• २०८१ बैशाख ११ मंगलबार

सूर्य नेपाल सेन्ट्रल ओपन सुरू

kharibot

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र तामाङ ७-अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्। 

भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै साबिक विजेता  शुक्र शीर्षस्थानना रहन सफल भएका हुन्। ६-अन्डर ६६ सहित भुवन दोस्रो स्थानमा रहेका छन्। जयराम श्रेष्ठ तेस्रो स्थानमा रहे। उनले ४-अन्डर ६८ मा पहिलो दिनको खेल सकाए। उनी लिडर शुक्र भन्दा ३ स्ट्रोकले पछि रहेका छन्। 

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रा लिको प्रायोजनमा जारी प्रतियोगितामा १-अन्डर ७१ सहित निरज तामाङ चौथो स्थानमा रहे। प्रोफेसनलद्वय सञ्जय लामा र  बलभद्र राई तथा एमेच्योर खेलाडी सद्भाव आचार्य र सुबाश तामाङले संयुक्तरुपमा पाँचौ स्थान बाँडेका छन्। उनीहरूले पहिलो दिन समान इभन-पार ७२ खेले। शिवराम पौडेल र एमेच्योर खेलाडी क्याप्टेन नोर्बु शेर्पा १-ओभर ७३ सहित संयुक्तरुपमा नवौ स्थानमा रहेका छन्। 

तीन प्रोफेसनल खेलाडीहरू रमेश अधिकारी, रामे मगर र दिनेश प्रजापति तथा एमेच्योरद्वय निश्चयजङ्ग रायमाझी र युवराज भुजेल २-ओभर ७४ को स्कोरमा संयुक्त ११औं स्थानमा रहे। 

भारतीय गल्फ टुर समेत खेलिरहेका शुक्रले पहिलो दिन ७-अन्डरको उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। ४-पारको पहिलो होलमा इगल प्रहार गर्दै खेलको सुरुवात गरे। तेस्रो होलमा बर्डीको सफलता प्राप्त गरे भने छैटौं होलमा बोगी खेपे। यसपछि ब्याक नाइनमा उनले ११औं, १२औं, १५औं १६औं र १८औं होलमा बर्डी प्रहार गर्दै लोभलाग्दो प्रदर्शन गरे। ब्याक नाइन ५-अन्डर ३१ मा सकाए। 

भुवनले फ्रन्ट नाइनमा ६-अन्डर ३० खेल्दै सानदार सुरुवात गरे। पहिलो, दोस्रो, तेस्रो र पाँचौ होलमा एक-एक सट बचाए भने ५-पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे। यसपछि ब्याक नाइनमा उनले सबै होलमा पार बचाए।

जयरामले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। दोस्रो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा चौथो होलमा एक सट खेर फाले। यसपछि १४औं र १५औं होलको बर्डीले ब्याक नाइन पनि २-अन्डर ३४ मा नै पुरा गरे। 

चौथो स्थानमा रहेका निरजले नवौं होलमा एक सट बचाउदै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि ११औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १२औ र १५ औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे। 

 एमेच्योरतर्फ राष्ट्रिय टिमका सदस्य सद्भाव र नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश  इभन-पार ७२ को सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। क्याप्टेन नोर्बु १-ओभर ७३ को नतिजामा तेस्रो स्थानमा छन्‌ । 

३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउनेछन्। 

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेकाछन्। प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमश ५५ हजार र ४७ हजार हात पार्नेछन्। साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै