• २०८१ बैशाख १५ शनिबार

सुपरस्टार भिनिसियस, मेगा अफर दिने तयारीमा रियल म्याड्रिड !

kharibot

काठमाडौँ । ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियरले रियल म्याड्रिडमा देखाएको प्रदर्शनका कारण विश्व फुटबलमा नयाँ सुपरस्टारको रुपमा हेरिएको छ । 

२१ बर्षिय भिनिसियसले रियल म्याड्रिडमा सुपरस्टारको दर्जा हासिल गरेका छन् । रियल म्याड्रिडले उनी १८ बर्षको हुदानै उनीमाथि लगानी गरेर पछिल्लो चार बर्षमा अब म्याड्रिडका प्रमुख खेलाडी बन्ने अवस्थामा आइपुगेका छन् । अर्को महिनादेखि शुरु हुने नयाँ सिजनअघि रियल म्याड्रिडले भिनिसियसलाई ठुलो अफरसहित सम्झौता नवीकरण गर्ने तयारी गरेको छ ।

रियल म्याड्रिडले फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेलाई भित्र्याउने प्रयास असफल भएपछि भिनिसियसलाई प्रमुख खेलाडीको हैसियत दिने तयारी गरेको मार्काले उल्लेख गरेको छ ।

भिनिसियसको रियल म्याड्रिडप्रतिको प्रतिबद्धता र माया यस अघि पनि पटक पटक देखिएको हो तर अझ च्याम्पियन्स लिगको फाइनलमा भिनिसियसकै निर्णायक गोलबाट उपाधि जितेपछि रियलम्याड्रिडको भिनिसियसमाथि विश्वास अझ बढेको छ ।

अहिले रियल म्याड्रिडका निर्देशकहरू भिनिसियससँग नयाँ अफरसहितको सम्झौता गर्न तयारी अवस्थामा रहेको बताइएको छ ।

नयाँ सम्झौतापछि भिनिसियस रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडी बन्ने भएका छन् ।

खासगरी रियल म्याड्रिडको प्रशिक्षकमा कार्लो एन्सेलोटी आएपछि भिनिसियसको खेलमा थप सुधार आएको देखिएको छ । एन्सेलोटीले भिनिसियस र करिम बेन्जमाको जोडीलाई रियलको आक्रामक जोडी बनाएर अगाडी बढाउने रणनिति सफल भएको देखिएको छ । यसबाट अहिले भिनिसियस ला लिगाकै सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् ।

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजपनि भिनिसियसको उत्कृष्ट संस्करण आउन बाँकी रहेको विश्वास गर्दछन र रियल म्याड्रिडको दिर्घकालिन योजनामा भिनिसियसलाई अगाडी बढाउने तयारीमा रहेको देखिएको छ ।

भिनिसियसको प्रदर्शनकै कारण आगामी वर्षहरूमा उनी बालोन डी'ओर र बाँकी व्यक्तिगत अवार्डका लागि प्रमुख दाबेदार समेत हुने देखिएको छ । 

अहिले भिनिसियसको रियल म्याड्रिडमा रहेको सम्झौता अनुसार उनी कम पारिश्रमिक पाउने सूचीमा रहेका छन् तर नयाँ सम्झौतामा रियल म्याड्रिडले एक अर्ब यूरोको रिलिज क्लजसहित उत्कृष्ट पारिश्रमिकको अफर दिने तयारी गरेको छ । भिनिसियसलाई फ्रेन्च क्लब पिएसजीले आकर्षक पारिश्रमिकसहित अफर गरेपनि उनीले रियल म्याड्रिड नछोड्ने बताइसकेका छन् ।

गत सिजनमा भिनिसियसले रियल म्याड्रिडका लागि च्याम्पियन्स लिग फाइनलको निर्णायक गोलसहित २२ गोल गरे भने १६ गोल असिष्ट गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै