• २०८१ बैशाख १४ शुक्रबार

भारतको मध्यप्रदेशमा एकै सिरिन्जबाट ४० विद्यार्थीलाई कोरोना खोप लगाइयो

kharibot

काठमाडौँ । भारतको मध्यप्रदेशको सागरमा एकै सिरिन्जबाट ४० विद्यार्थीलाई कोरोना खोप लगाइएको विषय सार्बजनिक भएको छ । भारतीय मिडिया दैनिक भास्करका अनुसार स्वास्थ्य विभागको लापरवाहीको चरम नमुना सार्वजनिक भएको उल्लेख छ ।

घटनाको विवरण अनुसार स्वास्थ्य विभागका अधिकारीहरूले बुधबार एक नर्सिङ विद्यार्थीलाई स्थानीय जैन पब्लिक स्कुलमा खोप लगाउन एक्लै पठाए । उनले एउटै सिरिन्जले ४० जना बालबालिकालाई कोरोना खोप दिए । खोप लगाउन गएका अधिकारीले एकै सिरिन्जले सबै बालबालिकालाई खोप लगाउनु पर्ने बताएको भन्दै खोप लगाएपछि अभिभावकले हंगामा मच्चाएका थिए ।

यस विषयमा जिल्ला खोप अधिकृत डा. एसआर रोशनलाई निलम्बन गरिएको छ । कलेक्टर दीपक आर्यको प्रतिवेदनमा डिभिजनल कमिश्नर मुकेश शुक्लाले कारबाही गरेका हुन् ।

बिहीबार साँझ १९ बालबालिकाको रगतको नमूना रिपोर्ट आएको छ । सबैको रिपोर्ट सामान्य छ, कुनै पनि प्रकारको संक्रमण भेटिएको छैन । केही थप रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

जैन पब्लिक स्कुलमा खोप शिविरका लागि स्वास्थ्य विभागले कर्मचारीको सट्टा नर्सिङ विद्यार्थीको ड्युटी लगाएको थियो । नर्सिङ तेस्रो वर्षका विद्यार्थी जितेन्द्रले खोप लगाउन थाले । उनले एउटै सुईले एकपछि अर्को गरी ४० जना बालबालिकालाई खोप दिए ।

कक्षा ९ मा अध्ययनरत छोरीलाई खोप लगाउन दिनेश नामदेव आउँदा सबै बालबालिकालाई एउटै सुईले खोप लगाइँदै गरेको देखे । त्यसको विरोध गर्दा जितेन्द्रले आफूलाई एउटा सिरिन्ज मात्र दिइएको बताए । त्यसमा दिनेशले आपत्ति जनाएका थिए । उनीहरुसँगै अन्य अभिभावकहरु पनि जम्मा भएर हलाहल्ला गर्न थाले ।

बुधबार सागरका ५२ केन्द्रमा खोप शिविर सञ्चालन गरिएको थियो । प्रत्येक शिविरमा खोप लगाउने टोलीमा २ जना सदस्य हुन्छन्। कर्मचारी अभावका कारण ४० वटा केन्द्रमा खोप लगाउने जिम्मा निजी कलेजका नर्सिङ विद्यार्थीलाई दिइएको स्वास्थ्य विभागका अधिकारीहरुले बताएका छन् । विभागीय कर्मचारीले १२ केन्द्रमा मात्रै खोप लगाएका थिए ।

स्वास्थ्य विभागले जितेन्द्र अहिरवारविरुद्ध एफआईआर दर्ता भएको छ । एनएचएमका निर्देशक (भोपाल) डा सन्तोष शुक्लाले यस विषयमा अनुसन्धान गर्न तीन सदस्यीय राज्यस्तरीय टोली गठन गरिएको जानकारी दिए ।

जिल्ला खोप अधिकृत डा. रोशनका अनुसार टोलीलाई खोपको संख्या अनुसार सिरिन्ज दिइएको दाबी गरेका छन् । 

एउटै बिरामीको लागि एउटा सिरिन्ज प्रयोग गर्नुपर्छ । यदि एउटै सिरिन्ज एकभन्दा बढी व्यक्तिमा प्रयोग गरियो भने, संक्रामक रोग फैलने जोखिम बढ्छ । यदि कोही एचआईभी वा हेपाटाइटिस बी जस्ता रोगबाट संक्रमित भएमा र उसलाई लगाइएको सुई अर्को बिरामीमा प्रयोग गरियो भने उसलाई पनि संक्रमण हुन सक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै