काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन् । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका थिए। पौडेलले ३३ हजार ८०२ मतभार ल्याएका थिए ।
उनका प्रतिद्वन्दी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार रातिदेखि सकिएको थियो ।