• २०८१ बैशाख १५ शनिबार

उदयपुरमा बाँध फुटेपछि सप्तरीमा उच्च सतर्कता

kharibot

प्रतिनिधि तस्बीर

राजविराज ।  सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा बाँध फुटेपछि सप्तरीको पूर्वी तथा उत्तरी भेगका दुई नगरपालिकामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ  ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा बाँध भत्किएर कटान गर्न थालेपछि सप्तरीको सप्तकोसी नगरपालिका र कञ्चनरुप नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ ।

सप्तकोसी नगरपालिकाको ६ र ७ मा उक्त पानी पस्ने सम्भावना रहेको छ । कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिम  रहेको नगरप्रमुख ललन गुप्ताले जानकारी दिए ।

यस्तै सप्तकोसी नदीको छेउछाउका बस्तीतर्फ इलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन जानकारी गराउने कार्य भइरहेको सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए ।

यी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह तथा सुरक्षित स्थानमा बस्नका लागिसमेत आग्रह गरिएको उहाँले बताउनुभयो । बाढी नियन्त्रण नआउञ्जेलसम्मका लागि कोसी बाँधतर्फ नजान, गाई, भैँसी, बाख्रा नचराउन र माछा मार्न नजान सप्तरी प्रहरीले आम नागरिकलाई आग्रह गरेको छ ।

त्यस्तै सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढामा समेत बाढी आउन सक्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा एक टोलीले सप्तरीको सप्तकोसी नगरपालिका र कञ्चनरुप नगरपालिकामा बाढी आउन सक्ने ठाउँको निरीक्षण गरेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै