• २०८१ बैशाख १५ शनिबार

कुश्मा–बुटवल प्रसारण लाइनमा फलेवास नगरको अवरोध

kharibot

पर्वत । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्माणाधीन कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटवल वितरण लाइन निर्माणमा पर्वतको फलेवास नगरपालिकाले अवरोध गरेको छ ।

पर्वतको फलेवास नगरपालिकाले अहिले बनाउन थालिएको स्थानभन्दा दायाँ वा बायाँ परिवर्तन गर्न माग गर्दै प्रसारण आयोजनाको काम अवरोध गरेको हो । खासगरी नगरपालिकाको वडा नं ६ देवीस्थानको ठूलो क्षेत्रफल प्रसारण लाइनले प्रभावित पार्ने भएपछि क्षेत्र परिवर्तन गर्न माग गरिएको नगरप्रमुख गङ्गाधर तिवारीले बताए ।

फलेवासको ‘नगरको गौरव’ को आयोजनाका रूपमा निर्माण गरिरहेको फलेवास रङ्गशालाको बीचमा पर्नेगरी २२० केभीको लाइनका टावर निर्माण गर्न लागेपछि देवीस्थानवासी र फलेवास नगरपालिकाका जनप्रतिनिधिनै त्यसको विरोधमा उत्रिएका हुन् ।

आयोजनाका तीनवटा टावर निर्माण गर्दा नगरकै गौरवका रूपमा रहेको रङ्गशाला, निर्माणाधीन फलेवास बसपार्क र दुईवटा सामुदायिक विद्यालयमा समेत असर पर्ने भएकाले वैकल्पिक क्षेत्रबाट लाइन निर्माण गर्न फलेवासवासी नगरपालिकाले आयोजनासमक्ष माग गरेको हो ।

कालीगण्डकी करिडोर प्रसारण आयोजनाकोे कुश्मा–बुटवलखण्ड विस्तारको लाइन सार्न माग गर्दै केही महिनादेखिनै स्थानीयवासीले दबाब दिँदै आए पनि सुनुवाइ हुन सकेको छैन । नगरकै गौरवका रूपमा निर्माणाधीन फलेवास रङ्गशालाको माथिबाट लाइन विस्तार गर्दा रङ्गशाला नै विस्थापित हुने भन्दै देवीस्थानवासी र समग्र फलेवासका जनप्रतिनिधिसमेतले आयोजनाको विरोधमा उत्रिएका हुन् ।

आयोजना पक्षले एकतर्फीरूपमा पेलेर अघि बढ्न खोजेको नगरप्रमुख तिवारीले बताए । गत १६ असारमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकमा समेत कायम भएकै रुटबाट लाइन निर्माण गर्ने सहमति भएको भन्दै थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने स्थानीय भोला भुसालले बताए ।

पर्वतको खुर्कोटदेखि बुटवलसम्मका २३३ टावरमध्ये हालसम्म २३० टावर निर्माण भइसकेको आयोजनाले जनाएको छ । देवीस्थानवासीले एपी १० ए, एपी १० बी र एपी ११ गरी तीनवटा टावर निर्माणका क्रममा विरोध जनाएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।

आयोजना प्रमुख घोषले प्रसारण लाइनको टावर अन्यत्र सार्न नमिल्ने भन्दै नापजाँच भएर स्वीकृत भएकै ठाउँमा निर्माण गर्नुपर्ने बताए । उनले प्रसारण लाइनको काम करिब अन्तिम चरणमा रहेको बताए । आयोजनाको खुर्कोट–बुटवल प्रसारण लाइन २२० केभिए क्षमताको हो ।

सोही आयोजनाको पहिलो खण्ड दाना–खुर्कोट अघिल्लो वर्षको माघमै सम्पन्न भइसकेको छ । २२० केभिएको ८८ किलोमिटर लामो लाइनमार्फत बुटवल स्टेशनमा जोड्ने यो लाइनमार्फत १५ सय मेगावाटसम्म विद्युत् प्रसारण क्षमता रहेको आयोजनाले जनाएको छ ।

दानादेखि खुर्कोटसम्मको लाइनमा भने ५०० मेगावाट विद्युत् प्रसारण हुने भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले उक्त आयोजनाको काम स्वीकृत भएको क्षेत्रअनुसार नै गर्न सहयोग गर्नुपर्ने बताए ।

फलेवासका नगरप्रमुख गङ्गाधर तिवारीले देवीस्थान र फलेवासवासीले कुनै पनि हालतमा उक्त स्थानमा टावर निर्माण गर्न नदिने भएकाले वैकल्पिक बाटोबाट लाइन विस्तार गर्न अनुरोध गरेको बताए । “मैले फलेवासवासी जनताको चाहनाविपरीत काम हुन दिन्न”, तिवारीले भने, “नगरकै गौरवको आयोजनालाई असर पर्ने गरी लाइन विस्तार गर्न खोजे थप समस्या आउन सक्छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय