• २०८१ बैशाख २२ शनिबार

मौलिकतालाई जोगाउन महानगरले ध्यान दिनुपर्छ- मेटमणि चौधरी

kharibot

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले विकासको काम गर्दा आधुनिकतालाई ध्यानमा राखी मौलिकतालाई जोगाउनु काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

कामपाको २८औँ स्थापना दिवस मनाउने क्रममा आज मन्त्री चौधरीले काठमाडौँ मौलिकता र ऐतिहासिक धर्म–संस्कृतिले धनी रहेकाले त्यसको संरक्षण गर्नु महानगरको पहिलो कर्तव्य रहनेमा जोड दिए । उपत्यकामा लामो समयदेखि चुनौती बनेको फोहर र ढल व्यवस्थापन समस्याको दीर्घ समाधान गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसका लागि मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कामपाका प्रमुख बालेन्द्र साहले सङ्घ सरकार र अन्य स्थानीय तहको सहकार्यमा नागरिकले चाहना गरेअनुसारको काठमाडौँ बनाउनेमा आफ्नो निरन्तर प्रयास रहने धारणा राखे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको समग्र विकासका लागि काठमाडौँ र ललितपुर महानगर एकापसमा सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताए । 

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य सोविता गौतमले नागरिकको सफा र सुन्दर काठमाडौँमा बस्ने सपना साकार पार्नका लागि सङ्घ र स्थानीय तहको सहकार्य आवश्यक रहेको औँल्याए । कामपाले आफ्नो २८औँ वार्षिकोत्सव समारोह सप्ताहव्यापी कार्यक्रम गरी मनाएको हो ।

सोअन्तर्गत एकैदिन ८९ वटा सामुदायिक विद्यालयको सरसफाइ, नदी, विश्व सम्पदा क्षेत्र, खुला स्थानको सरसफाइ, चित्रकला- निबन्ध र वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गरिएको थियो । विसं २०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई  महानगर घोषण गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसका रूपमा मनाउने गरिएको हो ।  

विसं  १९७६ पुस २ गते स्थापना गरिएको  सफाइ अड्डाको  संस्थागत संरचना विकास हुँदै २०५२ सङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै