• २०८१ जेठ ४ शुक्रबार

सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार

kharibot

चितवन । चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ ।

अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो ।

इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त क्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको उपचार सुरु गरिएको छ ।

अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध रहेको छ । यी सबै सेवा नेपाल सरकारले तोकेको शुल्कमा गरिँदै आएको उनले बताए ।

अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको क्यान्सर इन्स्टिच्युट स्थापना गरिएको छ । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् ।  दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ ।

डा ठाकुरका अनुसार टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस (स्टेरियो टेक्टिक रेडियो सर्जरी) पनि ल्याइएको छ ।

यसबाट उपचार गर्दा शल्यक्रिया नगरी टाउकोभित्र रहेको ट्युमरलाई भित्रै सेकाएर नष्ट गर्न सकिन्छ । यस्तै एसबिआरटी (स्टेरियो टेक्टिक बडि रेडिएसन थेरापी) सेवा पनि सुरु गरिएको छ ।

यसले शल्यक्रियाबिना शरीरका अङ्गमा रहेको क्यान्सरका ट्युमरलाई नष्ट गर्दछ । उनका अनुसार फोक्सो, प्रोस्टेट, आन्द्राको क्यान्सरमा यो उपयोगी हुन्छ ।

यसैगरी शल्यक्रिया गर्नै नमिल्ने गरी फैलिएको क्यान्सरको उपचारमा पनि यो प्रविधि सहज हुने उनको भनाइ छ ।

ब्राकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइएको छ ।

पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी प्रयोग हुने गर्दछ । अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक छन् ।  रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक उपकरण ल्याइसकिएको उनले जानकारी दिए । उनले भने, “हामीले भित्र्याएका उपकरण क्यान्सर उपचारमा पछिल्लो समय विकास भएका आधुनिक उपकरण हुन्, जुन नेपालमा अझै भित्रिएका छैनन् ।” कतिपय भारतमा समेत नभएको उपकरण भित्र्याइएको देवकोटाको भनाइ छ ।

सरकारी क्यान्सर अस्पतालमा रेडिएसनसहितको उपचारका लागि महिनौँ पालो कुर्नुपर्ने भए पनि सरकारी मूल्यमै आफूहरुले आजको भोलि सेवा दिन सुरु गरेको देवकोटाले बताए । क्यान्सर उपचारका लागि सहयोगी हुने अन्य उपचार सेवा र उपकरण मेडिकल कलेजमा भएकाले उपचारमा सहज भएको देवकोटा बताउछन् ।

अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, ए ग्रेडको प्रयोगशाला रहेका छन् ।

यो मेडिकल कलेज देशभरका धेरै बिरामी उपचार गर्नेमध्येमा पर्दछ । जिल्लामा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतदेखि बिरामी आउने गर्दछन् ।

यहाँ उच्च चापका कारण पालो कुर्नुपर्ने र बाहिर जानुपर्ने बिरामीलाई यहीँ सेवा दिन सकिने देवकोटाको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै