• २०८१ बैशाख १४ शुक्रबार

कतार विश्वकपमा नयाँ: महिला रेफ्रीदेखि अर्ध स्वचालित अफसाइड प्रविधि

kharibot

काठमाडौँ । फिफा विश्वकप फुटबल कतारमा आइतबारदेखि शुरु भएको छ ।  यो प्रतियोगिता कुनै अरब राष्ट्रमा आयोजना हुन लागेको यो पहिलो पटक हो । यस पटक फिफा विश्वकप फुटबलको इतिहासमा यसअघि नभएका धेरै कुरा हुदै छन् । 

यस रिपोर्टमा कतार विश्वकपमा यस अघि नभएका चार विषयमा जानकारी दिदै छौं ।

अर्ध स्वचालित अफसाइड प्रविधि

यस विश्वकप फुटबल प्रतियोगितामा पहिलो पटक विश्वकपमा अर्ध-स्वचालित अफसाइड प्रविधिको प्रयोग हुने भएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अर्धस्वचालित अफसाइड प्रविधि विश्वभर लागू गरिएको भार (VAR) प्रणालीको विकसित स्वरूप भएको बताएका छन् ।

अर्ध स्वचालित अफसाइड टेक्नोलोजी र जडान गरिएको बल टेक्नोलोजीको कार्यप्रवाह फिफा अरब कप २०२१ र फिफा क्लब वर्ल्ड कप २०२१ लगायत धेरै कार्यक्रमहरू र प्रत्यक्ष फिफा टूर्नामेन्टहरूमा सफलतापूर्वक परीक्षण गरिएको छ । यी खेलहरूको क्रममा, नयाँ प्रविधिले कम समयमा बढी सही निर्णय गर्न मद्दत गरेको पाइएको थियो ।

पाँच खेलाडी सब्सटिच्युट गर्न पाइने 

कोरोना महामारीपछि खेलिएका खेलमा प्रत्येक टोलीले तीनको सट्टा पाँच खेलाडी परिवर्तन गर्न पाएका थिए । यो नियम फिफा विश्वकपमा पनि लागु हुनेछ । यो निर्णय कतार विश्वकपमा लागु हुने फिफाले गत जुनमा नै घोषणा गरेको थियो । यो नियम क्लब फुटबलमा धेरै प्रयोग भएको थियो र सबै टोलीका लागि उपयोगी साबित भयो । विश्वकपको समयमा पनि यो नियमले टोलीका प्रशिक्षकलाई नयाँ रणनीति बनाउन मद्दत गर्नेछ ।

प्रत्येक टोलीमा २६ खेलाडी

अहिलेसम्म प्रत्येक टोलीमा जम्मा २३ खेलाडी हुने गर्दथे तर कोरोना महामारीपछि यो संख्या २६ पुगेको छ । यस विश्वकपमा पनि प्रत्येक टोलीमा २६ खेलाडी हुनेछन् । युरोपियन च्याम्पियनसिप र कोपा अमेरिका कपले पनि प्रति टोली २६ खेलाडीलाई अनुमति दिएको थियो ।

पहिलो पटक पुरुष फुटबलको विश्वकपमा महिला रेफ्री

फिफा पुरुष विश्वकपको इतिहासमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् । यस प्रतियोगिताका लागि ३६ रेफ्री छनोट गरिएको छ । तीमध्ये तीनजना महिला रेफ्री रहेका छन् ।

विश्वकप खेलाउने महिला रेफ्रीमा जापानकी ३६ बर्षिय यामाशिता योशिमी, रावन्डाकी ३४ बर्षिय सलिमा मुकानसांगा र फ्रान्सकी ३९ बर्षिय स्टेफनी फ्रापार्ट रहेकी छन् । 

यसबाहेक, ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरिन नेस्बिट पनि कतार विश्वकप फुटबलमा फिफाले तोकेका ६९ सहायक रेफ्री मध्ये रहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै