• २०८१ जेठ २ बुधबार

१९ वर्षीय अल्कारेजले जिते युएस ओपनको उपाधि

kharibot

काठमाडौँ । १९ वर्षीय कार्लोस अल्कारेजले क्यास्पर रुडलाई पराजित गर्दै युएस ओपन टेनिस च्याम्पियनसिपमा आफ्नो पहिलो ग्राण्डस्लाम उपाधि जितेका छन् ।

योसँगै उनी १९ वर्षको उमेरमा नम्बर १ बन्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । युएस ओपनमा ३२ वर्षपछि सबैभन्दा कान्छो च्याम्पियन बनेको छ । कार्लोसले यूएस ओपनको फाइनलमा नर्वेका क्यास्पर रुडलाई ६-४, २-६, ७-६(१), ६-३ को सोझो सेटमा पराजित गर्दै आफ्नो पहिलो ग्रान्डस्लाम उपाधि जितेर पहिलो पटक विश्व नम्बर एक खेलाडी बनेका हुन् ।

न्युयोर्कमा दुई हप्तासम्म चलेको प्रतियोगितामा आफ्नो एक्रोबेटिक शट र जोशले फ्यानहरूलाई मोहित पार्ने अल्कारेजले रुसका डेनिल मेदभेदेवलाई पछि पार्दै नम्बर एक स्थान बनाएका छन् । सन् १९७३ मा एटीपी वरीयताको सुरुवात भएदेखि अल्कारेज विश्वकै सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

स्पेनका युवा टेनिस स्टार कार्लोस अल्कारेज र नर्वेका कास्पर रुड युएस ओपनको फाइनलमा पुगेका थिए ।

अमेरिकाका पिट साम्प्रासपछि अल्कारेज ओपन एरामा उपाधि जित्ने १९ वर्षीय खेलाडी दोस्रो कान्छो खेलाडी बनेका छन् । पिट साम्प्रासले १९ वर्षको उमेरमा सन् १९९० मा युएस ओपनको उपाधि जितेका थिए । योसँगै अल्कारेज सन् १९७३ मा सुरु भएको एटीपी वरीयतामा पहिलो कान्छा नम्बर एक खेलाडी बन्ने छन् । यो रेकर्ड हाल अस्ट्रेलियाका लुटन हेविटको नाममा रहेको थियो । 

अल्कारेजले १९ वर्षको उमेरमा ग्रान्डस्लाम जितेका छन् र राफेल नाडालपछि ग्रान्डस्लाम जित्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। राफेल नाडालले सन् २००५ मा यस्तो गरेका थिए ।

हालको नम्बर एक रुसी ड्यानिल मेदभेदेव नयाँ एटीपी वरियतामा शीर्ष खेलाडी छैनन् । गत वर्ष युएस ओपनको उपाधि जितेपछि उनी नम्बर एक बनेका थिए । यसपटक युएस ओपनमा नयाँ च्याम्पियन बनेसँगै विश्व टेनिसले नयाँ शीर्ष खेलाडी पाएको छ । अहिले १९ वर्षका कार्लोस अल्कारेज विश्वकै नम्बर एक टेनिस खेलाडी बनेका छन्  ।

युएस ओपनको फाइनल खेल सकिएपछि टेनिस लिजेण्ड राफेल नाडालले दुवै खेलाडीलाई शुभकामना दिएका छन् । उनले लेखेका छन्, 'पहिलो ग्रान्डस्लाम जितेर विश्वको नम्बर एक टेनिस खेलाडी बनेकोमा कार्लोस अल्कारेजलाई बधाई छ । यो तपाइँको पहिलो सिजनको राम्रो नतिजा हो । म विश्वस्त छु कि अगाडि यस्ता धेरै सिजन हुनेछन् ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै