• २०८१ जेठ ६ आइतबार

माथिल्लो कर्णालीमा हिमपात

kharibot

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा भारी हिमपात भएसँगै यहाँका किसानलाई राहत भएको छ ।

यो वर्षको हिउँदमा जुम्लामा पहिलो पटक आज बिहान ५ बजेबाट हिमपात भएको चन्दननाथ नगरपालिकाका सुनिता पाण्डेले बताए । 

दक्षिणी र पश्चिमी वायुको प्रभावका कारण कर्णालीलगायत पश्चिम नेपालभर वर्षात भएको छ । हिउँ पर्न थालेपछिको जुम्लाको जनजीवन कष्टकर बनेको छ ।

जिल्लाको उच्च ठाउँमा दुई देखि तीन फिटसम्म हिउँ जमेको छ । कर्णालीको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । यस्तै, जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटका उच्च भेगमासमेत हिउँपात भएको छ । हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ । यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन् । 

जनजीवन कष्टकर भएपनि हिमपातका कारण हिउँदे बालीलाई भने राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीको भनाइ छ ।

स्याउका नयाँ बिरुवा लगाउने समयमा हिउँ परेकोले किसानलाई फाइदा भएको कार्यालयको भनाइ छ । हिउँ पोखरी बनाएका किसानलाई हिउँ सङ्कलन गर्न र नयाँ बाली लगाउन उपयुक्त हुने सिञ्जा गाउँपालिका कृषि शाखाका प्रविधिक दलवीर वडले बताए  । हिमपातपछि जुम्लालगायत कर्णालीको हवाई  विमानस्थल बन्द भएको छ ।

धावनमार्गमै हिउँ जमेपछि आज बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुम्लाले जनाएको छ । जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीका यातायातकासाधन चल्न सकेका छैनन् । हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर र  विद्युत् सेवा समय समयमा अवरोध भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै