसा गरिन ।

फिल्म ‘छ माया छपक्कै’बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेता र ‘आमा’बाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् ।  ‘आमा’ ले नै उत्कृष्ट फिल्मको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जित्न सफल हुँदा यही फिल्मबाट दीपेन्द्र के. खनालले राष्ट्रपति भण्डारीको हातबाट उत्कृष्ट निर्देशकको अवार्ड उचाले । त्यस्तै, छायांकनतर्फ फिल्म ‘छ माया छप्पक्कै’बाट हरि हुमागाईँ, सम्पादनतर्फ फिल्म ‘कबड्डी कबड्डी कबड्डी’बाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेल र लेखनतर्फ फिल्म ‘जात्रै जात्रा’बाट प्रदीप भट्टराईले अवार्डमा बाजी मारे ।

कार्यक्रममा आदिवासी जनजातितर्फ फिल्म ‘पचे गोरे’ले अवार्ड जित्न सफल हुँदा जुरी अवार्ड फिल्म ‘जीवन काँडा कि फूल’का लागि अवस्था थापाले प्राप्त गरिन् । त्यस्तै, नव-प्रवेशी कलाकारको रुपमा फिल्म ‘रातो टीका निधारमा’बाट अंकित शर्माले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जित्न सफल भएका छन् । अवार्ड जित्न सफल हुने सबैलाई बोर्डले नगद २५ हजार समेत प्रदान गरेको थियो । 

पुरस्कार समारोहमा तीन लाख ५१ हजार एक सय ११ रुपैयाँ राशीसहित २०७६ सालको दीर्घ साधना सम्मान नेपाली फिल्मकी पहिलो अभिनेत्री भुवन थापा चन्द र २०७७ सालको सम्मान संगीतकार तथा गायक शम्भुजित बाँस्कोटालाई प्रदान गरियो ।

त्यस्तै, राजेश हमालसहित एक दर्जन बढी फिल्मकर्मीलाई बोर्डले राष्ट्रपति भण्डारीको हातबाट विशेष योगदान सम्मान पनि प्रदान गर्‍यो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै