• २०८१ जेठ ३ बिहीबार

“विपद् जोखिम न्यूनीकरणका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिन्छ”

kharibot

काठमाडौँ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा भए गरेका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

गृह मन्त्रालयले आज विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएका स्थानीय तह र सङ्घसंस्थासँगको परामर्शका क्रममा गृहसचिव सिंहले भने, “विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपालमा जनचेतना फैलाउने काम पर्याप्त भए पनि विपद्मैत्री विकास निर्माणसम्बन्धी नीति नियम बन्न सकेका छैन । 

सचिव सिंहले सरोकारवाला निकाय गम्भीर बन्न नसकेका कारण विकास निर्माण सम्बन्धमा भएका नीति नियम तथा कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।

उनले पछिल्ला दिनमा विकास निर्माणका नाममा भइरहेको सडक विस्तारको दीर्घकालीन असरबारे पूर्वानुमान गरी आवश्यक नीतिगत व्यवस्था गर्न नसक्दा भविष्यमा पनि त्यसबाट पुग्नसक्ने ठूलो क्षति भोग्न बाध्य हुनुपर्ने उल्लेख गरे । उनले सडक विस्तार, ढुङ्गा, गिट्टी बालुवाको व्यवसायमा रहेको विद्यमान मापदण्ड कार्यान्वयनमा तीन वटै तहका सरकार असफल रहेको स्वीकार गरे । कार्यक्रममा एशियाली प्रकोप पूर्वतयारी केन्द्र नेपालका प्रतिनिधि मानबहादुर थापाले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि गरेका प्रयास अत्यन्तै प्रभावकारी भएको बताए । उनले नेपालका स्थानीय तहले विपद् जोखिम न्यूनीकरणका लागि गरेका प्रयास अन्य देशमा पनि अनुकरण गर्ने गरेको बताए ।

उनले विसं २०५३ देखि सुरु भएको समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएपछि अहिले विश्वका अन्य देशले पनि सोही अवधारणाअनुसार विपद् जोखिम न्यूनीकरणमा लागेको बताए । गृह मन्त्रालयका विपद् व्यवस्थापन प्रमुख एवं सहसचिव प्रदीप कोइरालाले विपद् व्यवस्थापनमा सरकार एक्लैले केही गर्न नसक्ने भएकाले सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए । उनले विपद् व्यवस्थापनमा स्थानीय तहमा भएका प्रयास प्रभावकारी देखिएको उल्लेख गरे ।

गृह मन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा गैरसरकारी क्षेत्रबाट भएका प्रयास र आविष्कारलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ मन्त्रालयले सरोकारवाला छलफल गरेको बताए । उनले विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण, पूर्वतयारी, रोकथाम तथा नियन्त्रणका लागि सरकारले गर्ने क्रियाकलापमा गैरसरकारी संस्थाबाट भएका विपद् जोखिम न्यूनीकरणसम्बन्धी आविष्कारले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे  । कार्यक्रममा विभिन्न गैरसरकारी संस्थाले विपद् जोखिम न्यूनीकरणका लागि गरेको असल अभ्यासबारे प्रस्तुतीकरण गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै