• २०८१ बैशाख १५ शनिबार

देउवाको तनाव बढाउने ओली र प्रचण्डका तस्बीर !

kharibot

काठमाडौँ । बुधबार र विहिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सार्बजनिक भएका तस्बीरले राजनीतिक वृतमा विशेष चासो व्यक्त भएको छ ।

बालकोट नामको फेसबुक पेजमा विहिबार सार्बजनिक तस्बीरमा ओली र प्रचण्डको कानेखुशीदेखि दुवैको सकारात्मक बडी ल्याङग्वेजलाई अबको सरकार निर्माणसँग जोडेर विश्लेषण शुरु गरिएको छ । विहिबार संघीय संसदको शपथपछि भएको चियापानमा ओली र प्रचण्ड एउटै सोफामा बसेका थिए । त्यस अवसरमा दुवैको हसिलो अनुहार र कानेखुशीलाई धेरैले चासो व्यक्त गरेका छन् ।

दुवैबीच बुधबार पनि राष्ट्रपति कार्यालयमा भेट भएको थियो । राष्ट्रपति कार्यालयमा जेष्ठ सांसद पशुपति शमशेर जबरालाई शपथ खुवाउने कार्यक्रममा ओली र प्रचण्ड सँगै बसेका थिए । लगातार दुई दिन भएको भेटमा ओली र प्रचण्डले गरेको भलाकुसारीले राजनीतिक खिचडी पाकिरहेको विश्लेषण गरिएको छ ।

यस भेटलाई हालै माओवादी केन्द्रका नेता वर्षामान पुनको चीन भ्रमण, चीनले एमाले र माओवादी केन्द्रलाई एक बनाउन लगातार गरिरहेको प्रयासलाई जोडेर हेरिएको छ । यी तस्बीरहरुको पृष्ठभूमि प्रचण्डको प्रधानमन्त्री बन्ने महत्वकांक्षा र ओलीको वर्तमान गठबन्धन भत्काउने रणनीति अन्तर्गत सार्बजनिक रुपमा देखिएको दृश्यको रुपमा राजनीतिक विश्लेषण गरिएको छ ।

के सच्चै एमाले माओवादी गठबन्धन बन्छ ?

राजनीतिमा सबै कुरा स्थायी हुदैनन् भनेजस्तै घटनाक्रमले एमाले र माओवादी केन्द्रलाई विस्तारै नजिक पुर्याउदै लगेको देखिएको छ । यसको प्रमुख कारण निर्वाचनमा  माओवादी केन्द्रले सोचे जस्तो सफलता नपाउनु नै रहेको छ । एमालेले अपेक्षाकृत भन्दा राम्रो सिट जितेपनि माओवादी केन्द्रले कांग्रेसको साहारामा सोचे जस्तो सफलता नपाएको, नयाँ दलहरु उडाउदै गर्दा आउदा दिनमा सत्ताको नेतृत्व गर्न नपाए झन् कमजोर हुने डर प्रचण्डमा देखिएको छ ।

कांग्रेस भित्र गठबन्धनमा रहेका दलहरुलाई मत दिन हुन्न भन्ने मत बढ्दै गएको र यस निर्वाचनमा पनि कांग्रेसको सस्थापन इतरले धेरै ठाउमा माओवादी लगायतका दललाई निर्णायक मत नदिएको स्पष्ट देखिएको छ । यस विश्लेषणको आधारमा माओवादी केन्द्रका प्रभावशाली नेताहरु कांग्रेस भन्दा एमालेसँग नजिक भएमा भविष्यमा गठबन्धन गरेर चुनावमा जादा पनि धेरै सिट जित्न सकिने र एमाले र माओवादीबीच भोट ट्रान्सफरमा पनि समस्या नदेखिएको २०७४ को निर्वाचनले पनि देखाएकोले अहिले एमालेसँगको निकटता बढिरहेको देखिन्छ ।

तर एमाले र माओवादी मात्रै मिलेर सरकार बन्ने अवस्था छैन । दुवैको सिट जोड्दा ११० मात्र हुन्छ । यसका लागि राप्रपा र एकीकृत समाजवादीको जोड्दा १३४ हुन आउछ, जुन अझै पनि बहुमतका लागि पर्याप्त देखिदैन । यस अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा लगायतका दलहरु निर्णायक हुनसक्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान तयार रहेकै देखिएको छ । अध्यक्ष रवि लामिछानेले सरकार जाने नै भनिरहेका छन् । उनले एजेन्डामा सहमति गरेर सरकारमा जाने बताएका छन् र एमाले, माओवादीसँग निरन्तर वार्तामा पनि छन् । यस अवस्थामा प्रचण्डको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देखिन्छ ।

अहिले सार्बजनिक भएका तस्बीरको विश्लेषण गर्दा त उनीहरु बीच केहि नभए जस्तो देखिएको छ तर  विगतमा देखिएका असमझदारी र आरोप प्रत्यारोपको व्यवस्थापन ओली र प्रचण्डले कसरी गर्छन् भन्ने प्रश्न त यथावत नै छ । 

प्रचण्डलाई गठबन्धन छोड्न कति मुश्किल छ ?

समग्रमा प्रचण्ड सबैभन्दा बढी यूटर्न मार्न सक्ने नेता हुन् । अहिले उनी जसरी पनि प्रधानमन्त्री बन्ने रणनीतिमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि गठबन्धनबाट आफु प्रधानमन्त्री बन्न चाहेको कुरा बताइसकेका छन् । अब प्रमुख कुरा गठबन्धनमा पदको भागबण्डा कसरी हुन्छ भन्ने रहेको छ  ।  कांग्रेसको देउवा पक्षकै एक समुह प्रचण्डलाई शुरुमा प्रधानमन्त्री दिएर भएपनि गठबन्धन बचाउनु पर्छ भन्नेमा रहेको छ ।

एमाले र माओवादी मिलेमा फेरी कम्युनिष्टहरुको ध्रुविकरण बढ्ने र कांग्रेस झन् कमजोर हुने सम्भावना रहेकाले पनि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेर भएपनि गठबन्धन भत्किन नदिने रणनीति बनाउन सक्ने देखिन्छ । त्यसैले अहिले प्रचण्डले गठबन्धन छोड्ने भन्दा पनि कांग्रेसले प्रचण्डलाई गठबन्धनमा जसरी पनि राख्नु पर्ने अवस्था सिर्जना हुदै गएको देखिन्छ ।

प्रचण्ड प्रधानमन्त्रीको ग्यारेन्टी भएमा एमालेसँग सहकार्य गर्दैनन् भनेर भन्ने अवस्था अहिले नरहेको एक-दुई दिनका घटनाक्रमपछि विश्लेषण गर्न सकिन्छ ।

यद्यपी प्रचण्डले विहिबार सांसदको शपथ पछि पनि सरकार गठबन्धनकै बन्ने र प्रधानमन्त्रीको टुंगो सहमतिमै लगाउने बताएका थिए । तर प्रचण्डले यसो भने पनि बुधबार र विहिबार सार्बजनिक भएका उनका ओलीसँगका तस्बीरहरु संयोग मात्र नहुन सक्ने विश्लेषण अहिले गर्न सकिन्छ । यी तस्बीरहरुले प्रधानमन्त्री देउवाको तनाव बढाएको हुनुपर्छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै