काठमाडौँ । मन्त्रिपरिषद्का धेरै सदस्यहरूले राजीनामा दिए पनि बेलायती प्रधानमन्त्री बोरिस जोनसन पदमा ‘टाँसिरहने’ दाउमा छन् । राष्ट्रिय हितविपरित काम गरेको भन्दै पार्टीकै नेता र सांसदहरूले राजीनमा दिन बोरिसमाथि दबाब दिएका छन् । प्रिती पटेल र ग्रान्ट साप्ससहित प्रधानमन्त्रीका अधिकांश समर्थकले पनि उनलाई राजीनामा दिन सुझाएका छन् ।
त्यस्तै, प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाइ राजीनामा दिने लहर जारी छ ।
अहिलेसम्म वेल्स सेक्रेटरी साइमन हार्ट राजीनामा गर्ने सबैभन्दा पछिल्ला क्याबिनेट मन्त्री हुन् । त्यस्तै, महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले ‘लिडरसिप च्यालेन्ज’ सुरु गरेका छन् । तर, प्रधानमन्त्री जोनसनले मतदाताको ‘म्यान्डेट’ भन्दै तत्काल राजीनामा नदिने संकेत गरेका छन् । बरु, आफ्ना विरोधी र राजीनामा माग्नेलाई प्रधानमन्त्री र उनका केही सहयोगीले आलोचना गरेका छन् ।
राजीनामा मागेको झोंकमा बर्खास्तगीमा परेका माइकल गोभलाई प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट स्रोतले ‘सर्प’ भन्दै उनको कटु आलोचना गरेको छ । बेक्जिट अभियानका पूर्वसहयोगी गोभले बुधबार दिउँसो प्रधानमन्त्रीलाई राजीनमा दिन सुझाव दिएका थिए । उनको बर्खास्त ४० भन्दा बढी मन्त्री र सहयोगीको राजीनामापछि बुधबार साँझ आएको थियो ।
के हो पुरा प्रकरण ?
बेलायतको प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनको भविष्य पहिलेको भन्दा ठूलो जोखिममा छ । यौन दुव्र्यवहारको आरोप लागेका कन्जरभेटिभ सांसदबारे प्रधान्मन्त्रीको ‘ह्यान्डलिङ’लाई लिएर मंगलबार स्वास्थ्यमन्त्री र अर्थमन्त्रीले १० मिनेटको अन्तरमा राजीनामा दिएपछि महिनौंदेखिको राजनीतिक अस्थिरता बुधबार आएर अचानक बढेको थियो ।
बुधबार साँझसम्म कनिष्ठ मन्त्री र सांसदहरूको राजीनामा र अविश्वासको पत्रको ‘बाढी’ आएको थियो ।
बुधबार साँझ नै वरिष्ठ मन्त्रीहरूको एउटा समूह प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट पुगेर प्रधानमन्त्री जोनसनलाई राजीनामा दिन कर गरे । तर, पछिल्लो चुनावमा मतदाताहरूबाट पाएको ‘ठूलो जनादेश’ सम्मान गर्दै आफूले राजीनामा नदिने अडान लिए । बरु, राजीनमा दिन सुझाव दिने एक मन्त्रीलाई नै प्रधानमन्त्रीले बर्खास्त गरे ।
वेस्टमिनिस्टरमा त्यो मदिरा रात
एक साताअघि कन्जरभेटिभ सांसद क्रिस पिन्चरले कार्लटन प्राइभेट मेम्बर्स क्लबममा आयोजित मदिरा पार्टीपछि ह्विपको भूमिकाबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा क्रिस पिन्चरले आफूले ‘धेरै पिएको’ र यसले आफू र मानिसहरूलाई लज्जित तुल्याएको प्रधानमन्त्रीलाई बताएका छन् । तर, विषय धेरै गम्भीर थियो । एक निजी सदस्यको क्लबमा दुई जना पुरुषहरूलाई समातेको पिन्चरमाथि आरोप छ । उनले कम्तिमा एकजनालाई कम्मर र तिघ्राको बीचमा छोएको बताइएको छ ।
त्यसपछि दुई वटा घटना भएका थिए । पिन्चरले आफूले नराम्रो व्यवहार गरेको महसुस गरेकाले उनलाई संसदबाट बर्खास्त गर्नु नपर्ने र उनलाई कारबाहीको नगर्ने सरकारले सञ्चार माध्यममा ब्रिफिङ गर्यो ।
दुर्व्यवहार गर्ने सांसदलाई बचाउ गरेपछि कन्जरभेटिभ सांसद प्रधानमन्त्रीसँग क्रुद्ध बनेका थिए । पिन्चरविरुद्ध विगतमा पनि यौन दुर्व्यवहारको यस्तै आरोप लागेको थियो । यद्यपि, जोन्सनले उनलाई पार्टीको उपप्रमुख सचेतकको रूपमा राखिरहे ।
पछिल्लो मदिरा रातमा भएको यौन दुर्व्यवहारको खुलासा प्रसिद्ध पत्रिका सनकी राजनीतिक पत्रकार नोआ होफम्यानले बिहीबार सार्वजनिक गरेकी थिइन् । २४ वर्षीया होफम्यान सो खुलासा गर्नु चार दिनअघि मात्र राजनीतिक पत्रकारका रूपमा सनमा नियुक्त भएकी थिइन् ।